नसर्ने रोग नियन्त्रण गर्न सरकारको ‘पेन प्याकेज’ योजना

mohp1 copy

काठमाडौँ, १७ साउन – सरकारले नसर्ने रोगको जोखिम नियन्त्रण गर्न विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)ले अघि सारेको योजना ‘प्याकेज अफ इसेन्सियल नन कम्युनिकेवल डीजीज( पेन प्याकेज)’ कार्यक्रम दुई जिल्लाबाट सुरु गर्ने भएको छ । ती जिल्लाहरुमा कैलाली र इलाम रहेका छन् ।

डव्लुएचओको पेन प्याकेजमा मुटु, मधुमेह, क्यान्सर र स्वासप्रस्वास ( सीओपीडी) रोग नियन्त्रण गर्ने योजना भएपनि सरकारले भने यसपटक मुटु र मधुमेहलाई मात्रै लिएर नमूना कार्यक्रम सुरु गर्न लागेको छ । त्यसका लागि सरकारले ५० लाख रुपैँया रकम समेत छुट्याइसकेको छ । डव्लुएचओले आवश्यकता अनुसार थप सहयोग गर्ने बताएको छ ।

स्वास्थ्य सेवा विभाग प्राथमिक स्वास्थ्य तथा पुर्नजागरण महाशाखाका निर्देशक मोहमद दाउदले गत महिना कार्यक्रम स्वीकृत भएपछि पेन प्याकेज कार्यक्रम कार्यान्वयनको चरणमा पुगेको बताए । उनले स्वास्थ्य बीमा कार्यक्रम लागू भएका जिल्लाबाटै यो नमूना कार्यक्रम सुरु गर्न लागेको समेत स्पष्ट पारे । निर्देशक दाउदले आगामी ४ बर्ष भित्र देशका चालिस जिल्लामा यो कार्यक्रम लागू भईसक्ने क्रमश देशभर लागूहुने बताए ।

डव्लुएचओको प्रतिवेदन अनुसार नेपालमा सन २०१० मा नसर्ने रोगबाट मृत्यु हुनेको संख्या ५१ प्रतिशत रहेको थियो तर सन् २०१४ मा पुग्दा यो प्रतिशत बढेर ६० पुगेको छ । संसारमै तिब्ररुपमा बढ्दै गएको नसर्ने रोगको जोखिम न्युनिकरण गर्न डव्लुएचओले यो कार्यक्रम अघि सारेको हो । यो कार्यक्रममा नसर्ने रोगको जोखिम न्युनिकरणका उपाय, रोकथाम र उपचार लगायतको प्याकेज रहेको छ ।

‘पेन प्याकेज कार्यक्रममा मुख्यतया स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रबाटै नसर्ने रोगको जोखिम पहिचान तथा उपचार गर्ने कार्यक्रम छ । यदि कोही व्यक्ति छाती दुखेर स्वास्थ्य चौकीसम्म आयो भने त्यहाँको स्वास्थ्यकर्मीले लक्षण पहिचान गरि नसक्ने अवस्था हुँनासाथ प्राथमिक स्वास्थ्यकेन्द्रमा रिफर गर्छ । त्यहाँका चिकित्सकले रोग पत्ता लगाईसकेपछि औषधिको व्यवस्था उनीहरुकै सिफारिसमा स्वास्थ्यचौकीबाट उपलव्ध हुन्छ’  निर्देशक दाउदले भने ।

उनले यो योजनामा नसर्ने रोगको उपचार, यसका जोखिम, बच्ने उपायका बारेमा सम्पूर्ण प्याकेज रहेको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *