अख्तियारले नियमविपरीत केयुको प्रवेश परीक्षा सञ्चालन गरेको भन्दै छ जना पूर्वउपकुलपतिद्धारा छानवीनको माग

ku
काठमाडौँ, १८ असार – छ जना पूर्व उपकुलपतिहरुले काठमाडौँ विश्वविद्यालयमा भएको स्नातकोत्तर तहको प्रवेश परीक्षामा अख्तियारले नियमविपरित हस्तक्षेप गरेको भन्दै संसदीय छानवीन समिति गठन गर्न माग गरेका छन् ।

प्रश्नपत्र चुहावट भएको सूचना आएको भन्दै गत महिना सञ्चालित परीक्षाका बेला अख्तियारको नेतृत्वमा गएको विज्ञ टोलीले रातारात नयाँ प्रश्नपत्र तयार गरी परीक्षा लिएको थियो । सो परीक्षाको नतिजा पनि तत्कालै निकालेको थियो ।

पूर्वउपकुलपतिहरु महेशकुमार उपाध्याय, केदारभक्त माथेमा, कमलकृष्ठ जोशी, नविनजङ शाह, गोविन्दप्रसाद शर्मा र त्रिरत्न मानन्धरले शनिबार सयुक्त विज्ञप्ती निकाली छानवीनको माग गरेका हुन् ।

उनीहरुले जारी गरेको विज्ञप्तीमा केयूको प्रवेश परीक्षा अख्तियारले सञ्चालन गरेको विषयले हाल निकै चर्चा पाएको उल्लेख गर्दै विज्ञप्तीमा विश्वविद्यालयको परीक्षामा गरिएको कथित हस्तक्षेपले यसको स्वायत्ततामा ठूलो अतिक्रमण भएको उल्लेख छ । यस्तै उक्त परीक्षा बोर्डको एकजना सदस्यको छोराले परीक्षा परिणाममा प्रथम स्थान हासिल गरेको चर्चाले समेत परीक्षा सम्बन्धी अन्तर्राष्ट्रिय प्रचलन र मान्यताको उलंघन भएको जनाइएको छ ।

हाल यसबारे सम्बन्धित निकायबाट विरोधाभासपूर्ण तर्कहरू आइरहेकोले वास्तविकताको खोजी हुनु जरुरी रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ । ‘यस्ता विसंगतिका गम्भीर क्रियाकलापहरूबाट शिक्षा क्षेत्र तहस–नहस हुने र सम्बन्धित निकायहरूले जनताको विश्वास गुमाउने कुरा निर्विवाद छ,’ विज्ञप्तीमा पूर्व उपकलपतिहरुले भनेका छन, ‘यस प्रकारका अति अशोभनीय एवं असामाजिक क्रियाकलापहरूले कुनै हालतमा कतैबाट प्रश्रय पाउनु हुँदैन भन्ने हाम्रो ठहर छ ।’

‘वर्तमान घटनाको सत्य–तथ्य बुझ्न र जनतालाई वास्तविक सूचना उपलब्ध गराउन संसदीय छानबिन टोली अबिलम्ब गठन गर्न हामी पूर्व उपकुलपतिहरु माग गर्छौं,’ विज्ञप्तीमा भनिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *