तीन मनोरोगीको उद्धार : एक्ली महिलाको कष्ट टुङ्गियो

(नारायण ढुंगाना) चितवन, १ भदौ –  पूर्वी चितवनको कालिका नगरपालिका–७ खोलेसिमलमा रहेका एकै घरका तीन मनोरोगीको उद्धार गरिएको छ । राससमार्फत समाचार सार्वजनिक भएपछि मानवसेवा आश्रम चितवनले मङ्गलबार उनीहरुको उद्धार गरेको हो ।

चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंह, स्थानीय विकास अधिकारी श्रवणकुमार पोखरेल, प्रहरी प्रमुख वसन्त कुँवर, आश्रमका संयोजक रामजी अधिकारी तथा अभिभावक केशव अधिकारीको सहभागितामा उनीहरुको उद्धार गरिएको हो ।

यसरी उद्धार गरिएकामा खोलेसिमल निवासी ५५ वर्षीय भीमप्रसाद भट्टराई, उनका दुई छोरा ३१ वर्षीय दीपक भट्टराई र २६ वर्षीय शंकर भट्टराई रहेका छन् । उनीहरुलाई भीमप्रसादकी पत्नी देवीमायाँ भट्टराईले कष्ट सहेर स्याहार्दै आएकी थिइन् ।

उद्धार हुँदा देवीमायाँ विगत सम्झेर भावविह्वल भएकी थिइन् । उनले उद्धार गरेकामा खुसी व्यक्त गर्दै उनीहरुको उपचार अब सफल हुने आशा व्यक्त गर्नुभयो । भीमप्रसाद ३० वर्षदेखि मनोरोगी रहेका थिए ।

यस्तै, दीपक १२ र शंकर ९ वर्षदेखि मनोरोगी रहेको उनका आफन्त पुष्पराज भट्टराईले जानकारी दिए । “धेरै दुःख गरेँ हुन्छ कि भनेर, अहिलेसम्म निको भएन”, देवीमायाँले आँसु झार्दै भनिन्, “नसक्ने भएपछि डोरीले बाँधेर राखेँ ।”

अहिले पनि देवीमायाँका श्रीमानलाई साङ्लोमा बाँधेर ताला लगाएको अवस्थाबाट उद्धार गरिएको थियो । गोर्खा आश्राङ गाविस भन्तना गाउँबाट २६ वर्षअघि चितवन झर्दा बुबामा मात्रै रोग देखिएको थियो । पछि बिस्तारै छोरा दीपक भट्टराई र शंकर भट्टराईलाई मानसिक रोगले छोप्यो । त्यसपछि ती एक्ली महिलालाई श्रीमान र दुई छोरा स्याहार्न कष्ट हुँदै आएको थियो ।

उद्धारका क्रममा प्रजिअ विनोदप्रकाश सिंहले पत्रकारले खेलेको भूमिकाको प्रशंसा गर्दै भने, “राज्यले गर्नुपर्ने काम विभिन्न सङ्घसंस्थाबाट भएको छ, यसका लागि म धन्यवाद दिन चाहन्छु ।” स्रोतसाधन अभावले राज्यले यस्ता काम गर्न नसकेको उनले बताए।

स्थानीय विकास अधिकारी श्रवणकुमार पोखरेलले समस्या र समाधान दुवै यही धर्तीमा रहेको भन्दै उद्धार कार्यको प्रशंसा गरे । उनले स्थानीय सङ्घसंस्था र सरकारी निकाय मिलेर अघि बढ्ने बताए।

मानवसेवा आश्रम चितवनका संयोजक रामजी अधिकारीले उनीहरुको सबै उपचारको जिम्मा अब आश्रमले लिएको भन्दै उपचार र परामर्शपछि ठीक हुने विश्वास दिलाए। उनले अहिलेसम्म १२५ जना मनोरोगीलाई ठीक पारेर घरमा पुनःमिलन गराइसकेको जानकारी दिए ।

उनीहरुलाई घरेलु वातावरण मिलोस् भनेर तीन मनोरोगीसहित देवीमायाँलाई समेत सँगै आश्रममा ल्याइएको छ । उनीहरुको उपचारका लागि देवीमायाँले जग्गा बेचेर उपचार गरेपनि उपचार सम्भव भएको छैन । उपचारका लागि चार कट्ठा जग्गा बेचेको उनले बताए । अहिलेसम्म पाँच–सात लाख खर्च हुँदासमेत उपचार सम्भव भएको छैन ।

विभिन्न अस्पताल धाउँदासमेत नभएपछि आफू बाहिर ज्याला मजदुरी गर्न जाँदा घरमा बाँधेर जाने गरेको देवीमायाँले बताइन् । उनीहरु गोरखाबाट २६ वर्षअघि चितवन बसाँइ सरेका थिए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *