पोलियो खोप परिवर्तन : बालबालिकालाई अब ‘ट्राइभ्यालेन्ट’को सट्टा ‘बाइभ्यालेन्ट’ खोप
काठमाडौँ – सरकारले पोलियो खोप परिवर्तन गरेको छ । यसअघि खुवाउदै आएको ‘ट्राइभ्यालेन्ट ओरल’ खोप सट्टा आज देखी ‘बाइभ्यालेन्ट ओरल’ खोप सुरु गरेको हो ।
नेपाललाई पोलियोमुक्त देश बनाउने लक्ष्यका साथ यो खोपको सुरुवात गरिएको हो । स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य महाशाखाका निर्देशक डा. राजेन्द्र पन्तले बालबालिकाहरुलाई अहिले दिइदै आएको खोप प्रभावकारी नभएको भन्दै खोप परिवर्तन गरेको बताए ।
उनले पोलियो एन्टीजिन परिवर्तन भएको भन्दै ‘पी१’ ‘पी२’ र ‘पी३’ दिइदै आएकोमा अव ‘पी२’ लाई झिकेर ‘पी१’ र ‘पी३’ दिन लागिएको बताए ।पोलियो भाइरसको इन्टीजिन परीवर्तन भएकोले खोप परिवर्तन गरिएको उनको भनाई थियो ।
यो खोप पनि पहिले जस्तै एक बर्ष मुनिका साढे ६ लाख बालबालिकालाई मुखबाट खुवाइने गरिन्छ । निर्देशक डा. पन्तले ‘बाइभ्यालेन्ट’ खोप खुवाउने तयारीसँगै सबै जिल्लामा खोप पठाइसकिएको र यसअघि पठाइएका ‘ट्राइभ्यालेन्ट ओरल’ फिर्ता ल्याउन लागिएको बताए ।
खोप शाखाका प्रमुख मुकुन्दराज गौतमले पोलियो भाइरसको इन्टजिन परिवर्तन भएकोले खोपमा पनि परिवर्तन गरिएको बताए । उनले नेपाल सहित १५० मुलुकमा एकैपटक यो खोपको सुरुवात गरिने योजना अनुरुप आजदेखी खोपको सुभारम्भ गरिएको बताए ।
सरकारले पहिलो पटक आफैँले साढे चार अर्बमा करिब एक वर्षलाई पुग्ने २२ लाख मात्रा ‘बाइभ्यालेन्ट ओरल’ खोप खरिद गरेको छ ।
नेपालमा सन् २०१० देखि हालसम्म पोलियो शून्य अवस्थामा छ । विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई सन् २०१४ मा पोलियो मुक्त प्रमाणपत्र प्रदान गरिसकेको छ ।
सम्पर्क इमेल : [email protected]