भाइरल ज्वरोका बिरामी बढे

पर्वत, २२ साउन –  केही दिनयता जिल्ला अस्पताल पर्वतमा भाइरल ज्वरोका बिरामीको चाप ह्वात्तै बढेको छ ।

जिल्ला अस्पतालसँगै पर्वतका गाउँ/गाउँमा रहेका स्वास्थ्य संस्थामा समेत बिरामीको चाप बढेको हो । एकातिर बढ्दो गर्मीसँगै निरन्तरको वर्षा र मौसम परिवर्तनका कारण दुषित खानेपानीले बिरामीको सङ्ख्यामा वृद्धि भएको हो ।

अहिले जिल्ला अस्पताल पर्वतमा दैनिकजसो १२० जनासम्म भाइरल ज्वरोका बिरामी आउने गरेको अस्पतालले जनाएको छ । अन्य समयमा ४० देखि ५० जनासम्म बिरामी आउने अस्पतालमा विगत दुई सातायता तेब्बरको सङ्ख्यामा वृद्धि भएका छन् । त्यसमध्ये अधिकांश भाइरलका बिरामी रहेका छन् ।

स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार केही समय अघिको तुलनामा यतिबेला तेब्बरको सङ्ख्यामा बिरामी बढेको बताइएको छ । भाइरलको प्रकोप बढी मात्रामा बालबालिकामा देखिएको छ । बालबालिकास“गै एकैघरमा चारपाँच जनाको सङ्ख्यामा उपचारका लागि आउने गरेको जिल्ला अस्पताल पर्वतका प्रमुख डा फणिन्द्र बरालले जानकारी दिए ।

वृद्धवृद्धामा समेत यसको सङ्क्रमण देखिएको छ । यसबाट बच्न दूषित खाना र खानेपानी प्रयोग नगर्ने र कारणवस सङ्क्रमण देखिएमा तत्काल उपचारको विधि अपनाउन सुझाव दिएको डा बरालले बताए ।

पन्ध्र शैयाको क्षमता रहेको अस्पतालमा अहिले वैकल्पिक बेडको व्यवस्था गरेर बिरामी भर्ना गरिएको छ । यस वर्ष हिउँदमा वर्षा नभएकाले र मौसम परिवर्तनका कारण बिरामीको सङ्ख्या बढेको डा बरालको भनाइ छ ।

गाउँ÷गाउँमा पनि भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढेको जानकारी आएपछि प्रत्येक स्वास्थ्य चौकीमा पर्याप्त औषधि र स्वास्थ्यकर्मीलाई चौविसै घन्टा खटिन निर्देशन दिइएको छ । उत्तरी पर्वतका विभिन्न विद्यालयमा बिरामी पर्ने विद्यार्थीको सङ्ख्या बढेपछि स्वास्थ्यकर्मीलाई विद्यालयमै पठाएर औषधोपचार गरिएको छ ।

विशेषगरी सदरमुकाम लगायत बढी जनघनत्व भएका बजार क्षेत्रमा प्रकोप बढेको छ । बालबालिकालाई जुनसुकै प्रदूषणबाट पनि टाढा राख्न स्वास्थ्य कार्यालयले आग्रह गरेको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *