बच्चाले खाना खान मान्दैनन् ? कारण यस्तो हुनसक्छ

- नेपाली हेल्थ

bachha

स–साना नानीले खाना खान मन नगरेर अधिकांश अभिभावक हैरान भएको पाइन्छ । पटक–पटक खाना खुवाउन प्रयास गर्दा पनि बच्चाले अर्कोतर्फ मुन्टो बटारेर झगडा गर्छन् ।

हैरान भएपछि कतिपय अभिभावकले त बच्चालाई कुट्ने र हकार्ने गरेको पनि पाइन्छ । तर, आफ्नो मनको कुरा बोल्न नसक्ने केटाकेटीको पीडा अभिभावकलाई के थाहा रु जबर्जस्ती खाना खुवाउन लागिरहन्छन् । जति गर्दा पनि खाना नखाए बच्चा लिएर अस्पताल पुग्छन् ।

अधिकांश अभिभावकको एउटै गल्ती यो छ कि उनीहरू बच्चाले खाना नखाएकोमा चिन्ता गर्छन्, कारण खोज्ने प्रयास गर्दैनन् । त्यसैले अभिभावकले बच्चाले खाना नखानुका कारण बुझ्न जोड गर्नुपर्छ ।

कारण यस्ता हुनसक्छन् :

खानाको स्वाद :

नौ महिनाको अवधिसम्म जस्तो लिटो बनाएर खुवाए पनि कपाकप खाने बच्चाले त्यसपछि एक्कासि खान मन गर्दैनन् । नौ महिना पूरा भएपछि बच्चाले खानाको स्वाद थाहा पाउन थाल्छन् । स्वाद थाहा पाएसँगै बच्चाहरू सधैँ एकै स्वादका खाना मन पराउन छाड्छन् ।

जति गर्दा पनि खान मन गर्दैनन् । अनि, अभिभावक आत्तिएर ‘बच्चाले खाना खाएन’ भन्दै अस्पताल आइपुग्छन् । नौ महिनादेखि अढाई वर्षसम्मका केटाकेटीमा खाना नखाने समस्या देखिन्छ । उनीहरूलाई रुचि जगाउने उपाय हो, खानामा फरक–फरक फ्लेवरका स्वाद दिने ।

लिटोमा अनारको रस, सुन्तलाको रस, कागतीको रस मिलाएर फरक–फरक स्वाद दिन सकिन्छ । यस्तै, बिहान लिटो खुवाइएको छ भने दिउँसो फलफूल र बेलुका भात मिचेर दालको रससँग खुवाउन सकिन्छ । खाना खाएन भनेर अस्पताल ल्याइनेमध्ये ४० प्रतिशत बच्चाले स्वादकै कारण खान नमानेको पाइन्छ ।

जुका :

जुका परेका बच्चाले पनि खाना खान आनाकानी गर्छन् । यस्तो वेला पेट दुख्नेरफुल्ने, शरीर सुक्दै जाने समस्या हुन्छ । खान मन नगर्ने र अत्यधिक रुने गर्छन् । बच्चालाई फित्ते, अंकुसे र नाम्ले गरी तीन खालका जुकाले सताउँछन् । खानपिनमा लापरबाही, सरसफाइमा कमी, दिसा–पिसाबमा ख्याल नगर्दा फित्ते जुकाको सम्भावना हुन्छ ।

त्यसैगरी, खाली गोडा हिँड्ने बालबालिकामा अंकुसे जुका पर्ने सम्भावना हुन्छ । यो जुका जमिनमा हुन्छ । बच्चा हिँड्ने वेलामा पैताला र गोडाका औँलाबीच रहेका कापको कमलो भागबाट यो जुकाको लार्भा बच्चाको शरीरभित्र छिरेर रगतका माध्यमबाट ड्युडेनममा बस्दै रगत चुस्छ ।

यस्तै, गोरु–राँगाको पेट र मांसपेशीमा रहने नाम्ले जुकाको संक्रमण पनि बच्चामा सर्न सक्छ । तर, यो खतरा केही ठूलो बच्चालाई हुन्छ । जुनसुकै जुका परे पनि बच्चाले खान मन गर्दैनन् ।

चिकित्सक या स्वास्थ्यकर्मीको सल्लाहमा अल्बेन्डाजोल भन्ने औषधि खुवाउनुपर्छ । जुका भएरनभएको दिसाको सामान्य जाँचबाटै थाहा हुन्छ । खाना खान मन नगरेर अस्पताल ल्याइने बच्चामध्ये २० प्रतिशतमा जुका परेको पाइन्छ ।

ग्यास्ट्राइटिस : 

बच्चालाई पनि ग्यास्ट्राइटिक रु धेरैलाई यस्तै लाग्न सक्छ । तर, खानपानमा गडबढी भए भर्खरै जन्मेको बच्चालाई पनि ग्यास्ट्राइटिस हुन्छ । जब ग्यास्ट्रिक बढ्छ, बच्चाले खान मान्दैनन् । बच्चालाई ग्यास्ट्रिक हुने प्रमुख कारण जंकफुड हो ।

जंकफुड बच्चाले पचाउन सक्दैनन् । यस्ता खानामा स्वादका लागि प्रयोग गरिएका केमिकलले बच्चाको पेटमा ग्यास्ट्राइटिस बढाइदिन्छ र खानेकुरामा मन लाँदैनन् । चक्लेट, चाउचाउ र चिजबलजस्ता आइटममा पाइने अजिनामोटोले बच्चा उमेरमा नै ग्यास्ट्रिक र अल्सर गराइदिन्छ ।

हाम्रोमा उत्पादन हुने यस्ता खानेकुरामा कति अजिनामोटो मिसाइएको हुन्छ भन्ने अहिलेसम्म अध्ययन छैन । खाना खान मन नगरेर अस्पताल ल्याइनेमध्ये १५ प्रतिशत बच्चामा जंकफुडको कारण ग्यास्ट्राइटिस भएको पाइन्छ ।

एन्टिबायोटिक :

बच्चा बारम्बार बिरामी भएर लामो समयसम्म एन्टिबायोटिक प्रयोग गरिएको छ भने पनि खाना खान मन गर्दैनन् । यस्तो वेला उनीहरूलाई मनपर्ने स्वाद पहिचान गरी खानामा मिलाएर खुवाउनुपर्छ । एन्टिबायोटिक खुवाउन छोडेसँगै बच्चाले बिस्तारै खानामा मन लगाउन थाल्छन् ।

भल्ब :

मानिसको पेट र खानानलीको जोर्नीमा एउटा भल्ब हुन्छ । यसले पेटमा जम्मा भएको अम्लीय पदार्थलाई माथि जान दिँदैन । बच्चा जन्मिदै यो भल्ब खुकुलो छ भने अम्लीय पदार्थ बाहिर निस्कने सम्भावना हुन्छ ।

अम्लीय पदार्थ बाहिर निस्किने गरेपछि बच्चाले खाना खान मन गर्दैन । यस्तो समस्या भएका बच्चालाई तत्काल विशेषज्ञ चिकित्सककहाँ लगेर उपचार गराउनुपर्छ ।

पाचन क्षमता :

लामो समयसम्म झाडापखाला लागेको बच्चा, ग्यास्ट्रिक भएको या केही कारणले आन्द्रा सुन्निएका बच्चाको पाचन क्षमतामा कमी हुनसक्छ । यस्तो वेला आन्द्राबाट पाचन रस आउने क्षमता पनि कम हुन्छ ।

खाना पच्न नसक्ने भएपछि बच्चाले खान पनि मन गर्दैनन् । बच्चामा भएका समस्याको उपचार हुनासाथै बच्चाले पुनस् पहिलेकै जस्तै खाना खान थाल्छन् । केही बच्चामा भने यो समस्या वंशाणुगत पनि हुनसक्छ ।

तर, १० हजारमध्ये एक–दुईजना बच्चामा मात्रै यस्तो समस्या देखिन्छ । वंशाणुगत समस्याले कुन आन्द्रामा असर पारेको छ, उपचार गर्नुपर्छ ।

अन्य रोग :

निमोनिया, टन्सिलजस्ता संक्रमण भएका वेला पनि बच्चाहरू खान मन गर्दैनन् । रुघाखोकी, नाक टालिएको, झाडाबान्ता लागेको भए पनि खानामा रुचि राख्दैनन् । यो उमेरमा केटाकेटी बामे सर्ने या जताततै हिँड्ने, जे पायो त्यही खाने हुँदा पेटजन्य संक्रमण हुने र खान मन नगर्ने हुन्छ।

-काठमाडौँ मेडिकल कलेजका बालरोग विशेषज्ञ सह-प्राडा सुनीलराज मानन्धर नयाँ पत्रिका दैनिकका भिषा काफ्लेले गरेको कुराकानी 


Facebook Comment


थप समाचार