धूमपानको असरले समय नपुग्दै सुत्केरी

- नेपाली हेल्थ

tobacco effect on prangencyभक्तपुर, ८ जेठ – समय अगावै सुत्केरी हुनामा गर्भवतीले गर्ने धूमपान एक प्रमुख कारण भएको सरोकारवालाहरुले बताएका छन् । उनीहरुले गर्भवती महिलाहरुलाई धूमपान नगर्न तथा धूमपान गरेको स्थानमा नजान समेत आग्रह गरेका छन् ।

स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण जिल्ला सञ्जाल, भक्तपुर र चित्तपोल सामुदायिक अध्ययन केन्द्रद्धारा शुक्रबार आयोजित कार्यक्रममा विज्ञले गर्भवतीका नजिक अन्य व्यक्तिले गर्ने धूमपानले समेत महिलाको प्रसव समयलाई असर गर्ने बताए ।

गर्भवती तथा बालबालिकाको नजिक बसेर गरिने धूमपानले सेवनकर्तालाई भन्दा उनीहरुको स्वास्थयमा ४० गुणा बढी असर गर्ने बताउदै सेवन कर्तालाई धूमपान त्याग्न वा सचेत हुन आग्रह गरेका छन् ।

कार्यक्रममा स्त्रीरोग विज्ञ डा. कृष्णप्यारी दुगुजुले नौ महिना नपुग्दै प्रसव व्यथा लागेर अस्पताल आउनेको सङ्ख्या बढ्नाको प्रमुख कारणमध्ये एक अप्रत्यक्ष धूमपान रहेको बताइन् । उनले दिन नपुग्दै व्यथाले च्यापिनेको यकिन तथ्याङ्क नभएकाले अनुसन्धानको खाँचो औँल्याउँदै भ्रूण तुहिनाको प्रमुख कारण पनि अप्रत्यक्ष धूमपान रहेको जानकारी दिइन् ।

सिद्धार्थ ज्योति नेपालको संयोजनमा भएको सो कार्यक्रममा डा दुगुजुले नेपालमा गर्भवती अवस्थामा धूमपान गर्नुहुन्न भन्ने सन्देश पुगे तापनि गाउँघरमा गर्भवतीले सुर्तीयुक्त गुट्खा र पान सेवन गर्ने प्रवृत्तिले आमा र शिशुको स्वास्थ्यमा नकारात्मक असर गरिरहेको बताइन् । उनले भनिन्, “श्रीमान् र सासूससुराले गर्भवतीकै छेउमा धूमपान गरिदिँदा अप्रत्यक्ष धूमपान हुन गई बच्चाको टाउको ठूलो हुने, सुस्त मनस्थितिको बच्चा जन्मिने, गर्भ तुहिने, शिशु र आमाको रोगप्रतिरोधात्मक क्षमता ह्रास भइरहेको छ ।”

कार्यक्रममा चित्तपोल स्वास्थ्य चौकीका इन्चार्ज खेमनन्द पौडेलले प्रत्यक्ष र अप्रत्यक्ष धूमपानका कारण गर्भवतीले जन्म दिएको शिशुको तौलमा कमी आउने, पूर्ण रुपले विकास नभइकन शिशु जन्मने खतरा हुने र शिशुमा दीर्घकालीन रोग निम्तिने जानकारी दिए । उनले समुदायको सहयोगमा कम्तीमा स्वास्थ्य चौकीको वरपरलाई सुर्ती निषेधित क्षेत्र घोषणा गरिने प्रतिबद्धता जनाए ।

सञ्जालका जिल्ला संयोजक रत्नश्वरी चवालले नेपालमा ३७ प्रतिशत महिलाले प्रत्यक्ष धूमपान गर्ने गरेको जानकारी दिइन । उनले विगतमा गाउँघरका महिलाले नबुझेका कारण र सहरी महिलाले सौखिनता प्रदर्शन गर्न मात्र धूमपान गर्ने गरेकामा हाल धूमपानसेवनकर्तामा शिक्षित किशोरीको सङ्ख्या बढ्नाले चिन्तित तुल्याएको बताइन् ।

हिन्दी र पश्चिमा चलचित्र अनि युट्युबमा पाइने सी ग्रेडका अश्लील नेपाली छोटा चलचित्रमा नायिकाले धूमपान गर्ने दृष्य अधिक हुँदा किशोरीलाई सुर्ती सेवन गर्न उक्साएको उनको ठम्याइ छ । “यसलाई नियन्त्रण गर्न सरकारले कानुनको कार्यान्वयनमा तदारुकता देखाउनुपर्छ,” उनले भनिन् । रासस

थप समाचार


Facebook Comment