तपाँईले बच्चालाई स्कुल भर्ना गर्नु अघि दृष्टि परीक्षण गराउनुभयो ?

dr. aanand ku sharma
डा. आनन्द कुमार शर्मा बरिष्ट नेत्र विशेषज्ञ , विपी कोइराला नेत्र अध्ययन केन्द्र महाराजगञ्ज

नयाँ शैक्षिकसत्र शुरु भइसकेको छ । आफ्ना बालबच्चालाई स्कुलमा भर्ना गर्ने काम सुरु भइसकेको छ । कतिपयले त भर्ना गरिसक्नु पनि भइसकेको होला । अचेल ३– ४ वर्षको उमेर देखीनै बच्चाहरुलाई प्लेग्रुप, नर्सरी, केजी तथा शिशुकक्षामा भर्ना गर्ने चलन आएको छ । सानैदेखी शिक्षारम्भ गराए आफ्नो सन्तान सबैभन्दा योग्य हुन्छ भन्ने अभिभावकको विश्वास पनि हुनसक्छ ।

तर सानो उमेरमा बच्चालाई विद्यालयमा पठाउनु अघि उसको शारीरिक तथा मानसिक स्वास्थ्यमा ख्याल राख्नु पर्दछ । अझ भनु शारीरिक स्वास्थ्यमा पनि ‘आँखा स्वास्थ्य’मा अभिभावक तथा विद्यालय शिक्षकहरु विशेष चनाखो हुनुपर्छ ।

vision test

किनकी पढाईको दौरानमा सबैभन्दा क्रियाशील हुने बच्चाको आँखा कमजोर भयो भने र अभिभावक तथा शिक्षकहरुले त्यसको ख्याल गरेन भने उसको दृष्टी सदाका लागि कमजोर हुन सक्दछ । त्यसैले आफ्ना बच्चालाई भर्ना गर्नु अघि दृष्टि परीक्षण गर्न जरुरी छ ।

दृष्टि परीक्षण के का लागि ?

विभिन्न अध्ययनहरुले संसारका झण्डै ३ प्रतिशत बालबालिकाहरुमा दृष्टिदोश हुने गरेको जनाएको छ । अझ नेपालमा सो संख्या बढेर झण्डै ५ प्रतिशत पुगेको अनुमान छ । ३ – ४ वर्षको उमेर देखी नै बच्चाहरुलाई मायोपिया( नजिकको देख्ने टाढाको नदेख्ने ) समस्या, हाइपरमेट्रोपिया (नजिक र टाढा दुबै धमिलो देख्ने ), अस्टिङमाटिजम( चस्मा लगाउनै पर्ने ) एम्वीलोपिया ( आँखा अल्छि हुने) समस्या देखापर्छ ।

त्यस्तै धेरैमा रिफ्लेक्टिभ इरर देखापर्छ, समयमै उपचार भएनभने त्यसले टाउको दुख्ने समस्या ल्याउछ । यी समस्या कतिपय सामान्य हेराईले थाह पनि हुदैन ।

बच्चाहरु स्कुल त जान्छ सरले अगाडी लेखेको पछाडीबाट देख्नसक्दैन । फेरी आफ्नो आँखामा त्यस्तो समस्या छ भनेर पनि सबैले भन्न पनि सक्दैन यस्तो गर्दा बच्चाको आँखा कमजोर हुन्छ भने पढाई पनि त्यस्तै समस्यामा पर्छ । अझ आँखा अल्छि भयो र समयमै उपचार भएन भने पछि उपचार नै समेत सम्भव हुदैन ।

बच्चाको क्रियाकलापबाट पनि थाह हुन्छ आँखाको कमजोर भएको
–कक्षाकोठाको अगाडीको बेन्चमा बस्दा बोर्डमा लेखेको कुरा हेरेर सार्ने र पछाडीको बेन्चमा बस्दा साथीको कापीमा हेरेर सार्ने गर्‍यो भने त्यस्तो बच्चामा दृष्टि समस्या हुनसक्छ ।

–कक्षाकोठामा पढाएको बेलामा प्रफुल्ल मुद्रामा सुन्ने र लेख्न लगाउदा अफ्ठेरो संग कितावका अक्षर हेर्‍यो भने पनि त्यसमा समस्य देखिन सक्छ ।

–शनिबार विदाका दिन फ्रेस हुने र आइतबार विद्यालय जाने बेलामा निनाउरो हुने गर्‍यो भने पनि उसलाई आँखाको समस्याले सताएको हुनसक्छ ।

–विहान उठदा फ्रेस हुने तर स्कुलबाट आउदा टाउको दुख्ने बतायो भने पनि उसमा आँखाको समस्या हुनसक्छ ।

–कितावका अक्षर हेर्दा, टाढाको बस्तु हेर्दा आँखा चिम्सा( खुम्च्यायो ) पारयो भने पनि आँखामा समस्या हुन्छ ।

–घरमा टिभी सामान्य भन्दा नजिकबाट मात्रै हेर्छ भने पनि तपाईको बच्चामा आँखा समस्या परेको हुनसक्छ ।
यी कुरा स्कुलमा शिक्षक र घरमा अभिभावकले ख्याल गर्नुपर्छ ।

समाधानको उपाय के त ?
समाधानको उपाय आँखा जाच गरेपछि सजिलै निस्कन्छ । जस्तै :मायोपिया भएको बच्चालाई माइनस पावरको चस्मा लगाइदिने, हाइपरमेट्रोपिया भएको बच्चलाई प्लस पावरको चस्मा लगाइदिने, कतिपयलाई त्यो भन्दा पनि समान्य समस्याले अल्झाइ राखेको हुन्छ । आँखा टेढो हुने, रिफ्लेक्टिभ इरर , अस्टिङमाइटिजम जस्ता समस्याको पनि सजिलो समाधान हुन्छ । त्यस्तालाई पनि आवश्यकता अनुसार नेत्र चिकित्सकहरुले उपचार गरिदिन्छन ।

त्यसैले समस्या र समाधान दृष्टि परीक्षणपछि मात्रै निस्कन्छ । हामीले आफ्ना छोराछोरीहरु शारीरिक रुपमा स्वस्थ छन भन्छौ, चाहन्छौ तर महत्वपूर्ण मानिने आँखामा भित्र भित्रै समस्या रहेको हुन्छ जसको समयमै पहिचान नभई उपचारमा ढिलाई हुदा दृष्टि सदाका लागि कमजोर हुने वा गुमहुने अवस्था पनि आउन सक्छ । त्यसैले स्वस्थ बच्चाहरुको पनि एक पटक दृष्ट्रि परीक्षण गराऔँ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *