सुध्रिँदै सुदूरको स्वास्थ्य

su pa - Copy

बाजुरा – विकास पूर्वाधारमा सबैभन्दा पछाडि परेको सुदूरपश्चिमले स्वास्थ्य क्षेत्रमा भने फडको मारेको छ । नौ जिल्ला रहेको सुदूर पश्चिमका ५ वटा जिल्लाले स्वास्थ्य मन्त्रालयद्वारा गत महिना सार्वजनिक प्रगति नतिजामा मुलुकका ‘उत्कृष्ट १०’ भित्र अग्रस्थान प्राप्त गर्न सफल भएका छन् ।

नतिजाअनुसार स्वास्थ्य सुधारका हिसाबले अछाम देशभरिमै दोस्रो भएको छ । चौथो स्थानमा बैतडी, सातौंमा कञ्चनपुर, आठौंमा डोटी र नवौंमा बझाङ परेका छन् । यसअघि २०७०/७१ मा सुदूरका दुई जिल्ला अछाम र डडेल्धुरा मात्रै उत्कृष्ट १० भित्र परेका थिए ।

गरिबी सूचकांंकमा अन्तिम तथा मानव विकास सूचकांकमा ७४औं स्थानमा रहेको बाजुरा अघिल्लो वर्ष ०७०/०७१ मा ५२ औं स्थानमा थियो । पछिल्लो नजितामा भने बाजुरा १९औं स्थानमा उक्लिएको छ । अघिल्लो वर्ष १९औं स्थानमा रहेको सुदूरकै अर्को जिल्ला डोटी आठौं स्थानमा उक्लिएको हो ।

एक वर्षअघि ६९ औं स्थानमा रहेको अछाम भने छलाङ मार्दै मुलुकको स्वास्थ्य क्षेत्रमा दोस्रो स्थानमा उक्लिएको छ । ‘थुप्रै कठिनाइ हुँदाहुँदै पनि प्राप्त नतिजाबाट मिहिनेत गरे धेरै सुधार गर्न सकिन्छ भन्ने सिकाइ भएको छ,’ बाजुरा जनस्वास्थ्य कार्यालयका प्रमुख डा. मोहन नाथले भने ।

सेवातर्फका २४ र व्यवस्थापन तर्फका ११ गरी ३५ वटा सूचकहरूको जिल्लागत प्रगति अंकका आधारमा मन्त्रालयले नतिजा सार्वजनिक गरेको हो । सेवातर्फका २४ सूचकमध्ये खोप कार्यक्रम, पोषण सुधार, बाल विकास वृद्धि अनुगमन, सुरक्षित मातृत्व र परिवार नियोजन महत्त्वपूर्ण सूचक हुन् ।

सुदूरपश्चिमका ९ वटै जिल्लाले ०७१/७२ मा सेवा तर्फका यी मुख्य ५ सूचकको कुल पूर्णांक ३ सय २४ मध्ये २ सय ७१.९ अंक प्राप्त गरेको तथ्यांक विश्लेषणबाट देखिएको छ । अघिल्लो वर्ष यिनै सूचकमा २ सय ६१.१३ अंक अर्थात् ८० प्रतिशत थियो ।

तथ्यांकअनुसार सुदूर पश्चिमले मुख्य ५ सूचकमा अघिल्लो वर्षभन्दा ११ प्रतिशत सुधार वृद्धि गरेको देखिन्छ । ‘सुदूरपश्चिमले स्वास्थ्य सुधारमा फडको मारेको छ,’ स्वास्थ्य मन्त्रालयको अनुगमन मूल्यांकन महाशाखाका तथ्यांक अधिकृत शिवलाल शर्माले भने ।

सुदूरमा चुनौतीपूर्ण रहेको सुरक्षित मातृत्व कार्यक्रममा समेत उल्लेखनीय सुधार भएको प्रतिवेदनमा उल्लेख छ । सुरक्षित मातृत्व कार्यक्रम अन्तर्गत अघिल्लो वर्ष ९ जिल्लाको कुल ८१ अंक भारमा ५७ अंक प्राप्त गरेको थियो । यो वर्ष ६४ अंक ल्याएको छ ।

सुरक्षित मातृत्व कार्यक्रमअन्तर्गत ४ पटक गर्भ जाँच, संस्थागत प्रसूति र दक्ष स्वास्थ्यकर्मीद्वारा प्रसूतिको सूचक निर्धारण गरिएको छ । क्षेत्रीय स्वास्थ्य निर्देशनालयका तथ्यांक अधिकृत बन्दना श्रेष्ठले भनिन्, ‘सुदूरपश्चिमका जिल्ला अस्पतालहरूमा ०७१/०७२ मा ३३ गर्भवतीको सुत्केरीका क्रममा मृत्यु भएको देखिन्छ ।’ उनका अनुसार यो संख्या विगतभन्दा घटेको हो ।

डडेल्धुराबाहेक सुदूरका सबै जिल्लाको स्वास्थ्य अवस्था सुध्रिएको देखिएको छ । अघिल्लो वर्ष छैटौं स्थानमा रहेको अछाम चार स्थानमाथि उक्लिएर दोस्रो स्थानमा आएको छ । १५औं स्थानमा रहेको बैतडी चौथो स्थान उक्लिएको छ ।

डोटी १९औं स्थानमा थियो, अहिले आठौं स्थानमा आएको छ । २२औं स्थानमा रहेको कञ्चनपुर सातौंमा पुगेको छ । २५औंमा रहेको बझाङले सेवा सुधार गरेर नवौं स्थान हासिल गरेको छ । २८ औंमा रहेको दार्चुला एक स्थान उक्लिएर २७औं बनेको छ ।

कैलाली ३६औं स्थानमा थियो, अहिले २४औं स्थानमा आएको छ । तर, अघिल्लो वर्ष आठौं स्थानमा रहेको डडेल्धुरा भने झरेर ३१औंमा पुगेको छ ।

आधारभूत कुरामा ध्यान पुर्‍याएर सेवा प्रवाह गर्न सकेकाले सुदूरका जिल्लाको स्वास्थ्य अवस्था सुधार हुन सकेको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशक डा. सुशील प्याकुरेलले बताए । ‘औषधिको उपलब्धता र स्वास्थ्य कर्मचारीको प्रभावकारी परिचालनको परिणाम यो प्रगति प्राप्त भएको हो,’ निर्देशक प्याकुरेलले भने ।

नतिजामा प्रगति प्राप्त गरेकोमा सुदूरका जिल्लामा कार्यरत स्वास्थ्य क्षेत्रका नेतृत्वकर्ताहरू हौसिएका छन् । स्वास्थ्य सेवामा चर्चा बटुल्दै आएका बैतडीमा कार्यरत डा. गुणराज अवस्थी सुदूरको स्वास्थ्य अवस्था सुधार भएकोमा खुसी छन् ।

‘कर्मचारीले जागिर पकाउने मनस्थितिबाट मुक्त हुने हो भने सफलता प्राप्त हुन्छ,’ उनले भने, ‘सहकर्मीहरूको मिहिनेतले चार वर्षअघि ६८औं स्थानमा रहेको बैतडी अहिले चौथो स्थानमा पुग्यो ।’

  • कान्तिपुर दैनिकमा बाजुराबाट अर्जुन शाहले पठाएको समाचार
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *