एकै घरका तीनजना मानसिक रोगी, स्याहार्ने एक्ली महिला

- नेपाली हेल्थ
चितवनको कालिका नगरपालिका–७ खोलेसिमलकी देवीमायाँ भट्टराई दुई छोराका साथमा ।
चितवनको कालिका नगरपालिका–७ खोलेसिमलकी देवीमायाँ भट्टराई दुई छोराका साथमा ।

नारायण ढुङ्गाना /चितवन, २८ असार – घरका तीनतिर तीनजना मानसिक रोगी सुत्छन् । एउटाको दिसापिसाब ओच्छ्यानमै हुन्छ । एउटा जेनतेन शौचालय पुग्न सक्छन् । एकजना उज्यालो हुन नपाउँदै घरछाडेर कहाँ पुग्छन् पत्तो हुन्न ।

एउटालाई खोजेर ल्याउँदा अर्कोलाई स्याहार्ने बेला हुन्छ । अर्कोलाई स्याहार्दा तेस्रोलाई खुवाउने बेला हुन्छ । तीन मनोरोगीका व्यवहार तीन थरिका छन् । स्याहार्ने चाँहि एक्ली महिला ।

उनीहरुको स्याहारसुसार र दैनिकी सम्हाल्न कम्ता गाह्रो छैन । यो महाभारतमा एउटी महिला सङ्घर्षमा जुट्छिन् । सुन्दै कहाली लाग्ने त्यो अवस्था प्रत्यक्ष देख्दा नै मुटु भक्कानिन्छ ।

चितवनको कालिका नगरपालिका–७ खोलेसिमलकी महिला देवीमायाँ भट्टराईको बिहान उठेदेखि रातिसम्म यस्तै गरेर बित्छ । आफूभन्दा धेरै तौलका मनोरोगी श्रीमान् र दुई छोरालाई ती महिलाले कसरी सम्हाल्दै आइन् होला रु दशकदेखि उनी यस्तै कष्ट झेल्दै आइरहेकी छिन् ।

सास छउञ्जेल आश भनेझैँ जग्गा बेचेरै भए पनि उनीहरुको उपचारमा उनी सक्रिय भइन् । तर उनीहरुको अवस्था दुईको एक हुन सकेको छैन ।

“धेरै दुःख गरेँ हुन्छ कि भनेर, अहिलेसम्म निको भएन, देवीमायाँले आँसु झार्दै भनिन्, नसक्ने भएपछि डोरीले बाँनेर समेत राखेँ ।”

घरका मियो हुन् ५५ वर्षीय भीमप्रसाद भट्टराई । तर त्यो घरमा मियो भाँचिएझैँ छ । ३० वर्षदेखि उनीमा मनोरोग देखियो । उनको घर छाडेर हिँड्ने बानी परेको छ । गोर्खा आश्राङ गाविस भन्तना गाउँबाट २६ वर्ष अघि चितवन झर्दा बुबामा मात्रै रोग देखिएको थियो ।

पछि विस्तारै छोरा ३१ वर्षीय दीपक भट्टराईलाई १२ वर्ष अघिदेखि र २६ वर्षीय शङ्कर भट्टराईलाई ९ वर्षदेखि मानसिक रोगले छोप्यो । अहिले तीनजना तीनतिर भए । ती एक्ली महिलालाई श्रीमान् र दुई छोरा स्याहार्न कष्ट छ ।

यसरी सुरु भयो रोग

देवीमायाँसँग ९ कक्षामा हुँदा भीमप्रसादले बिहे गरेका थिए । सुरुमा भीमप्रसादले गाउँमा खोप लगाउने काम गरे । त्यसपछि लिखितमा नाम निकालेरै केही समय प्रावि शिक्षक पनि बने । रु एक हजार ८०० तलबले नधानेपछि हुलाकमा मुखिया काम समेत गरे ।

तर २२ दिनको दिनमै उनी घर फर्किएर आए । २२-२३ वर्षको भएपछि उनमा परिवर्तन हुन थाल्यो आफ्नै बुबासँग झगडा गर्ने क्रम सुरु भयो ।

“बाउछोरा झगडा गरेर झन्डै मरेथे, विगत सम्झँदै देवीमायाँले भनिन् । चिर्पटले बुबाको टाउको नै फोर्नुभयो ।” अनि पछि बानी परिवर्तन भएको उनी बताउँछिन् । अहिले उनी घर बस्न रुचाउँदैनन् । एक्लै हिँड्छन् । दिसा चुहिएको थाहा हुँदैन ।

अर्का दुई छोराको सुरुको चरण भने हात हल्लाउने, अम्ला चलाउने झोला बोकेर दौडिने देखियो । समस्या देखिएपछि दीपककी श्रीमतीले छाडेर गइन् । भाइ शङ्कर अविवाहित हुन् । भाइको दिसापिसाब सुतेकै ठाउँमा हुन्छ । यस्ता तीन मनोरोगीको स्याहार्ने काममा एक्ली महिला छिन् ।

जग्गा बेचिन् तर निको भएन रोग । उनको सुरुमा मुख्य बाटोमा पाँच कट्ठा जग्गा थियो । उपचारका लागि पैसा नभएपछि खोलेसिमल बजार नजिकै बाटोमा रहेको दुई कट्ठा जग्गा आठ वर्ष अघि रु एक लाख ४० हजारमा बेचिन् । त्यो रकम सबै उनीहरुकै उपचारमा सकियो ।

त्यसपछि जग्गा कम भयो भनेर उनले सडकमा भेटेको बाँकी तीन कट्ठा बेचेर गाउँमा अलि सस्तोमा फेरि पाँच कट्ठा किनेर सरिन् । उनीहरुको उपचार गर्दागर्दै ऋण बढ्यो । फेरि उनले त्यहाँको दुई कट्ठा जग्गा रु १४ लाखमा बेचिन् । अहिले केही रकम खर्च पनि भइरहेको छ ।

अहिलेसम्म उनीहरुको उपचारमै ५-७ लाख रुपैयाँ गइसकेको छ । तर निको हुन सकेको छैन । छिमेकी परशुराम भट्टराई एक्ली महिलाको कष्ट सम्झनै नसक्ने खालको भइसकेको बताउँछन् ।

काठमाडौँको मानसिक रोगसम्बन्धी उपचार गर्ने ‘कोसिस’ भन्ने संस्थाका विभिन्न सहयोगीले दिएको पैसा खर्च गरिन् । पाटन अस्पतालमा उपचार गरेर दुई वर्ष औषधि खुवाइन् । तीन बर्ष चितवन मेडिकल कलेजको औषधि चल्यो । तर बिरामी उस्तै छन् ।

अहिले पैसा सकिन थालेकाले पुनः भरतपुर अस्पतालमा लगेर उपचार गराउन थालेको परशुराम बताउँछन् । “बीचमा पैसै भएन, केले औषधि गर्ने, गर्नै छाडेँ, देवीमायाँले आँसु पुछ्दै भनिन्, केही नलागेपछि डोरीले बाँधेर राख्नु प¥यो ।” रासस


Facebook Comment


थप समाचार