धौलागिरी चुचुरोमा मुटुको चाल परीक्षण गर्दै बेलायती सेना

dhawalagiri

काठमाडौँ – कम अक्सिजन भएको निकै उच्च स्थानमा व्यायाम गर्दा मुटुमा पर्ने प्रभावको अनुसन्धान गर्न बेलायती सेनाका सदस्यले शरीरमा प्रत्यारोपण गरिने बायोसेन्सरको नेपालमा परीक्षण गर्ने भएका छन् ।

विश्वका अग्ला हिमालमध्येमा सातौँ स्थानमा पर्ने ८,१६७ मिटर अग्लो धवलागिरीको उत्तर–पूर्वी भागबाट आरोहण गर्दै बेलायती टोलीले शृङ्खलाबद्ध चिकित्सा परीक्षण गर्नेछ ।

‘ब्रिटिस सर्भिसेस धवलागिरी मेडिकल रिसर्च एक्सपेडिसन २०१६’ नाम दिइएको सो टोलीले मानव शरीरमा उच्च स्थानको वातावरणले पार्ने प्रभावबारेमा अनुसन्धान गर्नेछ । प्रत्यारोपण प्रविधिको छ हजार मिटरमाथिको उचाइमा सेनाले अनुसन्धान गर्न लागेको यो पहिलो घटना हुने बताइएको छ ।

बेलायती सेनाको टोलीले छ हप्ता आफूलाई वातावरणमा अनुकूल बनाएपछि अक्सिजन बिना आरोहण सुरु गर्नेछ । आउँदो मे २० सम्म आरोहण पूरा गरिसक्ने अनुमान गरिएको छ ।

सेनाको आरोहण दलले गत चैत २१ गते पर्यटन विभागबाट आरोहण अनुमति प्राप्त गरिसकेको छ । एड्रिन जोन मिलर नेतृत्वको १२ सदस्यीय यो आरोहण दल चैत २२ गते नै काठमाडौँबाट धवलागिरीतर्फ लागेको विभागले जनाएको छ ।

सेना संलग्न रहेको आरोहण दल भएकाले सुरक्षाको दृष्टिले संवेदनशील मानिने भए पनि यो आरोहणको विषयमा गृह मन्त्रालयमा अहिलेसम्म कुनै जानकारी भने छैन ।

मन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालाका अनुसार आरोहणको विषयमा पर्यटन मन्त्रालयमार्फत पनि अहिलेसम्म मन्त्रालयलाई कुनै आधिकारिक जानकारी प्राप्त छैन ।

आरोहणमा संलग्न मुख्य टोलीले ८,१६७ मिटरको उचाइमा दुईवटा अनुसन्धान गर्नेछ । जस अनुसार न्यून अक्सिजन भएको अवस्थामा शरीरमा फलाम तत्वसहितको इन्जेक्सन शरीरमा लगाएर त्यसको प्रभाव जाँच्ने र आरोहण गर्दा मुटुको चाल हेर्ने दुईवटा अनुसन्धान सो टोलीले सम्पन्न गर्ने जनाइएको छ ।

खेलकुद र व्यायाम विज्ञानमा यो अनुसन्धानले ठूलो महìव राख्ने त छ नै, अनुसन्धानबाट तयार पारिएको तथ्याङ्कले रोग वा कुनै बिरामी अवस्थामा मुटुले देखाउने व्यवहार बुझ्न पनि ठूलो मद्दत पुग्ने विश्वास गरिएको छ ।

चिकित्सा क्षेत्रमा नवीनतम उपकरण मेड्ट्रोनिक रिभेल एलआईएनक्यूको प्रयोग बेलायती टोलीले गर्नेछ । दुई इन्च आकारको यो ताररहित उपकरण छालामुनि प्रत्यारोपण गरेमा यसले मुटुको हरेक चाल अनुगमन गर्छ ।

यस उपकरणलाई छातीको छालामुनि सामान्य शल्यक्रियाद्वारा प्रत्यारोपण गरिन्छ । यस उपकरणले धवलागिरी हिमाल आरोहण गरिँदा आरोहीको हरेक धड्कनको तथ्याङ्क तयार पारी भू–उपग्रहमार्फत भण्डारण गर्नेछ ।

मुटु रोग विशेषज्ञ डा. क्रिस्टोफर बोसको नेतृत्वमा रहने टिमका सदस्यमा पोली अस्पतालले सो उपकरण प्रत्यारोपित गर्नेछ । जुन उपकरणले स्वतः आरोहीको मुटुको हरेक चालको तथ्याङ्क तत्काल बेलायतमा रहेको नियन्त्रण कक्षमा पठाउनेछ ।

उच्च स्थानमा मानिस पुग्दा अक्सिजनको कमीमा बिरामी पर्ने वा लेक लाग्ने जस्तो जीवन जोखिममा पर्ने अवस्थाको वास्तविकता बुझ्न यो अनुसन्धानले सहयोग पुग्ने भनाइ बोसको छ ।

मुटुको अनियमित धड्कनको सटीक निदान गर्न मेड्ट्रोनिक रिभेल एलआईएनक्यू बनाइएको छ । एउटा सानो ब्याट्रीको एक तिहाइ आकारको मेड्ट्रोनिक रिभेल एलआईएनक्यू अहिलेसम्म उपलब्ध मुटुको चाल जाँच्ने सबैभन्दा सानो उपकरण हो । एक सेन्टिमिटरभन्दा पनि सानो घाउ पारेर यसलाई छालामुनि प्रत्यारोपण गर्न सकिन्छ । एकपटक प्रत्यारोपण गरेपछि यसले निरन्तर मुटुको चाल अनुगमन गर्छ । मेड्ट्रोनिक रिभेल एलआईएनक्यूमा प्रयोग गरिने ब्याट्रीको आयु तीन वर्ष हुन्छ ।

बेलायती सेनाले पहाडी युद्धका बेला सैनिकको मुटुमा उचाइले गर्दा पर्ने प्रभाव पनि जान्न खोजेको छ । बेलायती टोलीले धवलागिरी आरोहण गर्नुपहिले ६,०६० मिटरमा रहेको धम्पुसमा बास बसेपछि ६,९०० मिटरमा रहेको टुकुचे शिखरको आरोहण गरेर आफूलाई  अभ्यस्त पार्ने प्रयास गर्नेछ । त्यसपछि टोलीले अक्सिजन बिना तेज गतिमा पाँच दिनभित्र धवलागिरी आरोहणको प्रयास गर्ने जनाइएको छ ।

  • आजको गोरखापत्र दैनिकमा उमेश ओझा र विश्वास रेग्मीले लेखेको समाचार

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *