चतुराले पहिलो पूर्ण खोप सुनिश्चित गाविस

Khop

नुवाकोट, १ साउन- नुवाकोट जिल्लाको चतुराले गाविस जिल्लाकै पहिलो पूर्ण खोप सुनिश्चित गाविस बन्न सफल भएको छ ।

यहाँका खोप लगाउन आवश्यक जन्मेदेखि २३ महिनाभित्रका सबै बालबालिकालाई पूर्णरुपमा खोपको सुनिश्चिता भएपछि सो गाविसलाई पूर्ण खोपको सुनिश्चित गाविस घोषणा गरिएको हो ।

स्वास्थ्य मन्त्रालयको पहिलो प्राथमिकतामा खोप कार्यक्रम रहेको छ । मन्त्रालयले विश्व स्वास्थ्य सङ्गठनको आर्थिक एवम् प्राविधिक सहयोगमा सबै बालबालिकालाई आवश्यक खोपको मात्रा पूरा गराउने उद्देश्यका साथ पूर्ण खोप सुनिश्चित गाविस घोषणा अभियान सञ्चालन गरिरहेको हो । साथै सन् २०१७ भित्रमा नेपाललाई पूर्ण खोप सुनिश्चित मुलुक घोषणा गर्ने तयारी गरिरहेको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयले नेपाल रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखाको सहयोगमा चतुरालेले गाविसलाई जिल्लाकै पहिलो पूर्ण खोप सुनिश्चित गाविस घोषणा गरेको हो ।

रेडक्रस सोसाइटी नुवाकोट शाखाले पूर्ण खोपका अभियान सञ्चालनका लागि जिल्ला जनस्वास्थ्य कार्यालयलसित सहकार्य गरिराखेको छ । नेपाल रेडक्रस सोसाइटीको भूकम्प प्रतिकार्य कार्यक्रम सञ्चालन भएका आफ्ना आठ वटा गाविस (चतुराले, सुर्यमती, लच्याङ, उर्लेनी, हल्देकालिका, मनकामना, काहुले, भाल्चे) लाई पूर्ण खोप सुनिश्चित गाविस घोषणा गर्न जिल्ला जनस्वास्थ्य कार्यालयलाई सहयोग गर्ने छ ।

जिल्लाका बाँकी गाविसलाई पूर्ण खोप गाविस घोषणा गर्न प्राथमिकताका साथ काम भइरहेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख विश्वराम श्रेष्ठले बताए ।

चतुराले स्वास्थ्य चौकीको कार्यालयमा आयोजित कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति तथा सांसद जगदीश्वर नरसिंह केसीले चतुराले गाविसलाई पूर्ण खोप सुनिश्चित गाविस घोषणा गर्दै चतुराले गाविसका बालबालिका अब कुनै खोपबाट वञ्चित नहुने भएकाले बालबालिका स्वस्थ हुने, कुनै रोग नलाग्ने र बालबालिकामा रोगप्रतिरोधी क्षमतामा अभिवृद्धि हुने बताए । उनले जिल्लाका अन्य गाविसलाई पूर्ण खोप सुनिश्चित गाविस घोषणा गराउनको अभियानलाई तीव्रता दिन आग्रह गरे ।

नेपाल रेडक्रस सोसाइटी, भूकम्प प्रतिकार्य कार्यक्रमका प्रमुख उमेशप्रसाद ढकालले पूर्ण खोपको अभियान विद्यमान बाल मृत्युदर घटाउने लक्ष्यका देशभर अगाडि बढिरहेको अवस्थामा सोसाइटीले आफ्नो कार्यक्रम सञ्चालनमा रहेका जिल्लाका गाविसमा जिल्ला जनस्वास्थ्य कार्यालयसँग सहकार्य गर्दै काम गरिरहेको जानकारी दिए।

भूकम्प प्रतिकार्य कार्यक्रमका स्वास्थ्य संयोजक डा मौसम बोहराले भूकम्प प्रभावित जिल्लामा भूकम्पपीडित समुदायको स्वास्थ्य सुधारका लागि सामुदायिक स्वास्थ्य सुधारका गतिविधि सञ्चालन भइराखेको बताए ।

अमेरिकन रेडक्रसको आर्थिक एवम् प्राविधिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी, नुवाकोट जिल्ला शाखामार्फत सञ्चालनमा रहेको भूकम्प प्रतिकार्य कार्यक्रमले जिल्लामा पूर्ण खोप घोषणाका लागि आवश्यक सुरुका चरणदेखि नै जिल्ला जनस्वास्थ्य कार्यालयसँग सहकार्य गरी सहयोग गरिरहेको जिल्ला कार्यक्रम संयोजक शारदा खतिवडाले बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेलले चतुराले गाविसको सक्रियतामा जिल्लामा पहिलो पटक पूर्ण खोप घोषित भएपछि बालबालिकाको स्वास्थ्यमा अझै सुधार आउने र गाउँ गाउँमा बालबालिकालाई आवश्यक खोप पूर्णरुपमा दिनुपर्छ भन्ने भावनाको जागृत गराउन सफल भएको बताए।

कार्यक्रममा स्थानीय विकास अधिकारी केशरबहादुर पण्डितले आगामी दिनमा बालबालिकालाई खोपको सुनिश्चित गराउन आवश्यक पूर्व तयारी तत्काल गर्नु पर्ने चर्चा गर्दै रोगको समस्या आएमा कसरी सामना गर्ने भन्नेमा सबै पक्ष सचेत हुनुपर्ने बताए ।

चतुराले गाविसमा रहेको दुई वर्षमुनिका ८३ बालबालिकालाई खोप सुनिश्चित गरिएको चतुराले स्वास्थ्य चौकीका प्रमुख जीवन भट्टराईले जानकारी दिए । दुई वर्ष भन्दा मुनिका बालकालिकालाई विभिन्न ११ वटा खोप दिनु पर्छ । सोही अनुसारको खोपको सुनिश्चित गरिएको हो ।

उनले महिला स्वास्थ्य स्वयम्सेविकाहरु, कर्मचारीहरुको सक्रियताले हरेक टोलटोलमा खोप लगाउन पर्ने बालबालिकालाई खोप लगाएर र आगामी दिनमा पनि कहाँ कहा बालबालिका छन् उनीहरुको खोपको अबस्था कस्तो छ ‘होम भिजिट’ गरी लगत सङ्कलन जारी राख्ने भएकोले कोही बालबालिका खोपबाट बञ्चित नहुने बताए ।

चतुराले गाविसमा सचिव तथा चतुराले स्वास्थ्य चौकी सञ्चालक समितिका अध्यक्ष किरणमणि श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी नुवाकोटका उपसभापति राजकुमार भट्टराई, चतुराले स्वास्थ्य चौकीमा सञ्चालक सदस्य हस्तबहादुर तामाङ, ब्रम्हायणी निमाविमा प्रधानाध्यापक नवराज पाठक, महिला स्वास्थ्य स्वयम्सेविका सरिता तामाङ लगायतले खोपको महत्वका बारेमा प्रकाश पारेका थिए ।

जिल्ला स्वास्थ्य कार्यालयले मनकामना र किम्ताङ गाविसलाई पनि पूर्ण खोप सुनिश्चित गाविस घोषित गर्ने तयारी भइरहेको जनाएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *