ज्येष्ठ नागरिकलाई निःशुल्क व्यायामशाला

झापा, २५ साउन –  झापाको मेचीनगर–१० मा ज्येष्ठ नागरिकका लागि एक दाताले निःशुल्क व्यायामशाला सञ्चालनमा ल्याएका छन् ।

बेलायतमा लामो समय बसेर स्वदेश फर्किएका मेचीनगर निवासी नरेन्द्र गुरुङले रु सात लाखको निजी लगानीमा तीन महिना अघि व्यायामशाला स्थापना गरेका हुन् ।

बिहान ४ बजेदेखि खुल्ने व्यायामशालामा ५० देखि ८३ वर्ष उमेरसम्मका ४० जना वृद्धवृद्धा नियमित आउने गरेको सञ्चालक गुरुङ बताउँछन् ।

मेचीनगर–१० की ६८ वर्षीया प्रेमकुमारी ढकाल व्यायामशाला धाउन थालेको केही दिनमै स्वास्थ्यमा सुधार आउन थालेको बताउँछन्। बुढ्यौलीपनका कारण प्रेसर, ग्यास्ट्रिक, ढाड दुख्नेलगायतका रोगले थकित ढकाल बिहान ४ः३० बजे नै व्यायामशाला पुग्छन् ।

स्थानीय ७२ वर्षीया धनमाया सङ्ग्रौला पनि दुई महिना अघिदेखि नियमित व्यायामशाला धाउँछन् । घुँडा दुख्ने रोगले ग्रस्त उनको बिहानको दैनिकी यही व्यायामशालामा नै बित्ने गरेको छ । उनले व्यायाम गर्न थालेपछि शरीर पनि फुर्तिलो भएको र घुँडा दुख्न समेत कम भएको बताए।

गुरुङले बेलायतमा रहँदा ज्येष्ठ नागरिकलाई त्यहाँको सरकारले व्यायामका सामग्री निःशुल्क उपलब्ध गराएको देखेका थिए । उनी नेपाल फर्किएर व्यायामशाला खोल्ने चाहना पूरा भएकोमा खुसी छन् ।

व्यायामशालामा शारीरिक तन्दुरुस्तीका लागि आवश्यक पर्ने आधुनिक उपकरण छन् । विशेष गरीब यहाँ घाँटी, हात, खुट्टा, औँला, ढाड, कम्मर दुख्ने, दम, प्रेसरलगायतका समस्या भोगिरहेका वृद्धवृद्धा आउने गरेका छन् ।

ज्येष्ठ नागरिक समिति मेचीनगरका सचिव नरेन्द्रप्रकाश सिटौला ज्येष्ठ नागरिकका लागि व्यायामशाला नौलो र उपयोगी भएको बताए । – रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *