उपचारको ऋण तिर्न सामुदायिक वनको सहयोग

कञ्चनपुर, ४ साउन – बाख्राको मासु खाँदा बिरामी भई उपचार गराएर घर फर्केका कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–८ का स्थानीयलाई बैजनाथ सामुदायिक वनले उपचार खर्च उपलब्ध गराएको छ ।

उपचार गराउँदा लागेको ऋण तिर्नका लागि सामुदायिक वनले ३५ जनालाई रु दुई हजारका दरले आर्थिक सहयोग रकम प्रदान गरेको हो । “उपचारमा लागेको ऋण तिर्नका लागि रु ७० हजार सहयोग रकम प्रदान गरेका छौँ” सामुदायिक वनका अध्यक्ष बहादुर महराले भने ।

गत महिना छिमेकीको मरेको बाख्रा सित्तैमा बाँडेर खाँदा यहाँका ३५ जना बिरामी भएका थिए । बिरामीमध्ये अधिकांशको आर्थिक अवस्था कमजोर रहेका कारण ऋण लिएर उपचार गराएका थिए ।

सहयोग रकमले ऋण तिर्नका लागि केही सहज हुने अध्यक्ष महराले बताए । नगरपालिका कार्यालयसँग समेत उपचार खर्च उपलब्ध गराउन माग गर्दा बेवास्ता भएपछि बिरामीले सामुदायिक वनका पदाधिकारीलाई भेटेर रकम उपलब्ध गराउन आग्रह गरेका थिए ।

मानवीय नाताले बिरामीलाई रकम उपलब्ध गराइएको अध्यक्ष महराको भनाइ रहेको छ । सामुदायिक वनले घाँस, काठ, दाउरा बिक्री गरी आम्दानी गर्दै आएको छ ।

आम्दानीको रकम सडकमा ग्राभेल राख्न, विद्यालय भवन निर्माण गर्न र तटबन्ध निर्माणका लागि खर्च गरिँदै आएको छ ।

– रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *