उमेर अनुसार व्यवहार छैन ? अटिजम छ कि ?

atijam1

काठमाडौं-  बच्चाले उमेर अनुसारको गतिविधि गरेको छैन ? असामान्य व्यवहार देखाउँछर ? ख्याल गर्नुहोला बच्चालाई अटिजम भएको हुनसक्छ। समयमै पहिचान गर्न सके त्यस्ता बालबालिकाको उचित व्यवस्थान गर्न सकिन्छ।

अटिजम मस्तिष्कको बनावटमै हुने असन्तुलनको कारणले देखिने जन्मजात समस्या हो । यो कुनै रोग हैन। जन्मेको १८ महिनादेखि दुई वर्षभित्रमा आमा वा अविभावकसँग कुनै पनि पनि सञ्चार गर्न सकेनन् भने अटिजम भएको हुनसक्ने चिकित्सक बताउँछन्।

यस्ता बालबालिकालाई बाल विकास तथा बालरोग बिशेषज्ञ तथा मानसिक रोग विशेषज्ञ चिकित्सककहाँ परीक्षण गरेर रोगको पहिचान गर्न सकिने अटिजम केयर नेपाल सोसाइटीकी संयोजक डा सुनिता मलेकु अमात्यको सुझाव छ।

मलेकुका अनुसार १८ महिना पुगेपछि पनि बालबालिकाले आफ्ना अभिभावकसँग कुनै पनि हाउभाउ देखाएनन्, या ठूलो उमेर भएपछि पनि सञ्चार गर्न सकेनन् भने अटिजम भएको हुनसक्ने उनले बताइन्।

‘सानै उमेरमा आफ्ना अभिभावकसँग पुलुक्क हेर्ने, मुसुक्क हाँस्ने गर्छन्, जुन अटिजम भएका बच्चाले गर्न सक्तैनन्,’ उनले भनिन्।

अटिजम भएका बालबालिकाले उमेर पुग्दै गएपछि पनि आफ्ना उमेरको साथीसरह गतिविधि गर्न नसक्ने, गतिविधि गरे पनि के एउटै गतिविधि धेरै गर्ने वा अत्यन्तै कम गर्ने जस्ता समस्या देखिन्छन्। ‘अटिजम भएका बालबालिकामा भाषाको बिकास हुँदैन,’ उनले भनिन्।

अटिजम केयर नेपाल सोसाइटीका राजकाजी प्रजापतिका अनुसार अटिजम हाइपर भएमा बालबालिकामा प्रकाश, गन्ध, स्वाद, बासनामा बढी संवेदनशील हुने वा अत्यन्त कम हुने दुई प्रकारका हुन्छन्। ‘ठूलो सामान उठाउँछन्, सानो सामान उठाउन सक्तैनन्,’ उनले भने।

नेपालमा अटिजम भएका सबैको पहिचान नहुँदा अभिभावक र बालबालिका दुवै पीडित हुनु परेको अटिजम केयर नेपालका प्रजापतिले बताए। ‘समस्याको पहिचान नहुँदा अहिले पनि उनीहरु खोरमा थुनिएको अवस्था छ,’ उनले भने। पहिचान गरी परिवारले उनीहरुको व्यवस्थापन तालिम लिएपछि यस्ता बालबालिकाको उचित व्यवस्थापन गर्न सकिने प्रजापतिको सुझाव छ।

अकुपेसनल, संगीत, आर्टस् थेरापीजस्ता क्रियाकलापबाट उनीहरुको क्षमता अभिवृद्धि गर्न सकिने प्रजापति बताउँछन्।

अटिजम केयर नेपाल सोसाइटीले अटिजम भएका बालबालिकाको पहिचान तथा परिवार र बालबालिका दुवैलाई तालिम तथा थेरापी दिने गर्छ। कतिपय आवश्यक यस्ता बालबालिकालाई आवास सहित स्कुल जाने व्यवस्था गर्दै आएको छ।

नेपालमा करिब ५ सय जना बालबालिका परिवार सम्पर्कमा आइसकेका छन्। विश्वभरि एक प्रतिशत बालबालिकामा अटिम समस्या भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। हरेक अप्रिल २ लाई विश्वभर ‘वर्ल्ड अटिजम डे’ का रुपमा मनाइन्छ।

  • आजको नागरिक दैनिकमा पवित्रा सुनारको समाचार

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *