एमबीबीएस र बीडीएसमा नेपालकै विद्यार्थी उत्कृष्ठ ! तर नतिजा खस्कँदो
रामप्रसाद न्यौपाने/काठमाडौँ – नेपाल मेडिकल काउन्सिलले गत १३ चैतमा लिएको चिकित्सा दर्ता प्रमाणपत्र अर्थात लाइसेन्स परीक्षामा सहभागी एमबीबीएस तर्फ १ हजार ४०१ जना मध्ये ९४३ जना (६७.३ प्रतिशत) मात्रै पास भए ।
त्यस्तै सोही दिन सञ्चालित बीडीएसको लाइसेन्स परीक्षामा सहभागी ११६ जना मध्ये ८८ जना (७५.९ प्रतिशत) उत्तीर्ण भए । तर ती उत्र्तीण हुनेहरु मध्ये कुन कुन देशमा पढेका विद्यार्थी थिए भन्ने धेरैलाई जानकारी नहुनसक्छ ।
नेपाल मेडिकल काउन्सिलका अनुसार सो परीक्षामा नेपाल सहित विश्वका १२ वटा देशका ९० वटा कलेजबाट एमबीबीएस उत्तीर्ण गरेर आएका विद्यार्थी सहभागी थिए ।
त्यस्तै नेपाल सहित चारवटा देशका २६ वटा कलेजमा बीडीएस अध्ययन गरी उत्तीर्ण विद्यार्थीहरु सहभागी थिए ।
एमबीबीएस र बीडीएसमा सबैभन्दा बढी विद्यार्थी नेपालका
काउन्सिलका अनुसार यसपटकको लाइसेन्स परीक्षामा एमबीबीएस तर्फ सबैभन्दा बढी नेपालबाट उत्तीर्ण भएका विद्यार्थी सहभागी थिए ।
१५ वटा मेडिकल कलेज पढेका एक हजार ३७ जना विद्यार्थी सहभागी भएकोमा ७८४ जना (७५.६ प्रतिशत) पास भएका थिए । बीडीएस तर्फ पनि नेपालकै विद्यार्थी सबैभन्दा बढी सहभागी थिए ।
नेपालका चार वटा कलेजका ६६ जना विद्यार्थी सहभागी भएकोमा ६५ जना(९८.५ प्रतिशत) पास भएका छन् ।
सबैभन्दा बढी कलेज : एमबीबीएसमा बंगलादेश बीडीएसमा भारत
गत १३ चैतको एमबीबीएस तर्फको लाइसेन्स परीक्षामा सहभागी विद्यार्थीहरु अध्ययन गर्ने ९० वटा कलेजको गणना गर्दा सबैभन्दा बढी कलेज बंगलादेशको रहेको पाइएको छ ।
बंगलादेशका २७ वटा कलेजमा अध्ययन गरेका १९३ जना विद्यार्थीहरु सो परीक्षामा सहभागी थिए । जसमध्ये १०० जना अर्थात ५१.८ प्रतिशत विद्यार्थीले मात्रै परीक्षा उत्तीर्ण गरेका थिए ।
दोस्रोमा चीन रहेको छ । जहाँ २२ वटा कलेजबाट उत्तीर्ण गरेका १३३ जना नेपाली विद्यार्थी सहभागी थिए । जसमध्ये ४३ जना अर्थात ३२.३ प्रतिशत मात्रै उत्तीर्ण भएका थिए ।
बीडीएसमा कलेज धेरै भारत, नतिजा राम्रो नेपाल
बीडीएसको परीक्षामा भारतका १७ वटा कलेजबाट अध्ययन सकेका २५ जना नेपाली विद्यार्थी सहभागी थिए । तर नतिजा आउदा जम्मा ८ जना ( ३२ प्रतिशत) विद्यार्थी पास भए ।
नेपालका ४ वटा कलेजबाट अध्ययन सकेका ६६ जना नेपाली विद्यार्थीले परीक्षामा सहभागी जनाएका थिए । जसमध्ये ६५ जना (९८.५ प्रतिशत) विद्यार्थी सफल भएका थिए ।
२५ प्रतिशत फेल हुनु चिन्ताको विषय काउन्सिल प्रवक्ता डा. अधिकारी
नेपालमै एमबीबीएस उत्तीर्ण गरी लाइसेन्स परीक्षामा सहभागी भएका नेपाली विद्यार्थीहरुमध्ये करीब २५ प्रतिशत विद्यार्थी लाइसेन्स परीक्षामा पास हुन सकेनन् ।
पाँच बर्ष अघि भर्ना भई भर्खरै अध्ययन पुरा गरी परीक्षामा सहभागी भएका विद्यार्थी यतिधेरै संख्यामा अनुत्तीर्ण हुनु चिन्ताको विषय भएको नेपाल मेडिकल काउन्सिलका प्रवक्ता डा. कृष्ण अधिकारी बताउछन् ।
उनी भन्छन्, ‘नेपालको नतिजा यस्तो हुँदैनथ्यो तर भयो । यो आजका अवस्था पनि होइन। पाँच बर्ष अघि नै छानिएका विद्यार्थी हुन् । त्यसैले चिकित्सा शिक्षालाई गम्भीर भएर सोच्नु जरुरी छ ।’ उनले यो नतिजाले मेरिटलिष्टको महत्वलाई झनै बढाएको बताए ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सबै उत्तीर्ण
यसपटकको परीक्षामा नेपालका १५ वटा मेडिकल कलेजबाट एमबीबीएस र ४ वटा डेन्टल कलेजबाट बीडीएस उत्तीर्ण विद्यार्थीहरु सहभागी भएका थिए ।
जसमध्ये धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थी मात्रै एमबीबीएस र बीडीएसमा सतप्रतिशत उत्तीर्ण हुने ठहरिए । बाँकी सबै कलेजका विद्यार्थीहरु सतप्रतिशत उत्तीर्ण भएका छैनन् ।
सम्पर्क इमेल : [email protected]