गुणस्तरीय आयुर्वेद औषधि निर्माणमा जीएमपीको आवश्यकता किन ?

- नेपाली हेल्थ
डा. राजेन्द्र गिरी
डा. राजेन्द्र गिरी

आयुर्वेद बिज्ञानको चार महत्वपूर्ण पक्ष मध्ये गुणस्तरीय औषधि पनि एक हो । गुणस्तरीय औषधिको कुरा गर्दा गुणस्तरीय जडिबुटी अनिवार्य आवश्यकता भित्र पर्छ । हामीसँग भएका धेरै खालका सम्भावनाहरुमध्ये जडिबुटी एक हो ।

विविध हावापानीको भूगोलमा बाँडिएकोले हिमालदेखि तराईसम्म विभिन्न जाति र प्रजातिका हजारौँ जडिबुटी प्राकृतिक रुपले नै विद्यमान छन् । हामी सबैले “हरियो बन नेपालको धन” एवं “जलश्रोत पछिको दोस्रो सम्पदा जडिबुटी” भन्दै आइरहेका छौँ ।

नेपालमा सातसय भन्दा बढी प्रजातिका जडिबुटी पाइन्छन । करिव नेपालबाट युरोपका विभिन्न देशहरुमा २० भन्दा बढी प्रकारका जडिबुटीजन्य सुगन्धित तेल र जडिबुटीजन्य उत्पादनहरु निर्यात हुने गरेको पाइन्छ ।

जडिबुटीजन्य उत्पादित औषधिहरुको माग उच्चरहेता पनि प्रयोगशाला नहुदा र उपयुक्त प्रविधि र व्यवस्थापन तथा परीक्षण एवं प्रमाणिकरणको सुनिश्चितता र संस्थागत समन्वय नभएका कारण स्वदेशी जडिबुटीहरुवाट बनेका उत्पादनहरु बिदेशी बजारमा पहुँच नभएको अवस्था छ ।

गुणस्तरीय आयुर्वेद औषधिका वारेमा निति तथा कार्यक्रम 

राष्ट्रिय स्वास्थ्य निति २०७१ मा देशमा उपलब्ध जडीवुटीको व्यवस्थापन र उपयोग गर्दै आयुर्वेद चिकित्सा प्रणालीको विकास तथा प्रचलित अन्य पूरक चिकित्सा प्रणालीहरूको संरक्षण एवं व्यवस्थित विकास गर्नको लागि स्थानीय रूपमा उपलब्ध जडीबुटीहरूको संरक्षण र समुचित प्रयोगका लागि विशेष योजना तथा कार्यक्रम सहित निजी तथा सरकारी आयुर्वेदिक औषधी उत्पादकहरूको उत्पादनको गुणस्तरीयताको सुनिश्चित गर्दै उत्पादन वृद्धि र व्यवसायीकरणमा जोड दिइनेछ ।” भन्ने रणनीति लिइनेछ भनिएको छ ।

आयुर्वेद स्वास्थ्य नीति —२०५२ मा देशमा स्थापित वा स्थापना हुने सरकारी एवं गैरसरकारी क्षेत्रका आयुर्वेद औषधि निर्माण कम्पनीहरुलाई “असल औषधि निर्माण संहिता (Good Manufacturing Practice – GMP) को आधारमा गुणस्तरयुक्त औषधि निर्माणमा प्राविधिक सहयोग एवं प्रोत्साहित गरी आयातमा कमी गर्दै निर्यात प्रवर्धन गरिनेछ ।

सो कार्यका लागि औषधि व्यवस्था विभाग एवं सम्बद्ध सरकारी निकायहरुसँग समन्वय कायम गरिनेछ भनिएको छ । यस आ.ब देखि नेपाल सरकारबाट सिंहदरवार बैद्यखानामा आयुर्वेद औषधि समूचित उत्पादन प्रक्रिया अपनाईने र यस आर्थिक बर्षमा बजेटमा पनि जिएमपि कुशल औषधि निर्माण प्रक्रियाका लागि नेपाल सरकारले केहि बजेट विनियोजन गरेको छ ।

किन आवश्यक छ ?

औषधि उत्पादन र विरामीको सामान्य उपचारमा करिव चार सताब्दि देखि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको सिंहदरवार बैद्यखाना विकास समितिको रुपमा दूई दशक देखि आयुर्वेद औषधि उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ ।

यस समितिका औषधिहरु उत्पादन गर्दा परापुर्वकाल देखि शास्त्रिय विधि अनुसार र केहि तरकिवको आधारमा औषधि निर्माण गरिदै आएको पाइन्छ । केहि आयुर्वेदिक औषधिहरू जस्तै शिलाजित, मिमिया च्यवनप्रास लगायत अन्य पेटेन्ट औषधिहरूको स्पष्ट माग बढी छ ।

आयुर्वेद औषधि प्रतिको आकर्षण र वैद्यखानाबाट उत्पादित औषधिहरु प्रति जनताहरुको विश्वास बिगत देखि हालसम्म रहदै आइरहेको छ । उक्त विश्वास र उत्पादनको लोकप्रियता कायम राख्न उपभोक्तामा विस्वाशनियता कायम राख्न आधुनिकिकरण गर्न अति नै आवश्यक छ ।

यसको अर्थ यो होइन की अहिले सम्म हामिले निर्माण गरेका आयुर्वेद औषधि कम गुणस्तर छन । महत्वपूर्ण कुरा के हो भने हाम्रा उत्पादन भएका औषधिहरु अन्तराष्ट्रिय मापदण्ड भित्र पर्न जरुरी छ ।

जीएमपीका बारेमा

कुनै पनि औषधिको गुणयुक्त, असरयुक्त र जनसुरक्षित हुनपर्ने पहिलो सर्त हो । कुशल औषधि निर्माण प्रक्रिया (Good Manufacturing Practices) भनेको जे लेखिन्छ सो अनुसार काम गर्ने र काम गरे अनुसारको अभिलेख राख्ने गुणस्तरीय प्रणाली हो ।

औषधिको गुण र स्तरियताको प्रश्न हरेक व्याचसित सम्बन्धित रहन्छ र औषधिको हरेक व्याचको गुण र स्तरीयताको प्रत्याभूति प्रत्येक उपभोक्तालाई दिनु अनिवार्य छ त्यसका लागि निम्न बिषयको सुनिश्चिता हुनुपर्छ ।

स्वच्छता, औषधी उत्पादनमा प्रयोग गरिएको विधि,उपकरणको एकरुपता र स्तरियता, गुणस्तर बारे उपभोक्ताको सिकायतको व्यवस्था, औषधी उत्पादन प्रक्रियमामा खराबी भए फिर्ता झिकाउने व्यवस्था, आन्तरिक निरिक्षणको व्यवस्था, दक्ष जनशत्ति र तालीम, भवन र कोठाको स्तरीयता, स्तरीय उपकरणहरु उत्पादन तथा प्याकिङ्गमा गुणस्तर, स्तरीय अभिलेख प्रणाली जडिबुटीहरुको सक्रियतत्व र गुणस्तर परिक्षणका बिधि र तरिका हरु सहि नतिजा दिने खालका छन कि छैनन आदी महत्वपूर्ण हुन्छन ।

आयुर्वेदिक औषधि उत्पादन गर्दा अभिलेख व्यवस्थापन महत्वपूर्ण हुन्छ । कुनै व्याच स्तरिय रुपमा उत्पादन गरिएको छ भन्ने प्रमाणित गर्न सक्नुपर्छ । माथि उल्लेखित बुँदाहरु उत्पादन गर्दा पूर्ण रुपमा पालना गरिएको छ कि छैन ? र कच्चापदार्थ र तयारी औषधीको गुणस्तर उपयूक्त तरिकाले परिक्षण गरिएको छ कि छैन ? सो बिषय महत्वपूर्ण हुन्छ ।

चूनौतिहरु

जडिबुटीमा आधारित औषधि निर्माण गर्न विश्व स्वास्थ्य संगठनले विकास गरेका सिद्धान्त तथा निर्देशिकाहरू हाम्रा परिप्रेक्ष्यमा केहि परिमार्जन गरी अवलम्बन गर्नु आवश्यक छ ।

नेपालका उत्पादकहरुले नयाँ प्रविधि र उपकरण अवलम्वन गरि बिश्व स्वास् थ्य संगठनले निर्धारण गरे बमोजिम (जि.एम.पी.) कुशल औषधि निर्माण प्रक्रिया लागू गर्न नयाँ चुनौती थपिएको छ । आयुर्वेद क्षेत्रका उद्योगहरुमा समय सापेक्ष्य प्रविधि,उपकरण नहुनाले औषधी व्यवस्था विभागको डब्लुएचओ जि.ए.पी अनुसरण गर्नका लागि चुनौती त छन । ति चुनौतिहरु निम्नानुसार छन ।

जडिबुटी, खनिज र प्राणीको स्रोतमा आधारित आयुर्वेद औषधिको उत्पादन र गुणस्तर नियन्त्रण गर्न सजिलो छैन र धेरै चुनौती पार गर्न जरुरी छ । कुशल औषधी निर्माण गर्ने प्रक्रिया राम्रो भएपनि द्रव्यहरु उपयूक्त परिमाणमा राखिएको सुनिश्चिता गर्न गाह्रो हुन्छ ।

आयुर्वेदिक औषधि उत्पादनमा कच्चा पदार्थको रुपमा प्रयोग हुने जडिबुटी सही रुपले पहिचान गरी परम्परागत रुपमा प्रशोधन गर्ने परम्परा चलिरहेको छ । त्यसमा अत्यधिक नाफामूखि कामले गर्दा सही जडिबुटीको उपलब्धता र गुणस्तरीयतामा प्रश्न उठेको छ ।

जडिबुटी ठेकेदारहरुले प्राय जंगल वा कृषकहरुबाट संकलन गर्ने भएकोले अन्य बाहय बस्तुहरुको जस्तै जिवाणु , ढुसी अन्य रसायन मिसावट हुने संभावना बढी हुन्छ । जडिबुटी विभिन्न ठाँउबाट संकलन गर्नुपर्ने हुनाले एकरुपता नहुन सक्छ । यसका लागि असल कृषि र संकलन प्रक्रिया (Good Agricultural Collection Practices) हुनु पर्छ ।

जव सम्म आयुर्वेद औषधि उत्पादन गर्ने तल्लो तह देखि व्यवस्थापनको माथिल्लो तहसम्मका सवैमा यसको ज्ञान र सिप बिकास गर्ने प्रतिवद्धता हुदैन तवसम्म जिएमपिको पूर्वाधार भएर पनि हुदैन । यसलाई अवलम्बन गर्नकालागि अथक परिश्रम र स्रोत साधनको आवश्यकता पर्छ ।

समितिले के गर्‍यो  ?

गुड म्यानुफ्याक्चरिङ प्राक्टीस (जि.एम.पी) मा जान पुर्ननिर्माण कार्यका लागि नेपाल सरकारको अनुदान सहयोगमा भवन तथा संभार डिभिजन कार्यालय सम्झौता गरियो भने ईन्जिनियरिग र जि.एम.पि. बिज्ञ फार्मासिष्ट सम्मिलित परामर्शदातालाई बिश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार डिजाईन, ड्रईङ्ग, र अनुमानित लागत अनुमान तयार गरी परामर्शदाताले दिएको डिजाईन ड्रईङ्ग स्विकृतको लागि औषधि ब्यबस्था बिभागबाट साबिकको भबनलाई जि.एम.पि.अनुसार स्तरोन्नतिको लागि नक्सा स्विकृत गराई भबन निर्माण तथा सम्भार डिभिजन कार्यालयले उक्त स्विकृत नक्सा अनुसार लागत अनुमान भई पुननिर्माण कार्यको लागि बोलपत्र आहवान गरि कार्यारम्भ भइसकेको छ ।

यसका लागि करिव २५ करोड आवश्यकता छ र ५ बर्ष भित्र जि.एम.पि स्तरिय उत्पादन (खासगरि चूर्ण तथा टयावलेट) बजारमा ल्याउने लक्ष्य राखिएको छ । यसका लागि जिएमपि अनुसारको सुधार र साथसाथै अन्य उत्पादन, बिक्री, बजार व्यवस्थापनमा योजनाबद्ध रुपमा सुधार गर्नुपर्छ ।

पी.पी.पी. को अवधारण अनुसार सार्वजनिक निजि साझेदारिमा गर्न सकिने कामहरूको अध्ययन गर्दै आवश्यक कार्य अगाडि वढाउने र आयुर्वेद औषधिहरुको अनुसन्धान तथा विकास कार्यक्रमहरु अगाडी बढाउन पनि जरुरी छ ।

आयुर्वेद औषधिहरुको अनुसन्धान, गुणस्तरीय उत्पादन र आमजनतामा सर्वसुलभ हुने गरि विक्रि वितरणको रणनीति अनुसार दृढ भएर लाग्नु जरुरी छ । यसका लागि सरकारको नीतिगत तथा आर्थिक सहयोग र सिङ्गो विकास समिति परिवारको कडा परिश्रम र लगनशीलता भएमा छोटो समयमै वैद्यखानाले आफनो लक्ष्य तथा उद्देश्य प्राप्त गर्न सक्ने कुरामा द्धिविधा छैन ।

  • डा. गिरी सिंहदरबार वैद्यखाना विकास समितिका प्रबन्ध-निर्देशक हुन् ।

थप समाचार


Facebook Comment