दैनिक ६० बढी सुत्केरी हुने प्रसूतिअस्पतालमा बेडको अभाव

PRASUTI

कल्पना पौडेल/ काठमाडौँ, २५ असार – एक छेउका कपडाको पोको र पानी अनि अर्कोतिर ठूलो पेट लिएर गाह्रो गर्दै उभिएकी कविता मगर ।डाक्टरले सुत्केरी हुन दिएको समय सरिसकेको छ । रक्तश्राव भएकाले उभिन पनि गाह्रो भएको छ । तर पनि उहाँले बेड नभएकाले भर्ना हुन पाएकी छैनन् ।

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा आएकी उनी बिहान ६ बजेदेखि बस्ने ठाउँ नपाएर उभिरहनु परेको दुखेसो गर्दै थिइन् । उनले भनिन् “आज नै डाक्टरले बोलाउनुभएको थियो । गाह्रो भएर बिहानै आएको यहाँ बेड खाली छैन भनेर भर्ना नै गरेका छैनन् । अहिले दिउँसो ३ बज्यो, बस्ने ठाउँ पनि छैन । निकै गाह्रो भएको छ ।”

नेपालको एक मात्र सरकारी प्रसूति गृहमा बेड नपाएर दुःख पाएका अन्य धेरै गर्भवतीको अवस्था निकै विरक्त लाग्दो देखिन्थ्यो । सुत्केरी हुने समयमा त्यहाँ छिटो र छरितो उपचार होला भनेर त्यहाँ पुगेका गर्भवती महिलाले आफूले त्यहाँ पालो कुर्दासम्म पनि बस्ने ठाउँको सुविधा नहुँदा गर्भवतीको विजोग भएको गुनासो गरे ।

धुन्चे गाविस रसुवाबाट श्रीमतीलाई सुत्केरी गराउन प्रसूति गृह आएका दिनेश लामिछानेले बेड नपाउँदा श्रीमतीलाई निकै गाह्रो भएको बताए ।
उनले भने, “आज चिकित्सकले भर्ना हुनुपर्छ भनेर बोलाएको थियो । चार घन्टा भयो आएको तर अहिलेसम्म बेड खाली छैन बाहिर बस्दै गर्नोस् भनेर भन्छन् । गर्भवतीलाई त बस्ने राम्रो व्यवस्था छैन, कुरुवाको त झन बेहाल छ । चार पाँच घन्टा उभिन निकै गाह्रो भएको छ ।”’

पहिलो पटक सुत्केरी हुन लागेकी आफ्नी बुहारीलाई लिएर अस्पताल आएका भक्तपुरका राजु मिजार एक दिन अघि आउँदा बेड नपाएर घर फर्कन परेको गुनासो गरे ।

घर लगेपछि बुहारीलाई रक्तश्राव हुन थालेपछि उनले पुनः बुहारीलाई बिहानै अस्पताल लिएर आए पनि बेड छैन भनेर पाँच, छ घन्टा बित्दा पनि डाक्टरले वास्ता नगरेको गुनासो गरे ।

उनले भने, “छ घन्टा कुरेरपछि भर्ना लियो तर डाक्टरले राम्रो व्यवहार नगरेकाले निकै दुःख पाएका छौँ । रक्तश्राव भइरहेको छ । २२ गते सुत्केरी हुनुपर्ने समय डाक्टरले दिएका थिए । अहिलेसम्म भएको छैन । केही सोध्यो भने यहाँका नर्स, डाक्टरले झर्किएर जवाफ दिन्छन् ।”

अस्पतालमा बेड नपुगेर बिरामीले सास्ती भोग्नुपरेको स्वीकार्नुहुन्छ प्रसूति गृहका अस्पताल प्रशासक अमरनाथ अमात्य । उहाँले भूकम्पका कारण भवन भत्किएपछि ४१५ बेडको अस्पतालमा अहिले ३६५ जति मात्र बेड उपलब्ध भएकाले बिरामीलाई गाह्रो भएको बताए ।

“भवन भत्किँदा हामीले सबै बेड प्रयोगमा ल्याउन सकेका छैनौँ । भवन नबन्दासम्म अलि गाह्रो नै छ । अरु विकल्प पनि छ्रैन” उनले भने ।

प्रसूति गृहमा उपत्यका र वरपर जिल्ला गरी दैनिक ६० देखि ७० गर्भवती सुत्केरी हुनका लागि आउने गर्छन् भने ओपिडी बहिरङ्ग सेवा लिन आउनेको सङ्ख्या २०० को हाराहारीमा छन् । गत वर्षको गोरखा भूकम्पका कारण अस्पतालको ठूलो भवन भत्किँदा अहिले भवनको अभाव भएकाले सबै शै्यया प्रयोगमा आउन सकेको छैन । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *