अदालतमै अस्पताल सेवा !

parbat-jilla-adalat-1
पर्वत १ असार –  कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको आकस्मिक उपचारका लागि जिल्ला अदालत परिसरमा प्राथमिक उपचार सेवा सुरु भएको छ ।

कार्यालयमा उपलब्ध भौतिक सेवासुविधाअनुरुप सेवाग्राहीलाई सेवा प्रदान गर्ने उद्देश्यले मङ्गलबारदेखि अदालतमा प्राथमिक उपचार सेवा सुरु गरिएको हो । जिल्ला अदालतले सुरु गरेको यो सेवा धौलागिरी अञ्चलमा नै पहिलो हो । जिल्ला अस्पतालको सहयोगमा अदालतले अहिले सात प्रकारका औषधि निशुल्क वितरण गर्ने भएको छ ।

अदालतमा सेवा लिन आएका सेवाग्राही तत्काल बिरामी परेमा वा कुनै घटना भएमा आकस्मिक सेवा दिनका लागि र कार्यालय समयमा कुनै आपत्कालीन समस्या आइपरेमा प्राथमिक उपचारस्वरुप औषधि प्रदान गर्ने उद्देश्यले प्राथमिक उपचार सेवा शुभारम्भ गरिएको शाखा अधिकृत दयाराम पोख्रेलले जानकारी दिए ।

पोखरेलका अनुसार अदालतमा अब टाउको दुख्ने, पेट दुख्ने, पखाला, रुघाखोकी, ज्वरो, काटेको, पोलेको घाउमा लगाउने औषधिहरु उपलव्ध हुनेछ ।

उक्त औषधि व्यवस्थापनका लागि अदालतले कार्यालयमा यथावत् रहेको भण्डार शाखालाई जिम्मा लगाएको छ । कार्यालयको बाहिरपट्टि प्राथमिक उपचार नामक बक्स राखेर औषधि सुरक्षित रुपमा सबैले देख्न सक्ने ठाउँमा भण्डारण गरिएको पोखरेलले जानकारी दिए । –  रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *