बढ्यो सर्पको डसाइ

- नेपाली हेल्थ

snake bite

काठमाडौँ ३२ जेठ – राजधानी उपत्यकासहित छेउछाउका पहाडी जिल्लामा वर्षा नलाग्दै सर्पको डसाइ एक्कासि बढेको छ । सर्पको डसाइले वैशाखमा चार जना मात्र भर्ना भएको शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकुमा जेठमा सोमबारसम्म २४ जना भर्ना भइसकेका छन् ।

टेकु अस्पतालमा काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ, काभ्रे, सिन्धुपाल्चोक, गोरखालगायत जिल्लाका सर्पले डसेका व्यक्तिहरू उपचारका लागि आएका छन् ।

विज्ञहरूका अनुसार पहाडी जिल्लामा सर्पको डसाइ असारदेखि बढ्दै गएर भदौ महिनामा सबभन्दा उच्च हुँदै मंसिरसम्म रहन्छ । ‘दिनहुँ सर्पले डसेका दर्जनसम्म बिरामी इमर्जेन्सीमा आइरहेछन् तर भर्ना गरेरै उपचार गर्नुपर्ने एकाध मात्रै हुन्छन्,’ टेकु अस्पतालका डा. शेरबहादुर पुनले भने, ‘जेठमै सर्पको डसाइ एक्कासि बढ्यो, वर्षा सुरु भएपछि अझ बढ्छ ।’

सर्पको विषलाई सामान्यतया चार वर्गमा बाँडिन्छ । साइटोटाक्सिनले मानिसको तन्तुलाई क्षतिग्रस्त पार्छ । हिमोटाक्सिनले आन्तरिक रक्तस्राव हुन्छ । न्युरोटाक्सिनले स्नायु तन्त्रलाई क्षतिग्रस्त गर्छ । कार्डियोटाक्सिनले सिधा मुटुमा असर गर्छ ।

गोमन र करेतको विषले ‘न्युरोटाक्सिन’ अर्थात् मस्तिष्कमा प्रभाव पार्ने गर्छ । नदी, पहाड र जंगल आदिमा हुने भाइपर सर्पको विषले ‘हेमोटाक्सिक’ अर्थात् रगतमा प्रभाव पार्छ ।

टेकु अस्पतालमा आउने सर्प डसाइका बिरामीमा नगन्य रूपमा मात्र ‘एन्टिस्नेक भेनम’ चलाउनुपर्ने स्थिति आएको जानकारी डा. पुनले दिए । ‘राजधानीमा विषालु सर्पको डसाइबाट प्रभावित भएर आउने घटना दुर्लभ नै छ, वर्षभरमा आउने एकरदुईवटा यस्ता बिरामी विशेषतस् मधेसका जिल्लाबाट रेफर भएर आएका हुन्,’ उनले भने ।

चिकित्सका अनुसार पहाडी क्षेत्रमा पाइने सर्पको डसाइले रगत जम्ने प्रक्रिया बिगार्नेलगायत समस्या हुन्छ । रगतलाई विषाक्त गर्ने खालको पहाडी सर्पको विषले तुरुन्त ज्यान नलिए पनि शरीरको आन्तरिक र बाह्य अंगको रक्तस्राव गराउने हुनाले शरीरका विभिन्न अंग प्रभावित हुन्छन् । गिजा, नाक, खकार, शरीरको भित्रीलगायत अंगबाट रक्तस्रावसमेत हुन सक्छ ।

यस्तो स्थितिमा बिरामीलाई रगत चढाउनुपर्ने स्थिति आउँछ । यतिमात्र नभएर यो डसाइले छालाको कोषिका र तन्तु मर्ने समस्या ‘निक्रोसिस’ पनि देखिन सकिन्छ । सर्पको डसाइबाट अंग कुहिने ‘ग्याग्रिन’ समेत हुन सक्छ । ‘ग्याग्रिन, निक्रोसिस, आन्तरिक वा बाह्य रक्तस्राव सर्प डसाइको जटिलताअन्तर्गतको नराम्रो स्थिति हो,’ डा. पुनले भने, ‘समयमै उपचार नभए सर्प डसाइको जटिलताअन्तर्गत अंग विशेष काट्नुपर्ने स्थितिसमेत आउन सक्छ ।’

आँखाको परेला लठ्ठ पर्नु, रक्तचाप कम हुनु, सास फेर्न गाह्रो हुनु, वाकवाकी लाग्नु, बान्ता र पखाला हुनु आदि विषालु सर्पले डसेको संकेत भएको उनले बताए । ‘यस्तो स्थितिमा समय खेर नफाली तुरुन्त उपयुक्त अस्पताल लैजानुपर्छ,’ उनले भने ।

सर्पले डसेको स्थानमा स–साना थुप्रै दाँतका चिहन देखियो भने सर्प विष नभएको हो । तर यदि सुन्निनुका साथै दुईवटा ठूला दाँतको चिहन देखियो भने त्यो विषालु सर्पले डसेको संकेत हो । पहाडी क्षेत्रका सर्पले डसेको ठाउँमा सुन्निने, दुख्ने, रातो हुने, पछि पानीको फोकाजस्तै विकसित हुने, कहिलेकाहीं संक्रमण, निक्रोसिस भएर आन्तरिक र बाह्य रक्तस्राव आदि लक्षण देखिने गरिएको उनले बताए ।

पहाडी क्षेत्रमा विषका कारणले भन्दा पनि धेरैजसो बढी आत्तिएर र डराएर बेहोस हुन्छन् । सर्पले डसेका बिरामीलाई अति न्यून क्षतिबारे सम्झाउँदै ढाढस दिनुपर्छ । ‘आत्मविश्वास कायम राख्नुपर्छ, आत्तिनु हुँदैन,’ डा. पुनले भने, ‘धेरैजसो सर्प विषालु हँ‘दैनन्, कतिपय सर्पले त मानिसको शरीरमा विष छाडेका पनि हुँदैनन् ।’

  • आजको कान्तिपुर दैनिकमा अतुल मिश्रको समाचार

Facebook Comment


थप समाचार