चुरोटको बट्टा ‘प्लेन प्याकेज’ गर्ने न्युजिल्याण्ड सरकारको घोषणा

Plain packageएजेन्सी – विश्व धूमपानरहित दिवशको अवसरमा न्युजिल्याण्ड सरकारले चुरोटको बट्टामा प्लेन प्याकेज लागू गर्ने घोषणा गरेको छ । यसअघिनै अष्ट्रेलिया सरकारले चुरोटको बट्टामा प्लेन प्याकेजिङको घोषणा गरि कार्यान्वनयमा ल्याइसकेको छ । यो घोषणासंगै न्युजिल्याण्डमा चुरोटको बट्टाको सबैभाग चेतावनीमुलक सन्देश र रंगिनचित्रले छोपिएको हुनेछ ।

विश्व स्वास्थ्य संगठनले यसबर्षको विश्व धूमपान रहित दिवसको नारा प्लेन प्याकेजको लागि तयार होउ भन्ने नारा तय गरेको थियो । सोही नारालाई आत्मसाथ गर्दै न्युजिल्याण्डले प्लेन प्याकेजको घोषणा गरेको हो ।

न्युजिल्याण्ड यो घोषणालाई सुर्ती उत्पादकहरुले तिब्र बिरोध जनाएका छन् । उनीहरुले सरकारी निर्णय विरुद्ध अदालतमा जाने समेत चेतावनी दिएका छन् । तर सरकारले उनीहरुको चेतावनीलाई बेवास्ता गर्दै आगामी दुई महिना पछि घोषणाको पूर्ण कार्यान्वनय हुने जनाएको छ ।

न्युजिल्याण्डका स्वास्थ्य मन्त्री साम लोटुलिगा भन्छन्, ‘जनताको स्वास्थ्य भन्दा ठूलो कुरा अरु हुन् सक्दैन । किनकी अहिले पनि हरेक दिन न्युजिल्याण्डमा १२ जनाको मृत्यु धूमपानबाट भइरहेको छ । त्यसैले यसलाई रोक्नका लागि प्लेन प्याकेजको अवधारणामा गएका हौँ, यसबाट पछाडी फर्कने सम्भावना छैन् ।’

त्यसो त न्युजिल्याण्डले सन् २०१३ मै प्लेन प्याकेजमा जाने योजना बनाएको थियो । तर सन २०१२ मा चुरोट उत्पादक कम्पनी फिलिप मोरिस कम्पनीले प्लेन प्याकेजमा जाने अष्टेलियन सरकार निर्णय विरुद्ध अदालतमा मुद्धा दायर गरेपछि न्युजिल्याण्डको योजनामा ढिलाई भएको हो ।

पछिल्लो समय अष्टेलियन सरकारले चुरोट कम्पनीद्धारा दायर रिटमा जितिसकेपछि न्युजिल्याण्डले पनि यो योजना अघि सारेको हो ।
अष्ट्रेलियाले मुद्धा जितिसकेपछि प्लेन प्याकेजको नीति बेलायत र फ्रान्स, क्यानडा, सिंगापुर, बेल्जियम तथा दक्षिण अफ्रिका समेतले अघि सारिसकेका छन् ।

न्युजिल्याण्डका प्रधानमन्त्री जोन कीले संसारका धेरै देशहरुले प्लेन प्याकेजिङको नीति ल्याइसकेको अवस्थामा सुर्ती उत्पादकको चेतावनीले कार्यान्वनयमा कुनै प्रभाव नपर्ने बताए । उनले अदालतमा जाने उद्योगहरुको चेतावनीको कुनै वास्ता नगरेको समेत प्रतिक्रिया दिए ।

उता ब्रिटिस अमेरिकन टोबाको एन जेडले भने न्युजिल्याण्ड सरकारको यो निर्णयको कडा प्रतिवाद गरेको छ । उसले सरकारको निर्णयमा पुर्न विचार गर्न समेत आग्रह गरेको छ । तर न्युजिल्याण्ड सरकारले नयाँ घोषणामा पुर्नबिचार नहुने स्पष्ट पारेका छन् ।

प्लेन प्याकेज गर्नुपर्छ भन्दै यसअघि नै प्रस्ताव राखेको माओरी पार्टीले न्युजिल्याण्ड सरकारको घोषणाको स्वागत गरेको छ । उसले आफ्नो देशका आदिबासीहरुमा धूमपानको समस्या बढी रहेको भन्दै नियन्त्रणका लागि प्लेन प्याकेज गर्नुपर्ने बताएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *