तातो झिरले छेडेर उपचार !

12751978_1044144125659093_1256825788_o

गोरखा – राजधानी र अन्य सहरमा अत्याधुनिक सुविधा र प्रविधि सम्पन्न अस्पतालहरू खोल्ने प्रतिस्पर्धा नै छ तर यही देशको अर्को भूभाग गोरखाको हिमालपारि चीनसँग जोडिएको बिही गाविसमा भने अहिलेसम्म बिरामी पर्दा झिरले पोलेर उपचार गर्ने कहालीलाग्दो अन्धविश्वास छ ।

स्थानीय तेन्जिङ लामाका अनुसार एक महिनाअघि बिही – २ का टसी नुर्बु घरको तला उक्लिँदा भर्‌याङबाट लडे । उनको देब्रेपट्टिका एकजोर करङ भाँचिए । गाउँको स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी थिएनन् । प्राथमिक उपचार पनि नपाएका उनको उपचारको जिम्मा गाउँका धामीले पाए ।

धामीले फलामे झिर तताए । अनि दुखेको ठाउँ पत्ता लगाएर छेडे । दुई इन्च गहिरो पोलेर कलिलो मासुसम्म छेड्यो । घाउ ठूलै भयो । पीडा कति भयो भने भाँचिएको ठाउँ दुखेको बिरामीले पत्तै पाएन, पोलेको ठाउँमात्र दुखेको महसुस भयो । करङ त जोडिने कुरै भएन । केही सातापछि पहिलेभन्दा दुख्नचाहिँ आफैं कम भयो । उनको पोलेको घाउ भने अझै निको भएको छैन ।

बिही – २ कै हुर्से डोल्मालाई जिउ दुख्ने रोग लाग्यो । ‘ढाड र कम्मर खुबै दुख्यो । काम गर्नै नसक्ने गरी ज्यान दुख्यो । अनि ढाडको ठाउँठाउँमा आगोले पोलेुं, नेपाली भाषा बोल्न नजान्ने हुर्सेको भनाइ उद्धृत गर्दै स्थानीय तेन्जिन लामाले सुनाए, ‘तलजस्तो यहाँ डाक्टर छैनन् । जहाँ दुख्छ, त्यहाँ पोल्छौं । यसो नगरे के गर्ने ?’

अर्की वृद्धा दोर्जे साङ्मोको पनि शरीरभरि पोलेको खत छ । टाउको दुख्ने, निद्रा नलाग्ने, आँखाबाट आँसु झरिरहने समस्या भयो । धामीले उपचार गराउन भन्दै उनको ज्यानभरि ठाउँठाउँमा पोले । अहिले ज्यानभरि पोलेको डाम बसेको उनी बताउँछिन् । ‘धामीले खास ठाम पत्ता लगाएर एकप्रकारको जडीबुटी राखेर आगो सल्काइदिने चलन छ । यसो गर्दा बेथा निको हुन्छ ।

‘पोलेको घाउ निको हुनचाहिँ एकडेढ महिना लाग्छ,’ नेपाली भाषा नजान्ने उनको भनाइ तेन्जिङले सुनाए, ‘पोल्दापोल्दै सहनै नसक्ने गरी दुख्छ । पोलेको दुखाइले रोगको दुखाइ कम गराइदिन्छ ।’  ज्यान पोल्ने आगो पनि फलाम र दर्सनढुंगा ठोकेर निकालिन्छ । ‘एकदम पोल्छ । बिरामी छट्पटिन्छ । अनि केही बेरपछि होस आएजस्तो हुन्छ । त्यतिबेला सबै रोग निस्केर गयो भन्ने विश्वास छ,’ तेन्जिङले भने ।

पोल्दा सहनै नसक्ने गरी दुख्छ । पोलेको दुखाइले रोगको दुखाइ कम गराइदिन्छ ।  ज्यान पोल्ने आगो पनि फलाम र दर्सनढुंगा ठोकेर निकालिन्छ । एकदम पोल्छ । बिरामी छट्पटिन्छ । अनि केही बेरपछि होस आएजस्तो हुन्छ । त्यतिबेला सबै रोग निस्केर गयो भन्ने विश्वास छ । पोलेको घाउ निको हुनचाहिँ एकडेढ महिना लाग्छ।

आफू सानो छँदा घाउ निको बनाउन भन्दै हातमा झिर गाडिदिँदा अहिलेसम्म हात बांगाको बांगै भएको बिही – ९ का नवीन गुरुङ बताउँछन् । ‘सात महिनाको हुँदा हातमा पिलो आयो’, कुहिनाको खोपिल्टो देखाउँदै उनले भने, ‘पिलोको खिल निकाल्ने भनी जान्नेले फलामको सुइरो तताएर गाडेछन् । यी हेर्नुस्, यताबाट गाडेर उता निकालेको प्वाल अहिलेसम्म पनि छ ।’  केही समयपछि पिलो निको भए पनि हात नसोझिएको उनले बताए । गाउँमा चेतना र आधुनिक स्वास्थ्यसेवाको पहुँच नहुँदा बिहीका मान्छे अहिलेसम्म पनि अन्धविश्वासको सिकार भइरहनुपरेको उनले बताए ।

सदरमुकामबाट ४६ कोस टाढा हिमालपारि रहेको बिही गाविसमा मात्र नभै प्रोकमा पनि यो चलन रहेको त्यहाँका पेमाडुन्डुप लामा बताउँछन् । ‘मैले पनि दुईतीन फेर पोलेको छुु, उनी भन्छन्, ‘यता त यस्तोमा एकदम विश्वास गरिन्छ । के गर्ने त, तलजस्तो मलम, पट्टी र सुई लगाउने डाक्टर छैनन् ।’

कसरी पोलिन्छ ? 

जंगलमा एक प्रकारको जडीबुटी पाइन्छ । स्थानीय तिब्बती भाषामा त्यसलाई ‘प्र’ भनिन्छ । स्थानीय बासिन्दालाई टाउको दुख्ने, ज्यान दुख्ने, हातखुट्टा मर्किने, भाँच्चिने, निद्रा नलाग्ने, खान मन नलाग्नेजस्ता विभिन्न रोग लाग्यो भने धामीले पोलेर उपचार गर्छन् ।

धामीले चकमकबाट आगो पार्छन् । त्यो आगोले प्र नामको बुटी जलाउँछन् । बुटी चुरोटको खिल्लीजत्तिको लामो हुन्छ । खास ठाउँ पत्ता लगाई धामीले जलिरहेको बुटी गाड्छन् । छाला जल्छ । कलिलो मासु पनि करिब डेढदुई इन्च गहिरोसम्म जल्छ ।

रोग भएको ठाउँसम्म आगोको जलन पुगेपछि बुटीको फेद प्वाट्ट आवाज आउँछ र उफ्रिएर जान्छ । खास ठाउँ पत्ता लागेन भने फेरि दोहोर्‌याएर पोल्नुपर्छ । एकै दिनमा दुई ठाउँमा पोल्दा बिरामीले सहन सक्दैन । त्यसैले पर्खेर फेरि भोलिपल्ट पोल्नुपर्छ । यसरी पोल्दा नरम मासुमा चक्कु हानेजस्तो गरी दुख्ने गर्छ ।

गाईबस्तुको हाड भाँचिएमा, भीरबाट ढुंगा खसेर घाइते भएमा भने हँसिया तताई रातो बनाएर गाड्ने चलन छ । यसो गर्दा मर्केको, भाँच्चिएको दुईतीन सातामा ठीक हुन्छ भन्ने अन्धविश्वास छ भने पोलेको घाउ ठीक हुन तीनचार महिनासम्म लाग्छ ।

मान्छेलाई बुढेसकाल लागेर निद्रा नलाग्ने, खान मन नलाग्ने, आँखामा आँसु आउने समस्याले सतायो भने टुप्पीमा आगो लगाउने चलन छ । टाउकाको बीचमा हाड भेट्ने गरी पोलेपछि यस्तो समस्या समाधान हुने स्थानीयको विश्वास छ ।

स्वास्थ्य सेवाको अभाव

बिहीमा स्वास्थ्यचौकी छ तर स्वास्थ्यकर्मी छैनन् । गाउँमा कहिल्यै स्वास्थ्यकर्मी नबसेको स्थानीयको गुनासो छ । अहेव तहको स्वास्थ्यकर्मी नहुँदा सामान्य उपचार सेवाबाट पनि गाउँले वञ्चित भएको स्थानीय नवीन गुरुङको भनाइ छ । ‘हाम्रो गाउँमा कहिल्यै स्वास्थ्यकर्मी बस्दैनन्,’ गुरुङ भन्छन्, ‘डाक्टर पनि छैनन् । चेतना पनि छैन । गाउँलेहरू उहिल्यैदेखि ज्यानमा आगो लगाएर सबै बेथाको उपचार गरिरहेका छन् ।’ अन्धविश्वासले गर्दा गाउँलेको ज्यान खतरामा रहेको उनले गुनासो गरे ।

भरोसा लाग्ने उपचार गर्ने मान्छे नभएपछि गाउँले परम्परागत उपचार प्रणालीकै पछि लागिरहेको बिही घर भई हाल प्रोक बस्ने पेमाडुण्डुप लामा बताउँछन् । सहरबजारको जस्तो स्वास्थ्य सेवा नपाउँदा तान्त्रिकहरूले तातो फलाम जिब्रोले चाटेर फुक्ने गरेको उनले बताए । ‘कहिले हाम्रो ज्यान पोलेर ओखती गर्छ । कहिले उसैको जिब्रो पोलेर गर्छु, उनले भने ।

विभिन्न गाउँमा विभिन्न परम्परागत उपचार पद्धति रहेको हुन्छ भन्दै जिल्ला स्वास्थ्य प्रमुख महेन्द्रध्वज अधिकारी जोखिमपूर्ण स्वास्थ्य सेवा रोक्नुपर्ने बताउँछन् ।

बिहीका लागि दुईजना स्वास्थ्यकर्मी खटाएको भन्दै उनले उनीहरू गाउँमा गएनगएबारे बुझ्ने बताए । उनका अनुसार क्यान नामको गैरसरकारी संस्थाका कर्मचारी भने त्यहाँ बसिरहन्छन् ।

  • आजको अन्नपूर्णपोष्ट दैनिकमा शिबप्रसाद उप्रेतीले लेखेको समाचार
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *