निरन्तरको अनुसन्धानबाटै छाला रोग विशेषज्ञ

(शर्मिला पाठक) काठमाडौँ, १५ साउन –  एक समय जडीबुटी सङ्कलनमा दैनिक घन्टौं बिताउँदा मानसिक सन्तुलन गुमाएको भन्दै अस्पतालन लान ठिक्क पारिएकी रुपा शाह अहिले छाला रोग विशेषज्ञ रुपमा परिचित छन् ।

धादिङको विकट गाविस मानिने ज्यामरुङमाजन्मिएकी शाहले विगत ३५ वर्षदेखि स्वदेशमा पाइने विभिन्न किसिमका जडीबुटी सङ्कलन गरेर छालासम्बन्धी रोगको सफल उपचार गर्दै आएकी छन् ।

“सात वर्षको उमेरदेखि आफ्नो घर वरपर पाइने विभिन्न किसिमका जडीबुटी सङ्कलन गरेर समय बिताउनु मेरो सोखनै थियो, जडीबुटी सङ्कलन गरेर कोठामा एक्लै बसेको देख्दा परिवारको सदस्यले मानसिक रोगी भन्दै अस्पताल लान तयार भएका थिए जुन मेरो भावना विपरीत थियो,” शाहले आफ्ने विगत सम्झिइन्।

दाद, चायाँपोतो, डन्डिफोर, छालाको चउरीपनालगायत छालासम्बन्धी सम्पूर्ण रोगको उपचार गर्दै आएकी उनले हालसम्ममा ५० हजारभन्दा बढी छालाका रोगीको सफल उपचार गरिसकेकी छन्।

आफ्ना कार्यप्रति सन्तुष्ट हुँदै उनले भनिन्, “लामो समयको अनुसन्धानपछि अहिले सफलता मिलेको छ, बाहिर कुनै प्रचारप्रसार नगरे पनि व्यक्तिगत सम्पर्ककै भरमा आफ्ना उत्पादन बेचेर राम्रो आम्दानी गर्दै आएकी छु ।”

उनले धादिङ, दोलखा, गोरखा, सुर्खेत, लमजुङ, तनहुँलगायत जिल्लाको हिमाली भेगबाट औषधिजन्य जडीबुटी सङ्कलन गरेर बूढानिलकण्डमा उत्पादन केन्द्र खोलेकी छन् । शाहले कान्तिपथमा रहेको मुक्तिनाथ हर्वल र चक्रपथस्थित अष्ठलक्ष्मी पारिजात मुक्तिनाथ दुवैलाई औषधिको बिक्री केन्द्र बनाई बिरामीलाई सेवा दिँदै आएकी छन् ।

यी प्रत्येक जिल्लामा जडीबुटी सङ्कलनको लागि कामदार समेत राखेकी शाहले काडमाडौँ र बाहिरी जिल्लामा गरी ३५ जनालाई रोजगारी दिएकी छन्। जाडोको समयमा जडीबुटी खोज्नु पर्ने भएकाले उक्त समयमा थप कामदारको आवश्यकता पर्ने गरेको छ ।

काम गर्ने जागर भए धेरै सम्भावना नेपालमै छ भन्दै उनले कामको खोजी गर्दै विदेश जाने युवायुवतीलाई स्वदेशमानै काम गर्न अनुरोध गरिन्। आफ्नो पूरै जीवन अनुसन्धानमा बिताएकी शाहले मासिक रु तीन लाख आम्दानी गर्दै आएकी छन् ।

आफूले कसैसँग पनि सहयोग नपाएको गुनासो सुनाउँदै शाहले भनिन्, “सहयोग गर्ने कोही नभए पनि इच्छा देखाएर आउनेका लागि सहयोेग गर्न चाहन्छु ।”

उनले वैद्यखानामार्फत आफ्नो उत्पादनलाई बिक्री वितरण गर्ने आफ्नो इच्छा भएको बताउदै भनिन्, “वैद्यखानामार्फत मेरो अनुसन्धानका उपज सबैमा पु¥याउने प्रबन्ध गरीदिए मेरो अनुसन्धानको मूल्याङ्कन हुने थियो ।”

सङ्घर्षबाटै सफलता चुमेकी शाह अहिले पनि हरेक समय नयाँनयाँ खोज र अनुसन्धानमा नै आफूलाई व्यस्त बनाउन चाहन्छिन् । आफूले गरेका उपचारबाट बिरामी सतप्रतिशत सफल भएपछि प्राप्त खुसी र आनन्द नै मेरा लागि जीवनको ठूलो सफलता भएको उनी बताउँछिन्। अबको दुई महिनाभित्रमाउनले अर्को नयाँ औषधि बजारमा ल्याउने तयारी गरेकी छन् ।

“बाबुआमालाई आफ्नो सन्तानले राम्रो प्रगति गर्दा जस्तो खुसी मिल्छ, त्यही खुसी बिरामीको सफल उपचारपछि मलाई मिल्ने गरेको छ” शाहले भनिन्। नेपालमा धेरै थरीका जडीबुटी छन् त्यसको खोज र अनुसन्धान गरी सही उपयोग गर्नसके आर्थिक आर्जन र औषधि दुवै प्राप्त गर्न सकिने भएकाले त्यसतर्फ ध्यान दिन उनले सरकारलाई अनुरोध गरेकी छन्।

खेर गएका कयौँ जडीबुटीको व्यवस्थापनको लागि सरकारले सबैभन्दा पहिला जनचेतना जगाउने र त्यसको महत्वबारे सर्वसाधारणलाई जानकारी दिनुका साथै ठूलाठूला उद्योगधन्दा खोली रोजगारीको सिर्जना गर्नुुपर्ने शाहको भनाइ छ ।

करिब छ महिनादेखि अष्ठलक्ष्मी पारिजात मुक्तिनाथ हर्वलमा दादको उपचार गराई रहेकी चितवनको मञ्जु शर्माले केमिकल बिना प्रयोग नगरिने आफू नियमित उपचार गर्न आउने गरेको बताइन्।

शर्मा भन्छिन्, –यसभन्दा अघि उपचारको लागि धेरै औषधि गरे पनि निको नभएपछि यहाँ आएकी हुँ, शरीरभरि नै आएको दाद अहिले निको भइसकेको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *