सर्पदंश औषधि उत्पादन गर्न कानुनको खाँचो

snake bite

इटहरी, ६ असार –  सर्पदंश उपचारका लागि आवश्यक औषधि उत्पादनका लागि आत्मनिर्भर बनाउन निजी क्षेत्रको प्रयासलाई आवश्यक कानुन बनाएर नेपाल सरकारले सहयोग गर्नुपर्नेमा जोड दिइएको छ ।

एन्टिस्नेक भेनम सेरुम रिसर्च एण्ड मेनुफ्याक्चरिङ प्राइभेट लिमिटेड महेन्द्रनगर, सुनसरीका सञ्चालकहरुले यस्तो बताएका हुन् । हरेक वर्ष भारतबाट रु ४ करोडको ३० लाख भाइल औषधि भारतबाट आयात हुँदै आएको बताउँदै यो पनि नेपालको मागअनुसार पर्याप्त नभएको उनीहरुको दाबी छ ।

दुई वर्षअघिदेखि नेपालको सुनसरी जिल्लाको महेन्द्रनगरको बाङ्गे भन्ने स्थानमा १० बिगाहा जमिनसमेत खरिद गरेर कम्पनी रजिस्टारको कार्यालयबाट एन्टिस्नेक भेनम सेरुम रिसर्च केन्द्र खोल्ने अनुमति प्राप्त गरेको पनि सो कम्पनीले आज इटहरीमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

नेपाल सरकारसँग सर्प पाल्न पाउने कानुनी व्यवस्था नभएकाले त्यसको समेत व्यवस्था गर्न वन मन्त्रालय, औषधि व्यवस्था विभागको इपिडिमियोलोजी शाखा, कानुन मन्त्रालयदेखि प्रधानमन्त्रीको कार्यालयसम्म यो विषयमा पत्राचार गरिएको भए पनि कानुन बनाउन ढिलाइ गर्दा औषधि उत्पादनमा ढिलाइ भएको केन्द्रका अध्यक्ष लक्ष्मीप्रसाद फुयाँलले जानकारी दिए।

श्‘रीलङ्का र थाइल्यान्डले यही कम्पनीसँगै सर्प पाल्न पाउने कानुनी व्यवस्था अघि बढाएकामा त्यहाँको सरकारले सकारात्मक रुपमा लिएको र अब चाँडै नै एन्टिस्नेक भेनम सेरुम उत्पादन एवम् अनुसन्धान कार्य अघि बढाउने,’ अध्यक्ष फुयाँलले भने।

नेपालमा पनि यससम्बन्धी कानुनी व्यवस्था गरे दुई वर्षमा एन्टिस्नेक भेनम सेरुमसम्बन्धी अध्ययन अनुसन्धान र उत्पादनका कार्य सुरु गर्न सकिने उनको भनाइ छ । अहिले भारत, चीन, अस्ट्रेलिया र अमेरिकाजस्ता देशले मात्र एन्टिस्नेक भेनम सेरुम औषधि उत्पादन गर्ने गर्दछन् ।

पत्रकार सम्मेलनमा अध्यक्ष फुयाँलले विश्वका १०२ राष्ट्रमा सर्पदंश औषधिको अभाव रहेको जानकारी दिँदै सरकारले चाँडो कानुन बनाइदिने हो भने रु ८८ करोड ६३ लाखको लागतमा उद्योग सञ्चालनमा ल्याई वार्षिक १५ लाख एन्टिस्नेक भेनम सेरुम उत्पादन गर्न सकिने दाबी गरे ।देशभित्र रु १ अर्ब ५३ करोडको कारोबारसँगै चार सय जनालाई प्रत्यक्ष रोजगार बनाउन सकिने उनको तर्क छ ।
‘अहिले भारतले उत्पादन गर्दै आएको पोलिभेनम औषधिको सट्टामा हामीले नेपालमा नै जुन सर्पले टोकेको हो त्यही विष काट्न सक्ने मोनोभेनम औषधि उत्पादन गरेर मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने अवस्थाबाट मुक्त पार्ने विषयमा पनि अनुसन्धान भइसकेको छ,’ उनले भने ।

सोही अवसरमा एन्टिठस्नेक भेनम सेरुमका विषयमा लामो समयदेखि अध्ययन अनुसन्धान र उपचारका क्षेत्रमा काम गर्दै आएकाडा छविलाल थापाले हरेक वर्ष सर्पदंशबाट एक लाखमा १६२ जना नेपालीको ज्यान गइरहेकाले पनि सर्पदंशको औषधि देशभित्रै उत्पादन गर्न जरुरी रहेको र त्यसका लागि राज्यले तत्काल कानुन ल्याएर सघाउनुपर्ने कुरामा जोड दिए ।    – रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *