६७ प्रतिशत नेपाली किशोर किशोरी धूमपान छाड्न चाहन्छन्

no tobaccoकाठमाडौँ – धूमपानको कुलतमा फसेका ६७ प्रतिशत नेपाली किशोर किशोरीहरु सो कुलतबाट बाहिर निस्कन कोशिश गरेको एक अध्ययनले देखाएको छ ।

त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान कम्युनिटी मेडिसिन विभाग र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको साइक्याट्रिक विभागले हालै गरेको एक अनुसन्धानले त्यस्तो देखाएको हो ।

सुनसरीको धरान क्षेत्रलाई मुख्य आधार क्षेत्र बनाई गरिएको अध्ययनमा १४ देखी १९ बर्षका १ हजार ३१२ जनामा स्कुल कलेजका विद्यार्थी सहभागी थिए । ती मध्ये १३.७ प्रतिशतले धूमपान गर्ने गरेको पाइएको थियो । धूमपान गर्नेहरुलाई सोधिएको प्रश्नमा ६६.५ प्रतिशतले धूमपान छाड्न कोशिश गरेको बताएका थिए ।

प्रमुख अनुसन्धानकर्ता प्रनिलमान सिंह प्रधान भन्छन् , ‘धूमपानमा सहभागी मध्ये ८ प्रतिशतले भने छाड्न नचाहेको बताए ।’अध्ययनका क्रममा धूमपान गर्ने ६० प्रतिशतले आफूहरु धूमपानको कुलतमा लागि सकेको बताएका थिए । २० प्रतिशतले आफूहरु लतबाट निस्कने कोशिश गरेपनि सफल नभएको बताएका थिए ।

प्रधानले धूमपानको लतबाट निस्कन चाहेका युवा तथा किशोरहरुलाई राम्रोसंग काउन्सिलिङ गर्न सके कुलतमा लाग्नबाट बचाउन सकिने बताए ।

प्रधानको यो अनुसन्धान रिपोर्ट गत चैतको अन्तमा नेपाल स्वास्थ्य अनुन्धान परिषदले आयोजना गरेको स्वास्थ्य तथा जनसंख्या बैज्ञानिकहरुको दोस्रो शिखर सम्मेलनमा प्रस्तुत भएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *