इलाममा पनि सुरु भयो स्वास्थ्य बीमा अन्तर्गतको उपचार सेवा

health insurance copy

इलाम, १ भदौ – आजदेखि इलाममा स्वास्थ्य बीमा गराएका बिमितको स्वास्थ्य उपचार सेवा सुरु भएको छ । गत असार मसान्तसम्म स्वास्थ्य बीमाको फाराम भरेका बिमितले इलाम अस्पतालसहित एकैसाथ चारवटा प्राथमिक स्वास्थ्य केन्द्रबाट यो सेवा पाउन थालेका छन् ।

सरकारले सामाजिक स्वास्थ्य सुरक्षा विकास कार्यक्रम परीक्षणमा रूपमा लागू गरेको हो । जिल्लामा अहिलेसम्म तीन हजार ९०५ जनाले स्वास्थ्य बीमाका लागि फाराम भरेको स्वास्थ्य बीमा समितिका दर्ता अधिकृत खेमराज अधिकारीले जानकारी दिनुभयो ।

यो कार्यक्रमअन्तर्गत सेवा दिन जिल्लाका सेवाप्रदायक स्वास्थ्य संस्था र सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिबीच साउन २९ गते सम्झौता भएको थियो ।

बीमा अनुसारको सेवा प्रदान गर्न अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सक, व्यवस्थापन समितिका पदाधिकारी तथा कर्मचारीलाई प्राविधिक तालिम दिइसकिएको अधिकारीले बताउनुभयो । यस जिल्लामा इलाम अस्पताल तथा प्याङ, फिक्कल, पशुपतिनगर र मङ्गलबारे प्राथमिक स्वास्थ्य केन्द्र छन् ।

बिमितले फाराममा भरेअनुसार पहिलोपटक स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला अस्पतालमा बीमाअन्तर्गतको सेवा लिनसक्ने समितिले जनाएको छ । जिल्लामा अहिले ५२ दर्ता सहयोगीले काम गरिरहेका छन् । कार्यक्रम कार्यान्वयनका लागि स्थानीय विकास अधिकारीको अध्यक्षतामा जिल्ला स्वास्थ्य समन्वय समिति पनि गठन भइसकेको छ । कार्यक्रमका कार्यकारी निर्देशक डा गुणराज लोहनीले अन्य जिल्लाको तुलनामा इलामवासीमा सेवाग्राहीको उत्साह निकै देखिएको बताउनुभयो ।

जनस्वास्थ्य प्रमुख राजकुमार पोखे्रलले पछिल्लो समय जिल्लाका स्वास्थ्य केन्द्रमा जनशक्ति, उपकरणलगायत विभिन्न सेवासुविधा थपिँदै गएकाले बीमा कार्यक्रमअन्तर्गतको सेवा दिन जिल्लाका स्वास्थ्य केन्द्रहरू सक्षम रहेको बताउनुभयो ।

कार्यक्रमअन्तर्गत पाँच जनासम्मको परिवारले वार्षिक दुई हजार ५०० रूपैयाँ तिरी स्वास्थ्य बीमा गरेका छन् । त्यसबापत परिवारले सरकारी स्वास्थ्य संस्थामा वर्ष दिनभित्र ५० हजार रूपैयाँ बराबरको सेवा निःशुल्क पाउनेछन् ।

पाँचजना भन्दा बढी परिवार सङ्ख्या भएमा प्रतिव्यक्ति थप ४२५ रूपैयाँ तिरेर बीमा गराउन सकिने स्वास्थ्य बीमा समितिले जनाएको छ । त्यसबापत जनही रु १० हजारका दरले परिवारले बढीमा एक लाख रूपैयाँसम्मको उपचार निःशुल्क पाउने व्यवस्था छ ।

बीमा गरेर वर्षदिनमा पनि उपचार सेवा नलिएमा रकम फिर्ता हुँदैन । अर्काे वर्षका लागि बीमा गर्न चाहनेले पुनः त्यति नै रकम तिर्नुपर्छ । सेवाग्राहीले कुन स्वास्थ्य संस्थामा सेवा लिने हो त्यसको नाम फाराममै उल्लेख गर्नुपर्नेछ । त्यहाँ उपचार नहुने बिरामीलाई त्यही इकाईले सम्बन्धित संस्थामा पठाउनेछ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *