झापामा क्यान्सर, मुटु र मिर्गौला रोगी बढ्दै

झापा, ३१ असार – जिल्लामा चालु आवमा ५८७ जना क्यान्सर, मुटु र मिर्गौला रोगका बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

तीमध्ये सबैभन्दा बढी क्यान्सर रोगी रहेका छन् । क्यान्सर रोगीको सङ्ख्या २३८ जना रहेकोमा १२६ जना महिला र ११२ जना पुरुष रहेको कार्यालयले जनाएको छ । गत आवमा क्यान्सरका २२७ जना रोगी फेला परेका थिए ।

त्यस्तै, मुटु रोगीको सङ्ख्या आवको असार ९ गतेसम्मको अवधिमा १३१ रहेको कार्यालयले जनाएको छ जसमा ६० महिला र ७१ पुरुष रहेका छन् । गत वर्ष भने १२२ जना मुटु रोगमा बिरामी झापामा फेला परेका थिए ।

झापामा क्यान्सर, मुटु पछि उस्तै भयावह भन्दै गएको मिर्गौला रोगीको सङ्ख्या ६९ जना रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । तीमध्ये २० जना महिला र ४९ जना पुरुष रहेका छन् । गत आवमा यो रोगबाट ६६ जना पीडित बनेको कार्यालय प्रमुख चन्द्रदेव मेहताले जानकारी दिए ।

नसर्ने भनिएका यी रोगको उपचारमा सरकारले रु एक लाखसम्म उपचार खर्च ब्यहोर्न थालेपछि कार्यालयमा सिफारिस लिन ५ वर्षदेखि ७४ वर्षसम्मका व्यक्ति आउने गरेको प्रमुख मेहताले बताए।

उनका अनुसार गत वर्षको तुलनामा यी तीनै रोगका बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । मेहताले सन्तुलित खानाको कमी, नियमित व्यायाम नगर्ने र प्रदूषणयुक्त वातावरणको असरका कारण पनि यी रोगका बिरामी बढ्दै गएको बताए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *