एक डाक्टरद्वारा एकै दिन आठ हजारको स्वास्थ्य परीक्षण

doctor1

झापा १, असार – सवारी चालक अनुमतिपत्र लिन आवेदन दिँदा गरिने स्वास्थ्य परीक्षणमा चरम लापरबाही भएको पाइएको छ।

यातायात व्यवस्था कार्यालय मेचीमा मोटरसाइकलको लाइसेन्सका लागि दस हजारभन्दा बढीको निवेदनमध्ये ८ हजारजनाको स्वास्थ्य परीक्षण एकजना चिकित्सकले एकै दिन गरेको अनुसूची पेस भएको उक्त कार्यालयका कर्मचारीले बताएका छन्।

 निवेदकहरू भन्छन्, ‘सवारी चालक अनुमतिपत्रका लागि गरिएको स्वास्थ्य परीक्षणमा डाक्टरको अनुहार पनि देखिएन।’

मोटरसाइकलको लाइसेन्सका लागि दस हजारभन्दा बढी निवेदकले यातायात व्यवस्था कार्यालय मेचीमा निवेदन दर्ता गरेका छन्। निवेदन अहिले कम्प्युटरमा पोस्टिङ गर्ने काम यातायात व्यवस्था कार्यालय मेचीले गरिरहेको छ।

तर यातायात व्यवस्था कार्यालय मेचीमा दर्ता भएका मोटरसाइकल लाइसेन्सका अधिकांश निवेदनमा मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सक डा एसके झाले निवेदन बुझाउने अन्तिम दिनमा निरोगिता जाँच गरेको अनुसूची सेवाग्राहीले समावेश गरेका छन्। तर लाइसेन्सका निवेदकले भने डा. झाको अनुहारसमेत नदेखेको बताए।

सिजुवा मोरङका निवेदक हरिबहादुर थापाले भने, ‘तपाईंलाई ब्लड ग्रुप थाहा छ भनेर सोधे। मैले थाह छ भन्दिएपछि एकजना भाइले डाक्टरले सही गरिसकेको फारम ल्याएर भरिदिए। डाक्टरले जाँचेनन्। डाक्टरको अनुहार पनि देखिनँ मैले।’

चिकित्सक झाले सबैतिर यस्तै परिपाटी रहेको भन्दै आफूले एकदिनमा आठ हजार निवेदकको स्वास्थ्य जाँच गरेको बताए। उनले भने, ‘अन्य स्थानमा जस्तो परिपाटी छ त्यस्तै गरेर मैले निवेदकको स्वास्थ्य जाँच गरेको हुँ। त्यो दिन मैले करिब ८ हजारजनाको स्वास्थ्य जाँच गरें।’

यातायात कार्यालयको उक्त अनुसूचीमा छारे रोग छ कि छैन, निवेदकको आँखाले रंग छुट्याउन सक्छ कि सक्दैन, रगत जाँच गराउने आदि कामका लागि पनि सुविधासम्पन्न अस्पतालले पनि एकजना निवेदकलाई निकै लामो समय खर्चिनुपर्छ। तर एकै दिन आठ हजारभन्दा बढी निवेदकको निरोगिता एकजना चिकित्सकले हेरेको प्रमाण यातायात व्यवस्था कार्यालयले कसरी लियो ?

यातायात व्यवस्था कार्यालय मेचीका प्रमुख जनार्दन भट्टराईले भने, ‘मैले उहाँलाई यति धेरै मानिसको स्वास्थ्य जाँच कसरी गर्नुभो भनेर सोधें। तर एउटा दर्तावाल चिकित्सकले यो मान्छे ठीक छ भनेर गरेको प्रमाणलाई प्रश्न उठाउने मसँग कानुनी अधिकार छैन।’ अधिकांश निवेदकका अनुसार निरोगिता जाँच्नअघि नै डा. झाले सही छाप गरेको अनुसूची फारम जतासुकै बिक्रीमा राखिएको थियो।

  • आजको अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित उमाकान्त खनालको समाचार
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *