उपत्यकाका प्रमुख पानी प्रशोधन केन्द्रका यन्त्र बिग्रिए

watar purify

काठमाडौँ, ३० असार –  काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले तीन वर्षअघि पानी प्रशोधनका लागि जडान गरेको यन्त्र एक महिनामै बिग्रियो ।

यन्त्रले एक महिनाभन्दा बढी काम नगर्दा उपभोक्तालाई हातैले पानी प्रशोधन गरेर वितरण गर्न बाध्य हुनुपरेको काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले जनाएको छ ।

तीन वर्षअघि निर्देशनालयले जडान गरेको यन्त्र एक महिना चलेर बन्द भएपछि अहिले हातैले पानी प्रशोधनका प्रक्रिया पूरा गर्नुपरेको प्रशोधन केन्द्र सुन्दरीजलका प्रमुख श्रीधर अधिकारी बताउछन् ।

उपत्यकामा वितरण हुने सबैभन्दा बढी पानी सङ्कलन गरिने सुन्दरीजल प्रशोधन केन्द्रका फिटकिरी र चुन हाल्ने यन्त्र बिग्रिएको पनि छ वर्ष भयो । “निकास मिटर नभएकाले कति पानी यहाँ प्रशोधन भएर वितरण हुन्छ भन्ने अभिलेख हामीसँग छैन” – उनले भने ।

खानेपानी महसुल निर्धारण आयोगले विसं २०७० मा लिमिटेडलाई पानी प्रशोधन एवम् वितरण सेवामा सुधार तथा महसुल वृद्धिका नौ बुँदे सर्त दिएको थियो । ती सर्त अझै पूरा नभएको आयोगका अध्यक्ष उपेन्द्रकुमार अधिकारी बताउछन् ।

लिमिटेडका सबै प्रशोधन केन्द्रमा यन्त्र सञ्चालन नहुँदा धारामा धमिलो पानी आएको उपभोक्ताको गुनासो आयोगमा पनि आउन थालेको छ । उपत्यकामा हैजाका रोगी बढे भन्ने समाचार सार्वजनिक भएपछि लिमिटेडलाई पत्र लेखी प्रशोधन प्रक्रियामा ध्यान दिन भनिएको आयोगले जनाएको छ ।

काठमाडौँको वाग्मती र भक्तपुरको महादेव खोला स्रोतबाट सङ्कलन हुने पानी प्रशोधन गर्ने सुन्दरीजल एवम् बाँसबारी प्रशोधन केन्द्रमा पटक पटक अनुगमन गर्दा कुनै पनि यन्त्र नपाइएको अध्यक्ष अधिकारी बताउछन्।

पानी प्रशोधनका लागि सर्वप्रथम भण्डारण गरिन्छ, त्यसपछिको चरणमा यन्त्रले फिटकिरी हालिन्छ । फिटकिरी नहाले पानीमा धमिलोपन जाँदैन । पानी प्रशोधनका लागि कगुलेसन, फ्लोकुलेसन र सेडिमेन्टेसन गरी तीन चरण पार गरिन्छ ।

यसपछिको चरणमा बालुवाबाट फिल्ट्रेसन गरिन्छ । फिल्ट्रेसनपछि पानी सङ्लो हुन्छ । यी प्रक्रिया पार नगरे पानी वितरण प्रणाली जाम भई परिमाणसमेत घट्ने भएकाले पूरा गर्नुपर्ने प्रशोधनको विश्वव्यापी नियम छ ।

निर्देशनालयका प्रमुख तिरेशप्रसाद खत्री विसं २०६८ मा उपत्यकाका पाँच स्थानमा पानी शुद्धीकरणका लागि एसियाली विकास बैंकको ऋण सहयोगमा ‘क्लोरिङ मेसिन’ जडान गरिएको बताउछन्।

“एसियाली विकास बैंकको रु एक करोड १५ लाख ऋण सहयोगमा भक्तपुरको बाँसबारी, ललितपुरका चापागाउँ र सुन्दरीघाट, काठमाडौँका सुन्दरीजल र बालाजुमा पानी शुद्धीकरणका लागि ‘डिस इन्फेक्सन युनिट’ निर्माण गरियो” –उनले भने ।

लिमिटेडले उपत्यकाका अन्य स्थानमा पानी परीक्षण गरी गुणस्तर प्रतिवेदन वेबसाइटमा राखे पनि भक्तपुरको बाँसबारी र सुन्दरीजलको पानीको गुणस्तर राखिएको छैन ।

सुन्दरीजलस्थित वाग्मती नदीको पानी मुहानमा दैनिक पौडी खेल्न युवाको भीड लाग्छ । गर्मीयाममा सहरका धेरै युवा÷युवती सुन्दरीजलको सौन्दर्यमा रमाउन पुग्छन् । सहरमा पानीको अभाव भएकाले नुहाउने र पौडी खेल्नेको भीड सधैँ हुन्छ ।

कति त क्याम्पस बंक गरेर सुन्दरीजल पुगेका हुन्छन् । पौडी खेल्ने र ठूला ढुङ्गामा तस्बिर खिच्ने क्रममा प्रत्येक वर्ष यहाँ आधा दर्जन युवा/युवतीले ज्यान गुमाउने गरेका छन् । तर लिमिटेडले यसलाई निषेध गरेको छैन । पानीको मुहान स्वच्छ राख्नेतर्फ लिमिटेडको ध्यान नगएको अनुगमनमा देखिने गरेको आयोग अध्यक्ष अधिकारीको गुनासो छ ।

विद्युतभार कटौतीले पानी सङ्कलन कम

बालाजुमा विद्युत्भार कटौतीका कारण १५ दिनमा मात्र पानी वितरण हुने गरेको छ । पानी प्रशोधन केन्द्रमा विद्युत्को ‘डेडिकेटेड लाइन’ को व्यवस्था नहुँदा पानी खेर जान्छ ।

वाग्मतीको पानी आधा सिधै सुन्दरीजल प्रशोधन केन्द्रमा ल्याइन्छ भने आधा जलविद्युत् केन्द्रमा विद्युत् निकालेपछि उपत्यकामा वितरणका लागि प्रशोधन केन्द्रमा ल्याइन्छ । ‘डेडिकेटेड लाइन’ को व्यवस्था गर्न सके हिउँदमा पनि चुहावट हुने पानी सङ्कलन गरेर वितरण गर्न सकिन्छ ।

उपत्यकाका सबै सङ्कलन केन्द्रको चुहावट रोक्न सके लाखौँ लिटर थप पानी उपभोक्तालाई वितरण गर्न सकिन्छ । लिमिटेडले उत्पादनको ४० प्रतिशत पानी चुहावट भएको तथ्याङ्क सार्वजनिक गर्ने गरेको छ ।

प्रशोधन केन्द्र (ट्रिटमेन्ट प्लान्ट) भवन जीर्ण

काठमाडौँ उपत्यकामा सबैभन्दा बढी खानेपानी निर्यात गर्ने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड सुन्दरीजलको प्रशोधन केन्द्र ९ट्रिटमेन्ट प्लान्ट०को भवन पनि जीर्ण भएर ढल्ने अवस्थामा पुगेको छ ।

विसं २०२३ मा निर्माण भई तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरागान्धीले उद्घाटन गर्नुभएको यो प्रशोधन केन्द्र भवन ५० वर्षे अवधिमा सानातिना मर्मत मात्र गरेर चलाउँदै आएकाले जीर्ण भएर काम नगर्ने अवस्थामा पुगेको लिमिटेडका महाप्रबन्धक डा महेशप्रसाद भट्टराईले बताए ।

दैनिक दुई करोड १० लाख ९२१ मिलियन० लिटर पानी सुन्दरीजलमै प्रशोधन गरेर वितरण गरिन्छ भने दुई करोड ६५ लाख ९२६. ५ मिलियन लिटर पानी पाइपबाट महाङ्कालचौर शाखा ल्याएर प्रशोधन गरिन्छ ।

प्रशोधित पानी वर्षायाममा निरन्तर वितरण गरिने र सुक्खायाममा दैनिक ४–५ घन्टा वितरण गरिन्छ । अझ पानीको सतह घटेका बेलामा दैनिक २–३ घन्टा पानी निर्यात गरिने गरेको पनि उहाँले जानकारी दिए ।

सुन्दरीजलबाट पानी लगिएका फलामका २० इन्चका दुई वटा पाइप पनि जीर्ण भएर ठाउँ ठाउँमा पानी चुहिने समस्या छ ।

मुख्य पानीको स्रोत रहेको सुन्दरीजलका संरचना जीर्ण हुँदा पानी प्रशोधन र वितरणमा असर पुगेको छ । दुई वर्षअघि नै केन्द्र निर्माणको तयारी गरिए पनि प्राविधिक कारणले रोकियो । आगामी आवको सुरुमै टेन्डर गरी प्रक्रिया सुरु गरिने लिमिटेडले जनाएको छ ।

हाल उपत्यकामा करिब ३५ लाख जनसङ्ख्याका लागि दैनिक ३६ करोड लिटर पानीको माग छ । लिमिटेडले वर्षात्मा १५ करोड लिटर र सुक्खा मौसममा नौ करोड लिटरमात्र आपूर्ति गर्दै आएको छ ।

सञ्चालनमा रहेको पानी प्रणालीमा ४० प्रतिशत चुहावट भए पनि रोक्न नसकिएको कर्मचारीले नै स्वीकार्ने गरेका छन् । एक सय २० वर्ष पुराना पाइपबाट समेत पानी वितरण भइरहेकाले चुहावट हुनु स्वाभाविक भएको महाप्रबन्धक भट्टराईको भनाइ छ ।

जनशक्तिको व्यवस्था नगरिँदा उपभोक्ता अधिकारबाट वञ्चित भएका छन् । संविधानको धारा ४४ मा प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने हक हुनेछ भनी उपभोक्ताको हक सुनिश्चित गरिएको छ ।

सोही धाराको उपधारा(२) मा गुणस्तरहीन वस्तु वा सेवाबाट क्षति पुगेका व्यक्तिलाई कानुन बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ भनी संवैधानिक उपचारको व्यवस्था गरिएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *