तीन महिलामा पाठेघरको मुखको क्यान्सर

can_cerv

जुम्ला, ४ भदौ –  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा सञ्चालित पाठेघर सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमा तीन महिलामा पाठेघरको मुखको क्यान्सर भएको भेटिएको छ ।

साउन २० गतेबाट सञ्चालित शिविरमा ७८० महिलाको पाठेघरको मुखको स्क्रिनिङ गरिएको थियो । जसमा तीन महिलामा पाठेघरको मुखको क्यान्सर भएको पाइएको प्रतिष्ठान जुम्लाका मेडिकल डाइरेक्टर डा. निरेश थापामगरले जानकारी दिए।

डा. थापामगरले भने, “क्यान्सर भएको पक्का भएपछि तीनै महिलाको उपचारका लागि चितवन भरतपुर अस्पतालमा सिफरिस गरिएको छ । तर गरिबीका कारण एकजनाले प्रतिष्ठानमै उपचार गर्न अनुरोध गरेको र अर्कोले जान मानेको अवस्था छैन ।” एकसय ४० जना महिलाले समयमै उपचार नगरे क्यान्सर रोग विकसित भएर जाने उनको भनाइ छ ।

कर्णालीका यति धेरै महिलामा क्यान्सरको सम्भावित खतरा देखिनुमा सानो उमेरमै विवाह गर्नु, बढी बच्चा जन्माउनु, धुवाँयुक्त घरमा बस्नु, चुरोट खानु, पोषणयुक्त खाना नखानु र यौनरोग मुख्य कारण रहेको उनको दाबी छ । क्यान्सर हुनुको पूर्व अवस्था पत्ता लगाइ सम्भावित खतराबाट मुक्त गराउन शिविर सञ्चालन गरे अनुसार अहिले महिलाको पाठेघरको मुखमा केमिकल प्रयोगगरी रस परीक्षण गर्ने काम भइरहेको उनले बताए ।

मेडिकल डाइरेक्टर डा. थापामगरका अनुसार प्रतिष्ठान जुम्लाको आयोजनामा सञ्चालित शिविरमा इन्टरपिट क्यान्सर डाइगोनोस्टिक सेन्टर काठमाडौँले प्राविधिक सहयोग गरेको छ ।

खासगरी, यो शिविरका लागि डाइगोनोस्टिक सेन्टर काठमाडौका डा ग्रिसम श्रेष्ठको ठूलो सहयोग रहेको उनले जनाए । यो सेवा डोल्पा, कालिकोट, मुगु, जुम्ला र जाजरकोटका पाठेघरको समस्या भएका रोगी महिलाले उपचारमा लगिरहेका छन् ।
शिविर यही भदौ १२ गतेसम्म सञ्चालन हुने प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *