‘सुनौला १००० दिन’ जनजागरण अभियान आजदेखी सुरु

1काठमाडौँ – सरकारले महिला तथा बालबालिकाको पोषण स्थितिमा सुधार ल्याउन ‘सुनौला हजार दिन’ जनजागरण अभियानको शुभारम्भ गरेको छ । शिशु गर्भमा रहेदेखि जन्मेको दुई बर्ष सम्मको अवधिलाई सुनौलो १००० दिन भनिएको हो ।

विहीबार विशेष समारोहकाबीच स्वास्थ्यमन्त्री रामजनम चौधरीले अभियानको शुभारम्भ गरेका थिए । सो अभियान नेपाल सरकार (राष्ट्रिय योजना आयोग, स्वास्थ्य मन्त्रालय) युरोपेली सङ्घ र संयूक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ)को सहकार्यमा गर्न लागिएको हो ।

अभियानको शुभारम्भ गर्दै स्वास्थ्यमन्त्री चौधरीले अभियान नेपालका महिला, बालबालिका, किशोरकिशोरीका लागि फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले देश समृद्ध हुन गर्भवती , सुत्केरी आमा र बच्चाको स्याहार गर्नुपर्नेमा जोड दिए ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडाले पोषणमा लगानी मानव पुँजीमा लगानी भएको बताउँदै दिगो विकासको लक्ष्य हासिल गर्नका लागि पनि पोषणमा सुधार ल्याउन आवश्यक रहेको उल्लेख गरे ।

व्यवस्थापिका संसद, महिला, बालबालिका ज्येष्ठ नागरिक तथा समाजकल्याण समितिका सभापति रञ्जुकुमारी झाले सुनौला हजार दिन जनजागरण अभियानले भोक, रोग, अशिक्षा र गरिबीको कारण व्याप्त कुपोषणको समस्या हल गर्न व्यवस्थापिका संसदका सबै समिति र सरोकारवाला मन्त्रालय समन्वयात्मक रूपमा अघि बढ्नुपर्ने बताइन् ।

युरोपेली सङ्घका नेपाल प्रतिनिधि रेन्सजी टेरिङकले पोषण बहुआयामिक विषय भएकाले यसका लागि पनि बहुक्षेत्रीय पहल गर्न आवश्यक पर्ने बताइन् । उनले भनिन्,‘‘यो अभियानले मातृशिशु तथा बालबालिकाको पोषण अवस्थामा सुधार ल्याउने विश्वास लिएको छु ।’’

युनिसेफका नेपाल प्रतिनिधि टोमो होजुमीले हजार दिनको संवेदनशील समयमा उचित पोषण र हेरचाह गर्दा बालबालिकाको शारीरिक तथा मानसिक क्षमतामा गहिरो प्रभाव पार्ने उल्लेख गर्नुभयो ।

सो अवसरमा नेपाली क्रिकेट टिमका कप्तान पारस खड्कालाई पोषण, खाद्य सुरक्षा तथा सुनौला हजार दिन जनजागरण राष्ट्रिय अभियानका लागि राष्ट्रिय सद्भावना दूत घोषणा गरिएको थियो ।

सरकारले मातृशिशु पोषण स्थितिमा सुधार ल्याउन बहुक्षेत्रीय पोषण योजना सुरु गरेको छ । अझै पनि आमा तथा बालबालिकाको मृत्युको मुख्य कारण कुपोषण भएकाले उक्त योजनाले आमा र बच्चाको पोषण स्थितिमा सुधार ल्याउने लक्ष्य राखेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *