किशोरीको उपचारमा आर्थिक अभाव

बागलुङ, ५ असार –  तनहुँ भिमाद– १ घर भई हाल बागलुङ बस्ने एक किशोरीको उपचारमा अर्थ अभाव भएको छ ।

सात महिनादेखि टाउकासम्बन्धी रोगबाट थलिएकी १७ वर्षीया सीमा श्रेष्ठको उपचारका लागि परिवारले सहयोगको याचना गरेको छ । टाउकाको शल्यक्रियामा लाग्ने महँगो शुल्क कसरी जुटाउने भन्ने चिन्ताले परिवारलाई पिरोलेको छ । चिकित्सकका अनुसार टाउकाको शल्यक्रिया गर्न रु छ लाखदेखि रु आठ लाखसम्म खर्च लाग्ने भएको छ ।

सात महिनासम्मको जाँचपछि बल्ल रोग पत्ता लागेको सीमाका बुबा तुलाराज श्रेष्ठले बताए । श्रेष्ठका अनुसार टाउकाभित्रबाट आँखामा जोडिने नशा बन्द भएपछि चिकित्सकले यथाशक्य छिटो शल्यक्रिया गर्नुपर्ने बताएका छन् ।

सीमा दुवै आँखाको दृष्टि कमजोर भएर सामुन्नेको वस्तु मात्रै देख्ने अवस्थामा पुगेकी छन् । जिउ दुख्ने समस्या बढेपछि सीमालाई गत मङ्सिरमा पोखराको मेट्रो सिटी अस्पतालमा लगेर उपचार गराइएको थियो । अस्पतालले सुरुमा कमलपित्त भनी हप्ता दिन बढी उपचार गर्दा पनि निको नभएपछि सीमाको टाउकाको ‘एमआरई’ गरिएको थियो । ‘एमआरई रिपोर्ट’ हेरेपछि पोखरास्थित मणिपाल शिक्षण अस्पतालका चिकित्सक बलराम कर्माचार्यले टाउकाको शल्यक्रिया गर्नुपर्ने बताएका थिए।

हिमालय आँखा अस्पताल पोखरामा पनि डेढ महिनासम्म राखेर सीमाको उपचार गरिएको थियो । श्रेष्ठको परिवारले हालसम्म सीमाको उपचारमा रु चार लाख ३५ हजार खर्च गरिसकेको छ । “हामीसँग भएको रकम उपचारकै क्रममा सकियो, अब शल्यक्रिया गर्ने रकम छैन” श्रेष्ठले भने “छोरीको उपचारको लागि भएको अलिअलि सुन पनि बैंकमा राखेको छु, हामीसँग नगद जम्मा ३६ हजार छ ।”

श्रेष्ठले एक्ली छोरीको उपचारका लागि सहयोग गरिदिन सार्वजनिक रुपमा अनुरोध गरेका छन् । “छोरीको जीवनरक्षाका लागि सक्दो सहयोग गरिदिनुहुन सबैमा अनुरोध गर्दछु” श्रेष्ठले भने।

बागलुङमा सीमा श्रेष्ठ उपचार सहयोग समिति गठन गरेर आर्थिक सहायता अभियान सुरु गरिएको छ । सदरमुकामस्थित विद्यामन्दिर उमावि कक्षा १२ मा अध्ययनरत सीमा बिरामी भएदेखि विद्यालय जान सकेकी छैनन् । उनका पिताले २०६४ देखि मासुपसल सञ्चालन गर्दै आएक छन् ।   – रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *