स्वास्थ्य शिबिर राख्दा राख्दै दुई चिकित्सक सहित सात कोरियन पक्राउ
ललितपुर – दुई चिकित्सक सहित ७ जना कोरियाली नागरिक पक्राउ परेका छन् । म्याद गुज्रिएको औषधि वितरण गरेको आरोपमा ललितपुरको नक्खुबाट सोमबार उनीहरु प्रक्राउ परेका हुन् ।
नख्खुमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको ललितपुर प्रहरी प्रमुख एसएसपी पीताम्वर अधिकारीले जानकारी दिए । उनीहरुले वितरण गरेको औषधिको म्याद गुज्रिएको र प्रशासनबाट समेत शिविर राख्न कुनै स्वीकृति नलिएकाले पक्राउ गरिएको उनको भनाई छ ।
पक्राउ परेका सबैजना केही दिनअघि पर्यटन भिसामा नेपाल आएर स्वास्थ्य शिविर सञ्चालन गरेका हुन् । आइतबार उनीहरुले फर्पिङ र चाल्नाखेलमा निशुल्क स्वास्थ्य शिबिर चलाई औषधि वितरण गरेका थिए ।
सोमबार नख्खुमा शिविर राख्ने तयारी गर्दा गर्दै प्रहरीले पक्राउ गरेको हो । कोरियाबाटै ल्याइएका औषधिपनि प्रहरीले बरामद गरेको छ । जसमा औषधिको म्याद कोतरिएको र कतिपयको म्याद गुज्रिएको प्रहरीले जनाएको छ । उनीहरुलाई कारबाहीका लागि मंगलबार औषधि व्यवस्था विभागमा बुझाइने एसएसपी अधिकारीले बताए ।
सम्पर्क इमेल : [email protected]