मोतीबिन्दुको शल्यक्रिया गरेका ८ जनाको आँखै गुम्यो

  • आँखा शिविरमा लापरबाही
  • - नेपाली हेल्थ

    Cataract_surgery

    सुर्खेत, १० जेठ – बुढेसकालसँगै देख्न छाडेपछि कल्याण–५ का तुलबहादुर गाहा आँखा जचाउन सदरमुकाम वीरेन्द्रनगर जाने खर्च जुटाउँदै थिए । कसैले सुनायो, ‘गाउँमै आँखा शिविर आउँदैछ । जाँचका लागि तयार हुनु ।’ धमिलो बनेको संसार छर्लङग देख्न पाइने आशा बोकेर उनी गत वर्ष जेठ २८ गते सरस्वती माविको शिविरमा पुगे ।

    प्रारम्भिक जाँचका क्रममा उनको बायाँ आँखामा मोतीबिन्दुको संक्रमण देखियो । सामुदायिक आँखा उपचार तथा स्वास्थ्य प्रवद्र्धन कार्यक्रम बाँकेअन्तर्गतको टोलीले उनलाई शल्यक्रियाका लागि वीरेन्द्रनगर बोलायो । आँखा खुल्ने भएपछि तुलबहादुरमा खुसीको सीमा रहेन । आँखा अस्पतालमा शल्यक्रिया गरेको तीन दिनपछि उनी घर फर्किए । पाँच दिनपछि पट्टी खोलियो । ‘टाउको दुख्ने, रिंगटा लाग्ने समस्याले गर्दा बेहोस हुन थालेपछि आत्तिँदै भोलिपल्टै शिविरमै पुगेँ,’ ६९ वर्षीय तुलबहादुरले भने, ‘अप्रेसनको लापरबाहीले ज्योति गुमेछ । आँखा फुटेछ ।’

    नेपालगन्ज मेडिकल कलेजका डा. प्रदीप बास्तोला नेतृत्वको टोलीले तुलबहादुरसहित ८५ जनाको शल्यक्रिया गरेको थियो । शल्यक्रिया विफल भएका १७ जनालाई सुर्खेत आँखा अस्पतालले कैलालीको गेटा अस्पतालमा रिफर पनि गर्‍यो । ‘त्यहाँ जाँच्दा रगत निस्कियो । अप्रेसन गरेको नौ दिनपछि आँखाको नानी खस्यो,’ तुलबहादुरले भने, ‘त्यसपछि आँखा खुल्ने आशा तुहियो । सर्वस्व गुमेझैं पीडा भएको छ ।’

    कल्याण–५ हिलेसोतका रत्नबहादुर वलीको पनि वीरेन्द्रनगर शिविरमै शल्यक्रियापश्चात् आँखा फुटेको छ । शल्यक्रियामा बिग्रेको आँखाको ज्योति फर्काउन गेटा अस्पतालदेखि भरतपुरसम्म पुगे । तर, सफल भएनन् । टाढा नदेखिने समस्याबाट मुक्ति पाउन उपचार गराएका रत्नबहादुरले पनि अन्तत: ज्योति मात्र होइन, सिंगै आँखा गुमाए । ‘राम्रो होला भनेको यस्तो भयो,’ केही दिनअघि आँगनमा छामछुम गरिरहेका वलीले  भने, ‘भरतपुरका डाक्टरले जाली फुटेछ भनेपछि त आसै मारेर फर्किएँ ।’ त्यसपछि उनले देखावटी सुन्दरताका लागि कृत्रिम आँखा हालेका छन् । नदेखिने ।

    सुर्खेत आँखा अस्पतालले आयोजना गरेको शिविरमा कल्याण, दशरथपुर र लेखफर्सा गाविसका गरी ८ जनाले त्यतिबेला आँखा गुमाए । शल्यक्रिया बिग्रेका सबैलाई अस्पतालले कैलाली रिफर गरेको थियो । दशरथपुरका गंगबहादुर दर्लामी अप्रेसन गरेकामा अहिले पछुताउँछन् । ‘यस्तो हुने भए अप्रेसन गर्थिनँ । आँखा गुमेपछि डाक्टरले नक्कली आँखा राख्छौं भन्थे । मैले मानिनँ,’ दर्लामीले दुखेसो पोखे, ‘अनाहकमा अन्धकारमा धकेल्नेलाई कतैबाट कारबाही भएन ।’

    टाउको दुख्ने समस्याले पिरोलेपछि त्यतिबेला आफूहरूले उजुरी दिनेतर्फ ध्यान दिन नसकेको पीडितहरूले बताएका छन् । दशरथपुरकै खगिसरा ज्ञवालीले अहिले दायाँ आँखा पनि कम देख्न थालेकी छन् । तर, उनी अप्रेसन गर्न डराएकी छन् । ‘एउटा आँखा खोले, फुटाले । अब यो आँखा पनि त्यस्तै होला भनेर चेक गराएकी छैन,’ खगिसराले भनिन् । एउटा पूरै बिग्रेको र अर्को आँखा कमजोर भएपछि उनलाई घरभान्सामा यताउति गर्नसमेत गाह्रो भएको छ । ‘छोराबुहारी आफ्नै तालमा हुन्छन् । बढेसकालको सहारा आँखा गुम्यो,’ उनले सुनाइनन्, ‘आँखा नहुँदा केही गरौं भने पनि भेउ पाउँदिनँ ।’

    गाउँमा सन्त्रास

    शल्यक्रिया बिग्रेर आँखा गुमेपछि सुर्खेतका कल्याण, दशरथपुर र लेखफर्साका बासिन्दा दु:खी छन् । त्यसयता यी गाउँबाट वीरेन्द्रनगरमा आँखा जाँच गराउन आउन पनि छाडेका छन् । ‘अप्रेसन गरेकाको आँखा फुटेपछि गाउँलेहरू जचाउन डराएका छन्,’ कल्याण–५ की रूपकला रानाले भनिन्, ‘आँखा शिविरप्रतिकै विश्वास घटेको छ ।’ के कारणले आँखा फुट्यो भन्ने नखुलाएको भन्दै पीडित र आफन्तले छानबिनको माग गरेका छन् ।

    दशरथपुरकी खगिसराका श्रीमानका पनि आँखा कमजोर छन् । तर, उनी पत्नीको जस्तै हालत हुन्छ कि भनेर जाँच गराउन सकेका छैनन् । ‘फलानाको आँखा जस्तै होला चेक गर्न नजाऊ भन्ने मात्र छन्,’ रूपकलाले भनिन्, ‘अप्रेसन गर्छौं भनेर अनाहकमा आँखा फुटालेपछि डर लाग्ने त भइहाल्यो नि ।’दशरथपुरका दुर्गा ज्ञवालीले आँखाजस्तो संवेदनशील अंगको अप्रेसनमा लापरबाही गर्ने डाक्टरलाई कारबाही हुनुपर्ने माग गरे । ‘कसरी यति ठूलो दुर्घटना भयो । कम्तीमा छानबिन हुनुपथ्र्यो । पीडितलाई क्षतिपूर्तिको व्यवस्था दिलाउनतर्फ लाग्नुपथ्र्यो,’ उनले भने, ‘वृद्ध र गाउँका सोझा मान्छे भनेर जिन्दगी बर्बाद पार्नेलाई हामीले छुट दिनु हुँदैन ।’

    कारण ‘इन्डोथाल्माइटिस’ : चिकित्सक
    चिकित्सक डा. प्रदीप बास्तोला भने शल्यक्रियामा कुनै कमजोरी नभएको दाबी गर्छन् । आँखामा देखिने एक प्रकारको संक्रमण ‘इन्डोथाल्माइटिस’का कारण अप्रेसन विफल भएको ठानिए पनि संक्रमणको कारण भने पत्ता लगाउन नसकेको उनले स्वीकारे । ‘अप्रेसन राम्रै भएको हो । पछि समस्या आएको थाहा पाएपछि म सुर्खेत गएँ,’ उनले बिरामीको आँखा गुमेकोमा दु:ख लागेको उल्लेख गर्दै कान्तिपुरसित भने, ‘अप्रेसन गरेर घर पठाएपछि समस्या भएको भए पनि भित्री कारण पत्ता लगाउन सकिएन ।’

    सुर्खेत आँखा अस्पतालका म्यानेजर घनबहादुर थापाका अनुसार त्यतिबेला शल्यक्रिया गरेका ८५ जनामध्ये १७/१८ जनामा यस्तो समस्या देखिएको थियो । ‘केहीलाई धौ–धौ बचायौं ।

    उहाँहरूलाई हरसम्भव प्रयास गर्दा पनि सकिएन,’ उनले भने, ‘डाक्टरको लापरबाहीभन्दा पनि बिरामीकै कारणले यस्तो भएको हुनसक्छ । आँखामा हुने भित्री संक्रमणबाट बचाउन त्यसै पनि गाह्रो कुरा हो ।’ उपचारका क्रममा ‘भवितव्य’ परेकाको उपचार तथा व्यवस्थापन खर्च सबै अस्पतालले बेहोरे पनि क्षतिपूर्ति भने नदिएको उनले बताएका छन् ।

    • आजको कान्तिपुर दैनिकमा प्रकाश अधिकारीले दशरथपुर सुर्खेतबाट पठाएको समाचार छ ।

    Facebook Comment


    थप समाचार