अनियमिता र लापर्वाही भन्दै मध्यमाञ्चलको करार नतिजा मन्त्रालयले खिच्यो, निर्देशक हटाइयो

mohp

काठमाडौँ – मापदण्ड विपरीत परीक्षा लिई नतिजा प्रकाशित गरेको भन्दै स्वास्थ्य मन्त्रालयले मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय हेटौडाले प्रकाशित गरेको करार सेवाको नतिजा कार्यान्वनयमा रोक लगाएको छ ।

मन्त्रालयले सो परीक्षा र नतिजा सम्वन्धी सम्पूर्ण कागजात मन्त्रालय तानि छानवीन अघि बढाएको छ । मन्त्रालयका उपसचिव हरिदास शर्मा र शाखा अधिकृृत रमेश पौडेल सहित दुई सदस्यीय छानवीन समिति गठन गरेको छ । उनीहरुलाई परीक्षा प्रणालीमा भएको लापरबाही र अनियमितताको अध्ययन गरी प्रतिवेदन पेश गर्न भनिएको छ ।

लापरबाही र अनियमित ढंगले परीक्षा सञ्चालन गरेको भन्दै मन्त्रालयले क्षेत्रीय निर्देशक डा. शैलेस झालाई सो पदबाट हटाइएको छ । सोमबारको मन्त्रीस्तरीय निर्णयबाट उनको काज फिर्ता गर्ने निर्णय भएको हो ।

उजुरीकर्ताहरुले अन्तर्वार्ता मिति नै सार्वजनिक नगरि आफ्ना मान्छेलाई मात्र जानकारी दिई नतिजा सार्वजनिक गरेको आरोप लगाएका छन् । स्रोतका अनुसार परीक्षाका समितिमा अहेव तहका व्यक्तिहरु समेत बसेका थिए ।

अन्तर्वार्ता मार्फत रातारात एकपक्षीय ढंगबाट नतिजा निकालेपछि दरखास्त दिनेहरुले मन्त्रालयमा मौखिक तथा लिखित उजुरी गरेका थिए ।

मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले लापरबाहीपूर्ण परीक्षा र नतिजा भएको भन्ने उजुरी परेपछि मन्त्रालयले नतिजा सहित सबै कागजात खिचेको बताए । उनले नतिजामा उत्तीर्ण भएकालाई समेत नियुक्ती नदिन निर्देशनालयलाई जानकारी गराएको बताए । उनले उजुरीकै आधारमा मध्यमाञ्चलका निर्देशक डा झालाई कारबाही स्वरुप जिम्मेबारीबाट हटाइएको बताए ।

मध्यमाञ्चलका लागि मागिएको करारका लागि हेल्थ असिस्टेन्ट ४ सय, स्टाफनर्स १३, अनमी ३३२ जना, अहेव ३३१ जना माग गरिएको थियो । त्यसैगरी ल्याव असिस्टेन्ट ३ मेडिकल रेकर्डर १ डार्करुम असिस्टेन्ट १ जना र माइक्रोस्कोपी २ जना गरी १ हजार ८३ जनाका लागि करार सेवामा दरखास्त मागेको थियो ।

मन्त्री र राज्यमन्त्रीबीचको लडाई

करारमा अन्तर्वार्ता लिएर प्रकाशित गरिसकेको नतिजा मन्त्रालयले एकाएक खिचेर छानवीन बढाउनुलाई धेरैले राम्रो कदम भनेका छन् । तर यो कदमको भित्री पाटो भने अर्कै छ ।

मन्त्रालय उच्चस्रोतका अनुुसार स्वास्थ्य मन्त्री रामजनम चौधरी र राज्यमन्त्री मो मुस्ताक आलमबीचको द्धन्द हो । राज्यमन्त्री आलमले क्षेत्रीय निर्देशक बनाएका डा शैलेस झाले मध्यमाञ्चलको सो परीक्षामा पनि राज्यमन्त्रीले पठाएको लिष्टबाटै नतिजा प्रकाशित गरेपछि क्रुद्ध बनेको मन्त्री चौधरीले नतिजा उल्ट्याउन खोजेका हुन् ।

‘अहिले सबै राज्यमन्त्रीका परेका रहेछन्, फुल मन्त्रीका नपरेपछि रिस उठ्ने नै भयो । त्यसैले यो नाटक गरिएको हो । किनकी यसमा करोडौको कारोबार समेत भएको छ । परीक्षालाई मर्यादित बनाउन खोजिएको पटक्कै होइन । तपाईँ ढुक्क हुनुस्,’ स्रोतले भन्यो ।

स्रोतले पछिल्लो समय आर्थिक चलखेलमा मन्त्री र राज्यमन्त्री दुबैको प्रतिस्पर्धा चलेकोले हरेक निर्णयमा उनीहरुबीच द्धन्द चर्कन थालेको बतायो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “अनियमिता र लापर्वाही भन्दै मध्यमाञ्चलको करार नतिजा मन्त्रालयले खिच्यो, निर्देशक हटाइयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *