रगत नपाएरै छट्पटिँदै गर्भवती, स्वास्थ्यकर्मीले नै रगत दिएर बचाए

- नेपाली हेल्थ

blood donetionनिमेन्द्र शाही /बाजुरा (२८ वैशाख) – बाजुरा जिल्लाको आटीचौर गाविस–८ नाइना गाउँकी ३० वर्षीया दीर्घा चदारा रक्तश्रावले कामजोर भए पछि जिल्ला स्वास्थ्य कार्यालय बाजुराका स्वास्थ्यकर्मी र स्थानीयले रगत दिएर नयाँ जीवन दिएका छन् ।

चदारालाई गत हप्ताको बुधबार प्रसव पीडाले छट्पटी भयो । घर नजिकै स्वास्थ्य संस्था नभएकाले गाउँकी स्वयम्सेवीले उनलाई प्रसूति गराउनलाई स्याहार गरिन् । उनले पाँचौँ बच्चालाई त जन्म दिइन् तर साल ननिस्की नियमित छ दिनसम्म रक्तश्राव भएपछि जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा पु¥याइएपछि मात्र उनले नयाँ जीवन पाएकी हुन् ।

उनको शरीरमा हेमोग्लोविनको मात्रा जम्मा १ दशमलव ५ मात्र थियो सामान्यतया मानिसको शरीरमा ६ दशमलवभन्दा माथि रगत हुनुपर्ने हुन्छ । तुरुन्त रगत नपाएपछि ज्यानसमेत जाने खतरा भएका कारण आकस्मिक प्रसूति केन्द्र बाजुराका डा राजन न्यौपानेको सक्रियतामा आइतबार राति २ बजेनै स्वास्थ्यकर्मी मानबहादुर हमालले रगत दान गरेका थिए ।

सोमबार बिहान जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक दलबहादुर बोगटी, प्रहरी जवान हरिसिंह ठगुन्ना, स्वास्थ्यकर्मी शुदन गौतम, करे रावल, सत्यराज फडेरा, राजेश बर्मा र पत्रकार पदम सिंहले रगत दिएर चदारालाई नयाँ जीवन दिएका हुन् । अहिले चदारालाई दश पिन्ट ए पोजेटिभ रगत चाहिएको डा. न्यौपानेले बताए ।

गत साता आइतबार प्रसूति हुन नसकेकी चार दिनपछि बोकेर ल्याइएकी जगन्नाथ गाविस–३ मल्लो हुनिकी २२ वर्षीया वसन्ती विष्ट र बडिमालिका नगरपालिका–९ की शारदा विकलाई समेत स्वास्थ्यकर्मी र नेपाली सेनाले रगत दिएर ज्यान जोगाएका थिए ।

विष्ट र विकलाई रगत नपाएर छट्पटिएको खबर नेपाली सेनाले थाहा पाइसकेपछि पाँच जनाले एक-एक पिन्ट रगत दिएका थिए । रगत दिनेमा नेपाली सेनाका जवान रुपेश आलेमगर, रामसिंह नेपाली, वुद्धिबहादुर उपरकोटी, डबल तामाङ, गणेशसिंह ठगुन्ना र स्वास्थ्यकर्मीमा डा राजन न्यौपाने, बिक्की प्रसाँई र टेकबहादुर खड्का हुन् । उनीहरुले ओ पोजिटिभ रगत दान गरेका थिए ।

विष्टको साल निस्केपनि बच्चा ननिस्केका कारण रक्तश्राव भएर हेमोग्लोबिनको मात्रा कम भएको थियो भने रक्तदानपछि उनको शल्यक्रियाद्वारा मृत बच्चा निकालेर आमाको ज्यान बचाएको आकस्मिक प्रसूति केन्द्रका स्त्रीरोग विशेषज्ञ डा राजन न्यौपानेले बताए ।

त्यस्तै, प्रसूति हुन नसकेर सात दिनदेखि शारदा विकसमेत छट्पटाइरहेकी थिइन् । उनकोसमेत रगत पाएपछि शल्यक्रिया गरी बच्चा निकालिएको थियो । उनलाई चाहिने बी पोजिटिभ रगत स्वास्थ्यकर्मी गोमती कटुवाल, मीना थापा र दुर्गा बजगाईंले एक÷एक पिन्ट रगत दिएका हुन् ।

जिल्लामा रगत सङ्कलन केन्द्र नभए पछि यहाँका नेपाली सेना, प्रहरी जवान र स्वास्थ्यकर्मी आफैँले रगत दिएर बिरामी बचाउने गरेका छन् । अहिले सामूहिक रुपमा रगत दान गर्नेको समेत केही विकास भएको छ । त्यसको संयोजनसम्म गर्न पनि नेपाल रेडक्रसले प्राविधिक र ठाउँको अभावमा सकेको छैन ।

बाजुरा जिल्लामा हरेक वर्ष रक्तश्रावका कारण गर्भवती महिलाको मृत्यु हुने गरेको छ । तीन वर्षको तथ्याङ्कलाई केलाउने हो भने आव २०६९/०७० मा चार जनाको मृत्यु भएको थियो, २०७०/०७१ मा घटेर एक जनाको मात्र मृत्यु भएको थियो । यस आवमा भने फेरि बढेर तीन पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय बाजुराको तथ्याङ्कमा राखिएको यो सङ्ख्या स्वास्थ्य संस्था बाहिरको हो । तर यसमा सबै घटना दर्ता नभएका पनि हुनसक्ने तथ्याङ्क शाखाका कर्मचारी रुगुम थापाले बताउनुभयो ।

थापाले दिएको जानकारीअनुसार स्वास्थ्य संस्थामा सुत्केरी हुनेको तथ्याङ्क हेर्ने हो भने आव २०६९/०७० मा ४८ प्रतिशत, २०७०/०७१ मा घटेर ४३ प्रतिशत र अहिलेको वर्ष बढेर ५५ प्रतिशत पुगेको छ । अहिले पनि जिल्लाका ४५ प्रतिशत महिला स्वास्थ्य संस्था बाहिरै सुत्केरी हुने गरेको देखिन्छ ।

जिल्लामा रहेका एक नगरपालिका र २४ गाविसमा जम्मा चार वटा गाविस जुकोट, बिच्छ्याँ, वाइ र कोटीला गाविसमा बर्थिङ सेन्टरसमेत छैनन् भने अन्यमा २२ वटा बर्थिङ सेन्टर र कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा प्रसूति सेवा र सदरमुकाम मार्तडीमा आकस्मिक प्रसूति केन्द्र रहेको छ । रासस


Facebook Comment


थप समाचार