नेपालमा थपिन्छन् बार्षिक दुई हजार चिकित्सक

doctor clip

कल्पना पौडेल/काठमाडौँ, १७ असार नेपालमा हरेक बर्ष औषत दुई हजार चिकित्सक उत्पादन हुने गरेका छन् । स्वदेश र विदेशमा गई चिकित्साशास्त्र अध्ययन पुरा गरि आउने चिकित्सकको संख्या गणना गर्दा यस्तो पाइएको हो ।

नेपाल मेडिकल काउन्सिलले चिकित्सकको संख्या बर्षेनी बढ्दै गएको समेत जनाएको छ । काउन्सिलकी प्रशासकीय अधिकृत अनिता लामाले हरेक वर्ष चिकित्सकको बढ्दो उपस्थितिले यो सङ्ख्या बढ्दै गएको बताइन् । तर माथि उल्लिखित चिकित्सकले काउन्सिलमा चिकित्सक दर्ता प्रमाणपत्रको परीक्षा दिँदा भने कहिले ६० र कहिले ४० प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण हुने गरेको पाइएको छ ।

प्रशासकीय अधिकृत लामा भन्छिन्, “यति धेरै सङ्ख्यामा अनुत्तीर्ण हुने कुरा राम्रो होइन । अझ देशभित्र पढेकाभन्दा बाहिर पढेर आएका बढी अनुत्तीर्ण हुने गरेको पाइएको छ । हामीले यसरी धेरै विद्यार्थी अनुत्तीर्ण हुनुको कारण खोजी गर्दैछौँ ।” उनले परीक्षा दिने विद्यार्थीमा कति त ३३ पटकभन्दा बढी पटक अनुत्तीर्ण भएकाले नक्कली विद्यार्थी भेटिएको उल्लेख गरिन् । त्यसैबेलादेखि नक्कली प्रमाणपत्रधारी चिकित्सकको पनि कुरा छानबिनको दायरामा आएको उनले बताइन् ।

काउन्सिलका रजिस्ट्रार दिलीप शर्माले अहिले भइरहेको नक्कली प्रमाणपत्रधारी चिकित्सक छानबिनबाट नक्कली परीक्षार्थी पनि कम हुने विश्वास व्यक्त गरे । काउन्सिल वर्षमा तीनपटक एमबिबिएस अध्ययन गरेका विद्यार्थीका लागि चिकित्सक दर्ता प्रमाणपत्रको परीक्षा लिँदै आएको छ भने वर्षको दुईपटक विशेषज्ञताका लागि अध्ययन गरेका विशेषज्ञ परीक्षा लिँदै आएको छ ।

१७ हजार बढी दर्तावाल चिकित्सक,  साढे ४ हजार विशेषज्ञ

स्थापना भएको २०२० सालदेखि हालसम्म काउन्सिलमा एमबिबिएस स्नातक गरेका १७ हजार २६५ चिकित्सकले चिकित्सक दर्ता प्रमाणपत्र लिएका छन् । तीमध्ये ११ हजार २४४ पुरुष र ६ हजार २१ महिला चिकित्सक दर्ता भएका छन् ।

नेपालमा विभिन्न विषयमा विशेषज्ञता हासिल गरेका चार हजार ४८६ विशेषज्ञ चिकित्सक दर्ता भएका छन् जसमा तीन हजार ३०४ पुरुष र एक हजार १८२ महिला विशेषज्ञ छन् । यो सन् २०१५ सम्मको तथ्याङ्क हो । सन् २०१५ मा एमबिबिएस (स्नातक) र एमडी, एमएस, र एमडिएस (स्नातकोत्तर) अध्ययनका लागि एक हजार २६६ विद्यार्थी विभिन्न देश गएको प्रशासकीय अधिकृत लामाले जानकारी दिइन्।

बंगलादेशमा गई एमबीबीएस गर्ने सबैभन्दा बढी

विदेशमा गई एमबिबिएस अध्ययन गर्न जानेमध्ये बङ्गलादेशमा सबैभन्दा बढी ५९४ विद्यार्थी छन् । चीनमा १६०, फिलिपिन्समा ७४, भारतमा १९, इजिप्टमा १३, रुसमा १८, पाकिस्तानमा १३, किर्गिज्स्तान र गुयानामा एकएकजना विद्यार्थी छन् ।

त्यसैगरी, एमडी, एमएस र एमडिएस (स्नातकोत्तर) पढ्न गएकामध्ये सबैभन्दा बढी चीनमा १९५, फिलिपिन्समा ५८, बङ्गलादेशमा ३४, थाइल्यान्डमा दुई, अस्टे«ेलियामा दुई, जापानमा पाँच, युकेमा एक, युएसएमा आठ, भारतमा ४४, किर्गिज्स्तानमा चार, पाकिस्तानमा चार, इजिप्टमा १३, कोरियामा एक, इरानमा एक र बेल्जियममा एकजना गरी ३७३ जना चिकित्सक स्नातकोत्तरका लागि विभिन्न देशमा छन् ।

नेपालमा विभिन्न मेडिकल कलेजमा एक हजार ९०५ जना विद्यार्थीले एमबिबिएस अध्ययन गरिरहेका छन् । हालसम्म नेपालबाट सात हजार १९९ जना विद्यार्थीले बाहिरी देश गई एमबिबिएस अध्ययन गरेका छन् भने एमडी, एमएस र एमडिएस (स्नातकोत्तर) दुई हजार २६६ जनाले विदेशमा गई अध्ययन गरिसकेका छन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *