अस्पतालमा सुत्केरी हुने क्रम बढ्दो

चितवन, २१ साउन –  सरकारी सहयोग र चेतनामा वृद्धि भएका कारण अस्पतालमा सुत्केरी हुने क्रम बढ्दै गएको पाइएको छ ।

चितवनको भरतपुर अस्पतालमा गएको वर्ष ११ हजार ९७८ जनाले सुत्केरी सेवा लिएका छन् । यो अघिल्लो आवको तुलनामा ६१४ जना बढीले सुत्केरी सेवा लिएको अस्पतालले जनाएको छ ।

अस्पतालमा आठ हजार १०४ जनाले साधारण सुत्केरी गराएका छन् भने शल्यक्रिया गरेर सुत्केरी सेवा लिनेको सङ्ख्या दुई हजार ६५१ छ । यस्तै एक हजार २२३ जनाले जटिल सुत्केरी सेवा लिएको अस्पतालका तथ्याङ्क इकाइका प्रमुख नारायण रिजालले जानकारी दिए ।

अस्पतालमा शल्यक्रिया गराउने महिलाको सङ्ख्या बढ्दै गएको तथ्याङ्कले देखाएको छ । अघिल्लो आवमा दुई हजार ४६५ जना शल्यक्रियाबाट सुत्केरी भएकामा यस आवमा दुई हजार ६५१ जनाको शल्यक्रिया भएको अस्पतालले जनाएको छ ।

अस्पतालमा ४० जना जुम्ल्याहा बच्चा जन्मिएका छन् । प्रसूति तथा स्त्री रोग सेवाका लागि एकसय १५ बेड छुट्याइएको छ । भरतपुर अस्पताल काठमाडौँको प्रसूति गृहपछि दोस्रो ठूलो सुत्केरी गराउने अस्पताल रहेको स्त्री तथा प्रसूति रोग विभागका प्रमुख डा सुनिलमणि पोख्रेलले जानकारी दिए ।

यहाँ २४ सै घन्टा सबै प्रकारको शल्यक्रिया सुविधा उपलब्ध छ । सुरक्षित सुत्केरी सेवा प्रदान गरिने र अन्य प्रकारका रोगको समेत राम्रो उपचार भएकाले जनतामा भरतपुर अस्पतालप्रति विश्वास बढेको विभागीय प्रमुख डा पोख्रेलको दाबी छ ।

चितवनमा भरतपुर अस्पतालबाहेक चितवन मेडिकल कलेज र भरतपुर मेडिकल कलेजमा पनि आमा सुरक्षा कार्यक्रम लागू छ । भरतपुर अस्पतालमा विगत आठ वर्षदेखि आमा सुरक्षा कार्यक्रम लागू हुँदै आएको छ ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा रुद्र मरासैनी अस्पतालमा सुत्केरी सेवा प्रभावकारी भएको बताए । – रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *