स्थायी बन्ध्याकरण धमाधम उल्ट्याउदै पुरुषहरु

vasectomy-445x300काठमाडौँ १७ जेठ – काभ्रेका ३८ वर्षीय रमेश सापकोटा (नाम परिवर्तन)ले दुई सन्तान भएपछि तीन वर्षअघि भ्यासेक्टोमी (स्थायी बन्ध्याकरण ) गरेका थिए । दाम्पत्य सुमधुर नरहेपछि सम्बन्धविच्छेद गरी उनले अर्को विवाह गरे । उक्त श्रीमतीले सन्तान जन्माउने रहर गरेपछि उनले भ्यासेक्टोमी उल्ट्याउने (रिक्यानालाइजेसन) सेवा लिएका छन् ।

रसुवाका रामवीर (नाम परिवर्तन) पनि भ्यासेक्टोमी उल्ट्याउनेमा पर्छन् । विनाशकारी भूकम्पमा श्रीमती र छोरा गुमाउनुपरेपछि छोरीलाई आमाको अभाव महसुस हुन नदिन र आफ्नो सहाराका लागि दोस्रो विवाह गर्दा उनले भ्यासेक्टोमी उल्ट्याउनुपरेको हो । उनले ६ वर्षअघि भ्यासेक्टोमी गरेका थिए । श्रीमतीले कर गरेपछि भ्यासेक्टोमी रिक्यानालाइजेसन (उल्ट्याउने)सेवा लिएको उनले सुनाए ।

भ्यासेक्टोमी उल्ट्याउने प्रतिनिधि पात्र हुन्, यी दुई पुरुष । काठमाडौं उपत्यकामा परिवार नियोजनको स्थायी बन्ध्याकरण भ्यासेक्टोमी उल्ट्याउनेको संख्या बढ्न थालेको पाइएको छ । सम्बन्धविच्छेदपछि अर्को विवाह गर्नेहरूमा सन्तान रहरले गर्दा भ्यासेक्टोमी उल्ट्याउनेको संख्या बढ्दै गएको नेपाल परिवार नियोजन संघको केन्द्रीय कार्यालय पुल्चोकले जनाएको छ । विनाशकारी भूकम्पमा सन्तान गुमाउनेहरू पनि यो सेवा लिन आउने गरेका छन् ।

‘भूकम्पलगत्तै सन्तान गुमाएकाहरू यो सेवा लिन आउने गरेका थिए,’ संघका चिकित्सक ओम महर्जनले भने, ‘हिजोआज सम्बन्धविच्छेदपछि दोस्रो विवाह गरेका पुरुषहरू श्रीमतीका कारण कारण रिक्यानालाइजेसन गराउन आउने गरेका छन् ।’ संघमा दिनहुँजस्तो उक्त सेवाबारे परामर्श लिन आउने गरेका छन् । परामर्श लिन आउनेमा ४० देखि ५० वर्ष उमेर समूहका छन् । पुल्चोकमा भूकम्पअघि उक्त सेवा लिन आउनेको संख्या ३–४ मात्र हुन्थ्यो, त्यसपछि भने महिनामा ९–१० जनासम्म आउने गरेका छन् ।

चिकित्सक महर्जनका अनुसार उक्त सेवा लिन चाहने सबैको शल्यक्रिया सफल भने हुँदैन । शल्यक्रियाको सफलता भ्यासेक्टोमी कहिले कसरी गरिएको थियो भन्नेमा निर्भर रहन्छ । भ्यासेक्टोमी गरेको धेरै समय बितेको छैन भने रिक्यानालाइजेसन बढी सफल हुने उनले बताए । रिक्यानालाइजेसन गर्दा भ्यासेक्टोमी गर्दा काटेर बाँधिएको शुक्रकिट नलीमा प्वाल पारी नयाँ ठाउँमा जोडिन्छ । जसले गर्दा पहिलेजस्तै गरी सो ठाउँबाट पुरुषको शुक्रकिट बाहिर आउने बाटो खुल्छ ।

उक्त सेवाका लागि संघले १४ हजार शुल्क लिँदै आएकोमा अहिले बढाएर २० हजार पुयाएको छ । यो सेवा जोखिमपूर्ण र प्रयोग हुने सामग्री पनि महँगो पर्ने भएकाले सेवाशुल्क बढाउनुपरेको महर्जनले बताए ।

  • आजको कारोबार दैनिकमा जुनु भट्टराईले लेखेको समाचार
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *