आरोग्य प्रतिष्ठानलाई डायलाइसिस मेसिन हस्तान्तरण

 

काठमाडौँ, ४ असार – आरोग्य फाउन्डेसनको उपचार सेवा वृद्धि गर्ने उद्देश्यले रोटरी क्लब अफ राजधानीले उच्चस्तरीय तीन थान हेमोडायलाइसिस मेसिन आज प्रदान गरेको छ ।

हाल प्रतिष्ठानमा १७ हेमोडायलाइसिस मेसिन छन् । यसबाट करिब दैनिक ७० बिरामीले सेवा लिइरहेका छन् । सहयोगस्वरुप प्राप्त ती यन्त्रबाट मिर्गौला रोगीको जीवनमा थप राहत मिल्ने फाउन्डेसनका महासचिव डा. पुकारचन्द्र श्रेष्ठले जानकारी दिए ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्रत्येक १० जनामध्ये एक जनालाई मिर्गौला रोग लाग्ने गरेको, नेपालमा बर्सेनि तीन हजार जनाको मिर्गौलाले काम गर्न छाडेको र तीमध्ये ९० प्रतिशतभन्दा बढी केही महिनामा नै मृत्युको सिकार हुने गरेको बताइएको छ ।

मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरमा मात्रै दैनिक एक सयभन्दा बढीको रक्त शुद्धीकरण तथा करिब एक सयभन्दा बढीको बर्सेनि प्रत्यारोपण हुने गरेको केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठले बताए ।

केन्द्रले उच्चस्तरीय उपचार प्रदान गर्दैआएको हुँदा नै छिमेकी राष्ट्रबाट पनि धेरै सङ्ख्यामा बिरामी आउने क्रम बढ्दै गएको छ । करिब २० भारतीय नागरिकले मिर्गौला प्रत्यारोपण गर्नका लागि नाम दर्ता गरेकामा सात जनाको सफलतापूर्वक प्रत्यारोपण भइसकेको उनले जानकारी दिए।

सो प्रतिष्ठानले स्थापनाकालदेखि नै मिर्गौला प्रत्यारोपण गर्नका लागि अत्यावश्यक एचएलए ल्याब सेवा, प्रत्यारोपण गरेका बिरामीले सेवन गर्ने औषधिको मात्रा जाँच गर्ने अत्याधुनिक ल्याब सेवा दिएको तथा सरकारले विपन्नका लागि निःशुल्क हेमोडायलाइसिस सेवा सञ्चालन गरिरहेका छन् ।

“निःशुल्क डायलाइसिस प्रदान गर्ने सरकारको निर्णय स्वागतयोग्य भए पनि सरकारले मिर्गौला पूर्ण रुपमा प्रत्यारोपण र प्रत्यारोपणपछिको औषधि समेत निःशुल्क गराउनुपर्छ” डा. श्रेष्ठले भने।

कार्यक्रममा उद्योग राज्यमन्त्री मेघराज निषाद नेपालीले देशमा नै उच्चस्तरीय डायलाइसिस र प्रत्यारोपण सेवा भएको बताए । उनले एक वर्ष अगाडि मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरमा मिर्गौला प्रत्यारोपण गराएका थिए ।  – रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *