बाँकेको खजुरामा स्थापित क्यान्सर अस्पतालद्धारा सेवा प्रारम्भ

khajura

नेपालगन्ज, २९ असार – लामो समयको पर्खाइपछि बाँकेको खजुरामा निर्माण गरिएको क्यान्सर अस्पतालबाट उपचार सेवा सुरु भएको छ ।

प्रखर परोपकार मिसनद्वारा सञ्चालित नेपाल क्यान्सर अस्पताल खजुराले आजदेखि स्याटेलाइट प्रणालीबाट बहिरङ्ग सेवा सुरु गरेको हो । सो प्रणालीअन्तर्गत क्यान्सरका बिरामीका लागि दिवा सेवा, बहिरङ्ग सेवा, ‘फलो–अप’ र परीक्षण सेवा सुरु गरिएको अस्पताल सञ्चालक समितिका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए ।

भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका अन्कोलोजिस्ट सर्जन डा विश्वराम पौडेलको नेतृत्वमा मेडिकल अन्कोलोजिस्ट डा खगेन्द्रराज देवकोटा, रेडियसन अन्कोलोजिस्ट डा रञ्जनभक्त भण्डारीलगायतको चिकित्सक टोली उपचारमा संलग्न रहेको बताइएको छ ।

सरकारको ३०, अस्पतालको ४० र भरतपुर क्यान्सर अस्पतालको ३० प्रतिशत लगानी हुने गरी खजुरामा क्यान्सर अस्पताल सञ्चालनमा ल्याइएको हो । अस्पताल सञ्चालनमा आएपछि मध्य तथा सुदूरपश्चिमाञ्चल क्षेत्रका क्यान्सरका बिरामीलाई उपचारका लागि चितवन र भारतका अस्पतालमा धाउनुपर्ने बाध्यता टरेको छ ।

अस्पतालले एक सय शय्याको स्वीकृति पाएपनि सुरुमा ५० शय्याबाट सेवा प्रारम्भ गरिएको हो । विसं २०६६ असारदेखि निर्माण थालनी गरिएको सो अस्पतालको सम्पूर्ण निर्माण खर्च रु ७५ करोड अनुमान गरिएको छ भने अहिलेसम्म नेपाल सरकारबाट प्राप्त रु २७ करोड तथा जनस्तरबाट सङ्कलित रु पाँच करोड गरी रु ३२ करोड खर्च भइसकेको जनाइएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *