स्वास्थ्य चौकी बनेपछि अत्तरपुरवासी खुसी

attarpurकल्पना पौडेल/सिन्धुपाल्चोक, १९ असार – आफ्ना अगाडि सधैँ टेलिभिजनमा देखेका र अरूबाट नाम सुनेका चिकित्सक डा. भगवान कोइरालालाई प्रत्यक्ष देख्दा अत्तरपुर गाविसका जनता निकै खुसी देखिन्थे ।

भूकम्पले भत्किएको स्वास्थ्य चौकी भवन पनि उनको पहलमा बनेको भन्ने सुन्दा उनलाई भगवानकै रूप मान्नेको पनि कमी थिएन । सरल र हँसिला स्वभावका डा. कोइरालाबाट आफूहरूले ठूलो अपेक्षा गरेको गाउँलेले बताए ।

एक वर्षअघि भूकम्पले स्वास्थ्य चौकी भत्काउँदा सामान्य उपचारका लागि अत्तरपुरका जनतालाई निकै कष्ट भएको र भवन बनाउन पहल गरेर डा कोइरालाले ठूलो काम गरेको बताउँदै थिइन् स्थानीय बासिन्दा पूजा लामा ।

लामाले आफ्नो बच्चा र घरका ज्येष्ठ सदस्य बिरामी हुँदा निकै दुःख पाएको बताइन्। ‘‘काठमाडौँबाट यहाँसम्म आएर डाक्टर’सावहरूले स्वास्थ्य भवन बनाइदिनुभयो । अब हामीलाई ठूलो राहत भयो – उनले भनिन्।

विगत १५ वर्षदेखि अत्तरपुरमा रही जनताको सेवा गरिरहेका सिनियर अहेब श्रीनारायण ठाकुरले भवन नहुँदा खुला चौरमा जनतालाई सेवा गर्नुपरेको बाध्यता सुनाए ।

उनले त्रिपाल पनि नभएको सम्झँदै खुला चौरमा उपचार गर्ने र भत्किएको भवनभित्र रहेको औषधि डराइ डराइ झिक्दै त्यहाँका जनतालाई उपचार गरेको स्मरण गरे । उनले भने – ‘‘सक्ने बिरामीको उपचार गरे पनि नसक्ने बिरामीलाई बाहिर पठाउने गर्थें । अब यहाँ सुत्केरी गराउने सेवा सुरु गर्न पाए हुन्थ्यो । त्यसैअनुसारको सरकारले सुत्केरी गराउने दक्ष स्वास्थ्यकर्मी व्यवस्था गरिदिए हुन्थ्यो भन्ने मेरो चाहना छ ।

ठूलो अस्पताल भनेकै स्वास्थ्य चौकी भएको बताउँदै अर्का बासिन्दा युवराज खरेलले स्वास्थ्य चौकी भएपछि यहीबाट सुत्केरी गराउने सेवा पनि सञ्चालन गर्न आग्रहगरे।

attarpur1

शनिबार अमेरिका नेपाल चिकित्सक प्रतिष्ठानले बनाएको नयाँ प्रिफ्याव भवन उद्घाटनमा भेला भएका अत्तरपुरवासी निकै खुसी देखिन्थ्ये । प्रतिष्ठानले अत्तरपुरलगायतका ११ गाविसमा स्वास्थ्य चौकी भवन बनाई सरकारलाई हस्तान्तरण गरेको छ ।

प्रतिष्ठानका सदस्यसमेत रहनुभएका वरिष्ठ चिकित्सक डा. कोइरालाले सबैका कुरा सुनेपछि भवनमा आवश्यक पर्ने अन्य स्वास्थ्य सामग्री र उपकरणका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले भने – ‘‘आवश्यक पर्ने अन्य कुराका लागि हामी पहल गर्नेछौँ । तपाईंहरूले हाम्रो मोबाइल नम्बर पनि राख्नुस् । केही ठूलो समस्या भयो केही कुरा भन्न मन लाग्यो भने हामीलाई फोन गर्नुस् । हामीले सकेको सहयोग गर्नेछौँ ।’’

प्रतिष्ठानले चौतारा, भीमटार, तौउथली, हाइबुङ, सिपापोखरी, भोटसिपा, अत्तरपुर, पिस्कर, पेट्कु, लिस्टीकोट, ठूलो सिरुबारी र इरर्खु गाविसमा स्वास्थ्य चौकी निमार्ण गरेको अध्यक्ष डा ज्योति भट्टराईले जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयका प्रवत्ता तथा योजना प्रमुख महेन्द्रप्रसाद श्रेष्ठले भूकम्पले अतिप्रभावित १४ जिल्लामा ७०० स्वास्थ्य संस्था क्षतिग्रस्त भएकामध्ये ३०० आशिक, ४०० पूर्ण क्षति भएको जानकारी दिए ।

जिल्ला जनस्वास्थ्य कार्यक्रयका प्रमुख डा सुरेन्द्र चौरसियाले सिन्धुपाल्चोकका ८० स्वास्थ्य संस्थामध्ये ६३ पूर्ण क्षति भएका बताए । बाह्र वटा भवनमा आंशिक क्षति र पाँच वटा भवन क्षति नभएको अवस्थामा रहेको उनले जानकारी दिए । उनले हाल पूर्ण क्षति भएका ६३ मध्ये ३२ भवन प्रिफ्याव मोडलमा बनिसकेको र केही बन्ने क्रममा रहेको बताए।  – रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *