बैतडीमा १७० जना एचआइभी सङ्क्रमित

hivविनोदसिंह विष्ट/बैतडी, १६ असार – बैतडीमा १७० जना एचआइभी सङ्क्रमित रहेको पाइएको छ । पछिल्लो सर्वेक्षणबाट जिल्लाभरिमा १७० जनामा एचआइभीको सङ्क्रमण पत्ता लागेको हो ।

यसमा ८४ पुरुष र ८६ जना महिला रहेका छन् । तीमध्ये १८ जना बालबालिका रहेका एचआइभीको क्षेत्रमा काम गर्दै आएको संस्था बहुउद्देश्यीय विकास समाज कार्यक्रमका संयोजक लोकेन्द्र पन्तले जानकारी दिए । 

“एचआइभी सङ्क्रमितमध्ये ११६ जनाले मात्र एआरटी औषधि लिइरहेका छन्,” उनले भने  – “५४ जना नयाँ सङ्क्रमित पत्ता लागेका छन् ।” नयाँ पत्ता लागेकाले एआरटी औषधि सुरु नगरेको बताइएको छ ।

एआरटी औषधि ११६ मध्ये ८४ जनाले मात्रै नियमित रुपमा सेवन गरिरहेका छन् । औषधि सुरु गरेकामध्ये १७ जनाको मृत्यु भइसकेको र दुई जना हराइरहेका बहुउद्देश्यीय विकास समाजले जनाएको छ ।

यस्तै, नौ जनालाई बैतडीबाट अन्यत्र स्थानान्तरण गरिएको बताइएको छ । पाँच जना सङ्क्रमितलाई भने औषधि रोकिएको कार्यक्रम संयोजक पन्तले बताए  । उनले  भने, “औषधिको असर देखा पर्न थालेपछि उनीहरुलाई औषधि रोकिएको हो ।”

एचआइभी सङ्क्रमितमा अहिले विभिन्न खालका समस्या रहेका स्वयम् सङ्क्रमितहरुले बताएका छन् । एआरटी औषधिसँगै पोषिलो खानेकुराको आवश्यकता पर्ने भएको भए पनि सङ्क्रमितले पोषिलो खानेकुरा नपाएको बताएका छन् । सङ्क्रमितको आर्थिक अवस्था ज्यादै नाजुक भएकाले जीविकोपार्जन गर्न धौधौ भएको बैतडी प्लसका अध्यक्ष पद्मसिंह मौनीले बताए ।

राज्यका निकायहरु मौन हुँदा आफूहरु समस्यामा परेको भन्दै उनले  भने, “सङ्क्रमितमध्ये धेरैजसो महिला एकल भएकाले झन् समस्या रहेको छ ।”

यस्तै सङ्क्रमित बालबालिकालाई पनि यस्तै समस्या रहेको छ । बालबालिकाको शिक्षा, स्वास्थ्य र पोषणमा सहयोग पु¥याउन एमपिडिएस र सेवक मित्र नामका गैरसरकारी संस्थाले सहयोग गरिरहेको भए पनि त्यो पर्याप्त भने हुन सकेको छैन ।

अठार निर्दोष बालबालिका पनि सङ्क्रमित

बैतडीमा १८ जना निर्दोष बालबालिका एचआइभी सङ्क्रमित रहेका छन् । एचआइभी सङ्क्रमित आमाबुबाबाट जन्मेका ती बालबालिकाले अहिले निकै कष्ट झेलिरहनुपरेका छन् ।

सानै उमेरमा एआरटी औषधि सेवन गरेर बालबालिकाले आफ्नो ज्यान जोगाइरहेका छन् । एचआइभी सङ्क्रमित बालबालिकालाई बैतडीमा बहुउद्देश्यीय ग्रामीण विकास समाजले प्रतिमहिना रु एक हजारका दरले सामाजिक सुरक्षा अनुदान दिइरहेको छ । बालबालिकाको शिक्षा, स्वास्थ्य र पोषणमा सजिलो होस् भन्ने हेतुले सामाजिक सुरक्षा अनुदान दिइरहेको बहुउद्देश्यीय ग्रामीण विकास समाजका कार्यक्रम संयोजक पन्तले बताए ।

जिल्लामा १८ जना एचआइभी सङ्क्रमित बालबालिका रहेकामा १४ जनालाई सामाजिक सुरक्षा अनुदान उपलब्ध गराइएको छ । उनले भने, “दुई जनाको परिवारले अनुदान लिन मानेको छैन ।”

एचआइभी सङ्क्रमित बालबालिकाको उपचारका लागि पनि संस्थाले सहयोग गरिरहेको समेत उहाँले बताउनुभयो । अहिले पनि एचआइभी सङ्क्रमित बालबालिकालाई समाजमा हेर्ने दृष्टिकोण फरक रहेकाले समस्या भएको छ ।

सङ्क्रमितमाथिको भेदभाव कायमै

एचआइभी सङ्क्रमितलाई समाजमा अझै पनि भेदभावको दृष्टिकोणले हेर्ने गरिएको छ । एचआइभी सङ्क्रमितका समस्या र अपनाउन सकिने उपायका बारेमा राज्यका निकाय मौन बसेकाले भेदभाव कायमै रहेको बैतडी प्लसका अध्यक्ष मौनीले बताए ।

“जिल्लाभरि रहेका सङ्क्रमितहरु विभिन्न समस्या खेपिरहेका छन्,” उनले भने, “सरकारका निकायहरुले एचआइभी सङ्क्रमितका लागि विशेष कार्यक्रम सञ्चालन गर्नुपर्दछ ।”

कतिपय ठाउँमा अझै पनि एचआइभीका बारेमा आवश्यक ज्ञान नभएकाले सङ्क्रमितहरु खुलेर बाहिर आउन सकेका छैनन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *