कन्सर्टबाट सङ्कलित रकम तिलगंगालाई

 

काठमाडौँ, १ भदौ –  ‘लेट्स मेक डिफ्रेन्स, लेट्स मेक म्युजिक’ भन्ने नाराका साथ जलविन्दु लागेका बालबालिकालाई सहयोग गर्ने उद्देश्यका साथ रस्टी नेल्स ब्यान्डले रु बाइस लाख सङकलन गरेको छ ।

रस्टी नेल्स ब्यान्डले आयोजना गरेको च्यारिटी कन्सर्टले २०७२ सालमा पाँचवटा कन्सर्ट गरी उठेको सो रकम तिलगङ्गा आँखा अस्पताललाई सोमबार हस्तान्तरण गरियो । एकवर्षे साङ्गीतिक यात्रामा जलविन्दुसम्बन्धी वृत्तचित्र निर्माण गरिएको छ । वृत्तचित्र प्रदर्शनबाट उठेको रकम पनि बालबालिकाको उपचारमा नै खर्च गरिने अस्पतालले जनाएको छ ।

जलविन्दुसम्बन्धी जनचेतना जगाउने उद्देश्यसहित च्यारिटी कन्सर्टको यो एकवर्षे साङ्गीतिक यात्रा गरिएको थियो जसमा १९७४ एडी व्यान्ड, निमा रुम्बा र तिलगङ्गा आँखा प्रतिष्ठानका जलविन्दु विभागका प्रमुख एवम् प्राध्यापक डा. सुमन थापा (जलविन्दु विशेषज्ञ) लगायतको प्रस्तुति रहेको थियो ।

वृत्तचित्रको पहिलो प्रदर्शनी यही आउँदो भदौ ३ गते हुनेछ जसबाट उठेको रकम पनि उपचारमै खर्च गरिनेछ । वृत्तचित्र अस्ट्रेलियन नागरिक स्व. के वाल्समा समर्पित गरिएको छ जसले तिलगङ्गामा जलविन्दु आँखा क्लिनिक स्थापना गर्न योगदान गरेका थिए ।

डा. थापाले तिलगङ्गाले आर्थिकस्रोतको अभावमा उपचार गर्न नसक्ने जलविन्दु रोग लागेका शल्यक्रिया गर्नुपर्ने बालबालिकाका लागि यो रकम खर्च गरिने जानकारी दिए ।

यदि समयमै पहिचान भई उपचार गर्नसकेमा जलविन्दु रोकथाम गर्न सकिने, ढिलो भएमा दृष्टि नै गुम्ने सम्भावना रहने भएकाले समयमै जाँच तथा परीक्षण गर्नुपर्ने सन्देश वृत्तचित्रमा राखिएको डा थापाले बताए । हाल जलविन्दुको अन्तर्राष्ट्रियस्तरको सम्पूर्ण उच्च प्रविधिसहितको सेवा तिलगङ्गाले दिदैँ आएको छ ।

विश्वभरिमै दृष्टिविहीन गराउने प्रमुख रोगमध्ये जलविन्दु दोस्रो नम्बरमा पर्दछ । यो रोग विशेष गरेर परिवारमा कसैलाई जलबिन्दु छ भने वंशाणुगत रुपमा, ४० वर्ष उमेरभन्दा माथिकालाई, मधुमेह वा उच्च रक्तचाप भएकालाई र आँखामा चोट लागेको छ भने त्यस्ता व्यक्तिलाई लाग्ने सम्भावना रहन्छ ।

नेपालमा सन् २०११ मा गरिएको एक सर्भेले कुल अन्धोपनमध्ये पाँच प्रतिशत जलविन्दुको कारणले हुने गरेको देखाएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *