हुम्लामा रुघाखोकीले २० को मृत्यु

humlaसिमीकोट (हुम्ला) – असामान्य लक्षणको रुघाखोकीका कारण दुर्गम हिमाली जिल्ला हुम्लामा २० जनाको मृत्यु भएको छ। एक हजार पाँच सयभन्दा बढीमा रुघाखोकी देखिएको छ । जिल्लाका स्याँडामा ९, रायामा ७, रोडिकोटमा २ र मदनामा २ जनाको ज्यान गएको छ।

फागुनदेखि फैलिएको रुघाखोकीले जिल्लाका २७ वटै गाविसलाई प्रभावित बनाएको छ । लामो समय रुघाखोकीले थलिएका बिरामी वैशाख महिना सुरु भएसँगै मर्न थालेका थिए।

जिल्ला स्वास्थ्य कार्यालय हुम्लाका निमित्त प्रमुख अमरदीप देवले रुघाखोकीसँग सम्बन्धित रोगका कारण राया, स्याँडा र मदनामा मात्र १८ जनाको मृत्यु भएको जानकारी दिए।

उनका अनुसार सबैभन्दा बढी प्रभावित राया गाविस ६ मा दुई दम्पतीसहित ७ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा अधिकांश ५० वर्षमाथिका वृद्धवृद्धा रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

नाक, कान र घाँटी दुख्ने, ज्वरो आउने, शरीर दुख्ने, खान मन नलाग्ने, हल्का पखाला लाग्ने र सास फेर्न निकै गारो हुने लक्षण देखिएको रुघाखोकीले मदनामा २ जनाको ज्यान लिएको थियो।

मदनाबाट शिक्षक सिंहबहादुर बुढाले फागुनदेखि मौसम परिवर्तनसँगै फैलिएको रुघाखोकीले वैशाख ६ सम्म मदना ५ का ६५ वर्षीय वेलकला रावल र मदना ६ का ५५ वर्षीय मनसिंह बैजीको ज्यान गएको जानकारी दिए।

जिल्ला सदरमुकाम सिमकोटदेखि ४८ कोस दूरीमा रहेको मदनास्थित स्वास्थ्य संस्थामा औषधि नहुँदा २ जनाले ज्यान गुमाएका थिए।चीनसँग सीमा जोडिएको लिमीबाहेकका प्रायः सबै गाविसमा रुघाखोकीका बिरामी देखापरेका छन्।

रुघाखोकीले जिल्लाको मध्यक्षेत्रका गाविससमेत प्रभावित भएका छन् । रोडीकोटको राहदेवमा बिरामीको संख्या पहिलेको तुलनामा निकै बढेको स्थानीय प्रकाश हमालले बताए।

लामो समयदेखि रुघा फैलिएको रोडिकोटमा रहेको स्वास्थ्य संस्थामा पर्याप्त औषधि नहुनु र स्वास्थ्यकर्मी पनि नबस्दा बिरामीको संख्या बढेको हमालको दाबी छ।जिल्ला प्रकोप उद्धार समितिका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी डा। कृष्णबहादुर घिमिरेले जिल्लाभर रुघाखोकीको प्रकोप निकै बढेको भन्दै स्वास्थ्यकर्मीलाई जिल्ला नछाड्न उर्दी जारी गरेका छन्।

उनले भने, ‘जिल्लामा रुघाखोकीजस्तो सामान्य रोगका कारण २० जनाको ज्यान गएको छ भने सयौं बिरामी परेका छन् । उनीहरूको स्वास्थ्यमा सुधार गर्नु राज्यको दायित्व हो । त्यसैले जिल्लाका स्वास्थ्यकर्मीलाई जिल्लाबाहिर नजान निर्देशन दिएको हुँ।ु

रुघाखोकीले सिमकोट नजिकैको खार्पुनाथमा समेत बिरामी परेका छन् । खार्पुनाथ स्वास्थ्य चौकीकी अनमी श्यामकुमारी शाहीका अनुसार दिनहुँ १० भन्दा बढी बिरामी स्वास्थ्य चौकीमा आउने गरेका छन्।

जिल्ला सदरमुकाम सिमकोट नजिकै भएका कारण खार्पुनाथमा भने औषधि त्यति अभाव नभएको शाहीले बताइन् । सिमकोटमाथिको क्षेत्रमा समेत रुघाखोकीका बिरामी बढेका छन्। खगालगाउँ केर्मीका छिमेल लामाका अनुसार केर्मी र मुचुमा पनि खकारमा रगत देखापर्ने, दिसामा समेत रगत देखिने, घाँटी दुख्ने, ज्वरो आउने लक्षण भएको रुघाखोकीले निकै सताएको छ।

स्याँडामा एकै घरमा तीनजनासहित ९ जनाको मृत्यु भएकोमा २ जनाको बिरामी अवस्थामै लडेर मृत्यु भएको जानकारी स्याँडा स्वास्थ्य चौकीका इन्चार्ज खडानन्द न्यौपानेले दिए। कार्यालयका निमित्त प्रमुख अमरदीप देवका अनुसार रुघाखोकीबाट ज्यान जानेमा राया २ का ६६ वर्षीय सर्पजित रावल, ५ का ३७ वर्षीय विष्णु रावल, ६ का ६३ वर्षीय हीरा रावल, ८ का ६४ वर्षीय जस रावल, ७ का ८६ वर्षीया रिउली रावल छन्।

राया ८ का ६० वर्षीया चीनाकली रावल र राया ६ का ७६ वर्षीय सिरे रावलको रुघाखोकीकै कारण ज्यान गएको हो। अस्वाभाविक रूपमा फैलिएको रुघाखोकीका कारण एक साताकै अवधिमा स्याँडामा पनि ७ जनाको ज्यान गएको छ।

रुघाखोकीले स्याँडा ५ मा एकै घरमा ६४ वर्षीया भ्याल्ली रोकाया, ८० वर्षीय जप्ते रोकाया र ७२ वर्षीय भोटाने रोकायाको ज्यान गएको छ। लामो समयदेखि बिरामी भएका स्याँडा ५ की ९४ वर्षीया ढाली बुढा, ८ का ७५ वर्षीय पाथे शाही, ४ की ८४ वर्षीया लामती बुढा, ६ का ७२ वर्षीय भद्रवीर बुढा र ८ का ५८ वर्षीय छत्त शाहीको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

  • आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *