‘स्वस्थ शिशु’ प्रतिस्पर्धामा आमा र शिशु

काठमाडौँ, २६ साउन –  स्वस्थ शिशुको जाँच गर्ने क्रममा रोएका बच्चालाई खेलौना र चकलेट दिँदै फकाउँदै हुनुहुन्थ्यो वरिष्ठ स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा. मधु तुम्बाहाम्फे ।

थापाथलीस्थित प्रसूति गृहले प्रत्येक वर्ष आयोजना गर्ने ‘स्वस्थ शिशु’ प्रतिस्पर्धाका क्रममा आज भएको ‘शिशु प्रदर्शनी’ मा बच्चा तथा आमालाई समेत जाँच गर्दै डा तुम्बाहाम्फे नम्बर प्रदान गर्दै थिइन्।

तीन जना चिकित्सकको संयुक्त टोलीले छ महिनादेखि एक वर्षसम्मका शिशुको जाँच गरी नम्बर दिइरहेको थियो । “बच्चा मात्र स्वस्थ भएर हुँदैन आमा पनि स्वस्थ हुनुपर्छ, हामीले बच्चा र आमा दुवै स्वस्थ हुनुपर्छ भन्ने मान्यताअनुरुप यो प्रतिस्पर्धा गर्न लागेका हौँ” उनले भनिन्।

जन्मेदेखि ४५ दिनसम्म, ४६ दिनदेखि छ महिनासम्म र छ महिनादेखि एक वर्षसम्मका गरी तीन विधाका शिशुको प्रतिस्पर्धा गराइएको छ ।

पैँतालीस दिनसम्मका शिशुको जाँच गर्दै स्टाफ नर्स गीता गजुरेलले भनिन्–“यो विधामा हामीले पूर्णरुपमा आमाले शिशुलाई आफ्नो दूध मात्र चुसाएको छ कि छैन भन्ने जाँच गर्छौं । यो अवधिमा बिसीजीको मात्र खोप लगाइने हुनाले यो खोप र पूर्ण स्तनपान, बच्चाको तौल हेर्छौं ।”

पैँतालीस दिनकी सुत्केरी इमोसा पौडेल निकै खुसी हुँदै आफ्नी छोरीलाई उक्त प्रतिस्पर्धामा सहभागी गराउन आएकी थिइन्। बच्चालाई स्वस्थ राख्न आफूले गर्दै आएको कार्यबारे जानकारी दिँदै उनले भनिन्– “दुई/दुई घन्टामा बच्चालाई दूध चुसाउने, तेल लगाइदिने, सेकिदिने गर्दै आएको छु ।”

बच्चाको मात्र हैन आफ्नो स्वास्थ्य राम्रो बनाउन प्रोटिनका लागि माछा मासु, घ्यू यसैगरी हरिया सागपात, गेडागुडीलाई नियमित खानामा समावेश गरिरहेको समेत उनले बताइन्।

पैँतालीस दिनदेखि छ महिनासम्मको बच्चाको जाँच गर्दा पूर्ण स्तनपानका साथै खोपको मात्रालाई विशेष ध्यान दिइन्छ । यो अवधिसम्म बच्चालाई आमाको दूध मात्र खुवाउँदा पनि पुग्ने भएकाले अन्य खानेकुरा थप्नु पर्दैन ।

छ महिनादेखि एक वर्षसम्मका शिशुलाई भने आमाको दूधको साथै अन्य खानेकुरा पनि खुवाउन सकिन्छ । बालस्वास्थ्य विशेषज्ञ डा सिमीले भने– “जन्मेदेखि छ महिनासम्म आमाको दूध मात्र खाए पुग्छ तर घाममा तेल लगाएर राख्दा गर्मी भयो होला भनेर पानी दिने चलन छ त्यो गर्नु आवश्यक छैन । छ महिनापछिका बच्चालाई खानेकुरा थप्दै जानुपर्छ लिटो, जाउलो दिने चलन छ तर कम्तिमा पनि सातदेखि आठ महिना नपुगुञ्जेल यी खानेकुरा नदिँदा पनि हुन्छ । सकिन्छ भने सेरलेक दिँदा हुन्छ ।”

“बच्चालाई एकैपटक हामीले खानेकुरा खुवाउनु हुन्न । प्रत्येक हप्ता खानेकुरा थप्दै जानुपर्छ । जस्तो सात÷आठ महिनापछि जाउलो, केरा मिच्दै खुवाउन सकिन्छ, त्यसपछि स्याउको बोक्रा ताछेर खुवाउने, दाल, बिस्कुट दिन सकिन्छ । नौ महिना दालभात दिँदा पनि हुन्छ”–उनले भने ।

यो उमेर समूहका बच्चाको जाँच गर्दा पेटमा बच्चा आएदेखि आमाले कसरी हेरचाह गरिन्, बच्चा जन्मिसकेपछि पनि बच्चाको मात्र नभई आफ्नो पनि कतिको हेरचाह, खानपानमा ध्यान दिएको छ, परिवार नियोजनबारे जानकारी छ÷छैनजस्ता कुराले नम्बर थपघट हुने गरेको उनले बताए ।

यसैगरी सुत्केरी सामान्य हो कि शल्यक्रियाबाट गरिएको, बच्चाको सरसफाइ, कपडा, तौल, लम्बाइ, उमेरअनुसार मिलेको छ कि छैन, मानसिक, शारीरिक रुपमा उमेरअनुसार विकास भएको छ कि छैन जस्ता कुरालाई प्रतिस्पर्धामा मापन गरिन्छ ।

उक्त प्रतिस्पर्धामा सहभागी हुन गर्भावस्थादेखि नै अस्पतालमा जाँच गराई सुत्केरी गराइएको हुनुपर्छ । आमाको समेत स्वास्थ्य अवस्था, खोप लगाएको, खानपान, मानसिक, शारीरिक अवस्था हेरेर दिएको नम्बरअनुसार पहिलो, दोस्रो, तेस्रो र चौथोलाई पुरस्कार प्रदान गरिन्छ ।

यही भदौ ९ गते कृष्णजन्माष्टमीका दिन प्रसूति गृहको वार्षिकोत्सवका दिन उत्कृष्ट हुने शिशुलाई पदक र प्रमाणपत्र दिइन्छ । उक्त प्रतिस्पर्धाका लागि १३० जनाले आवेदन दिएका थिए । नेपालमा अहिले मातृ मृत्युदर प्रतिलाख १९० जना रहेको छ भने शिशु मृत्युदर प्रतिहजार २५ जना रहेको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *