बाढीपीडितलाई कीटनाशक झुल र पियुस वितरण

चितवन, २० साउन –  नारायणी नदीको डुबानमा परेका यहाँको मङ्गलपुरका बाढीपीडितलाई कीटनाशक झुललगायत सामग्री वितरण गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले मङ्गलपुरको झनझने र शरणपुर क्षेत्रका ११७ घरधुरीमा यसरी सामग्री सहयोग गरेको हो ।

डुबान क्षेत्रमा पानी दूषित हुनसक्ने र लामखुट्टेको प्रकोप बढेको पाइएपछि कीटनाशक झुलसहित हाइजिङ कीट (मञ्जन, ब्रस, साबुन लगायत), पानी शुद्धीकरण गर्ने औषधि वितरण गरिएको रेडक्रस चितवनका वरिष्ठ शाखा अधिकृत जगन्नाथ न्यौपानेले जानकारी दिए । युनिसेफको सहयोगमा ती सामग्री वितरण गरिएको हो ।

उहाँका अनुसार डुबानमा परेका ११७ घरमा सामग्री उपलब्ध गराइएको हो । यहाँ डुबान भए पनि मानवीय र अन्य ठूलो क्षति भने नभएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

नारायणीको बाढीले यहाँको पश्चिम क्षेत्रमा पर्ने मङ्गलपुरको झनझने र शरणपुरसहित गाँजीपुर, भुवन बस्ती, मेघौलीको स्यालबास, लौखुरी, गोलाघाट क्षेत्रमा समेत बाढी पसेको र कटान गरेको विपद् व्यवस्थापन समितिका सूचना अधिकारी बलराम लुइँटेलले जानकारी दिए ।

यसैगरी खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय चितवनले पनि प्रतिघर तीन दिनलाई पुग्ने गरी पियुस वितरण गरेको विपद् व्यवस्थापन समिति चितवनले जनाएको छ ।

बाढी पसेपछि खानेपानी दूषित हुने र झाडापखाला तथा अन्य रोग समेत लाग्न सक्ने भएकाले खतरा रोक्न पियुस वितरण गरिएको हो । सो क्षेत्रमा आवश्यकताअनुसार सहयोग गर्ने समितिले जनाएको छ । – रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *