सुर्तीजन्य पदार्थको अनुगमन

churot

भक्तपुर, १४ असार –सरकारी कार्यालय, विद्यालय एवम् सार्वजनिकस्थल वरपर पटक पटक सुर्तीजन्य पर्दाथको बिक्री वितरण गरेको गुनासो बढेपछि सोमबार बजार अनुगमन गरिएको छ ।

कुनै पनि सार्वजनिकस्थलको १०० मि वरपर सुर्तीजन्य पदार्थको बिक्री वितरण गर्न नपाउने ऐन कानुन मिचिएपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा अनुगमन गरिएको हो । सहायक प्रजिअ लक्ष्मीदेवी होमागाईंको नेतृत्वमा गएको अनुगमन टोलीले पसलैपिच्छे भेटिएका सुर्तीजन्य पदार्थ जफत नगरी यतिकै छाडेको छ ।

यसअघि गरिएको यस प्रकारको अनुगमनमा पनि ऐन विपरीत सुर्तीजन्य पदार्थ बिक्री गर्ने विरुद्ध कुनै कारबाही नभएपछि अनुगमनमा भक्तपुरका सरकारी कार्यालय, विद्यालय, पर्यटकीय क्षेत्र र सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ बिक्री गरेको पाइएको हो ।

पद्म उमावि नजिकै रहेको जियाको रिफेसिङ स्टोर र जमुना श्रेष्ठको पसलबाट बरामद भएका विभिन्न ब्रान्डका एक बाकसभन्दा बढी सुर्तीजन्य पदार्थ पनि जफत नगरी त्यत्तिकै छाडिएको छ ।

जिल्ला प्रशासन कार्यालय नजिकैदेखि दरबार क्षेत्र हुँदै दूधपाटी, भक्तपुर अस्पतालसम्मका कोल्ड स्टोर, किराना पसलमा सुर्तीजन्य पदार्थको बिक्री वितरण भए नभएको अनुगमन गरिएको थियो ।

अनुगमन टोलीले दरबार क्षेत्र आसपास नौ तथा भक्तपुर अस्पताल वरपर छ पसलमा चुरोट, सुर्ती, गुट्खा लगायत सुर्तीजन्य पदार्थ बिक्री वितरण गरिएको भेटेको अनुगमन टोलीका संयोजक होमागाईंले बताए ।

चेतावनी दिएर छाडिएकाले पुनःबिक्री वितरण गरेमा ऐनअनुसार दण्ड सजाय गरिने जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख यशोदा अर्यालले बताए ।

यसअघि भएका यस्ता अनुगमनमा पनि ऐन विपरीत सुर्ती जस्ता पदार्थ बिक्री गर्नेलाई अहिलेसम्म कुनै कारबाही नगरिएकाले अनुगमन नाटक मात्रै भएको दूधपाटीका सर्वसाधारणले आरोप लगाएका छन् ।  – रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *