कसरी जोगिने सर्पदंशबाट ?

- नेपाली हेल्थ
Sanjib Kumar Sharma
प्राडा सञ्जीवकुमार शर्मा

संसारभर ३४ सयभन्दा बढी सर्पका प्रजाति छन् । नेपालमा ८९ प्रजातिका सर्प पाइन्छ । तीमध्ये १७ प्रजातिका सर्प विषालु मानिन्छन् । यिनीहरूको बसोवास हिमाली क्षेत्रदेखि प्यासिफिक समुद्रका कोरल (मुगा) तटीय क्षेत्रहरूसम्म रहेको पाइन्छ ।

केही सर्पले जीवनकाल पानीमा बिताउँछन् भने कुनै सर्प जमिनमुनि अन्य प्राणीले खनेका वा बनाएका प्वालमा बस्छन् । केही सर्प रुखमाथि बस्छन् ।

धेरैजसो सर्पले फूल पारेर प्रजनन् गर्दछन्, तर केही प्रजाति भने पूर्ण विकसित बच्चा जन्माएर प्रजनन् गर्दछन् । सर्पका केही निश्चित प्रजातिहरू जस्तै अजिंगर वा राज गोमनले तिनीहरूले पारेको अन्डालाई पहरा दिई सुरक्षा प्रदान गर्दछन् ।

सबै सर्पले अन्य प्राणीलाई आहार बनाई निल्दछन् । सर्पका धेरै प्रजाति आफ्नो शरीरभन्दा पनि ठूला वा गह्रौँ आहार सजिलै निल्न सक्षम हुन्छन् ।snake bite

कुन–कुन सर्प खतरनाक हुन्छन् ?

सर्पका धेरैजसो प्रजाति मानिसलाई हानि नगर्ने खालका नै हुन्छन् । थुप्रै सर्पका प्रजातिमा बिल्कुलै विष हुँदैन । तिनले या त आहारलाई आफ्नो शरीरले बेरेर श्वासावरोध गरेर मार्दछन् वा आहारलाई जमिनमा थिचेर मार्दछन् या जिउँदै निलिदिन्छन् ।

सर्पका धेरै प्रजातिले मुखमा भएका विशेष खाले ग्रन्थिबाट रस निकाल्दछन्, जसले आहारलाई लठ्याउने, मार्ने र पाचन गर्नमा मद्दत पुर्‍याउँदछ । साथै, यस्तो रसले हानिकारक किटाणुविरुद्ध पनि काम गर्दछ ।

यसरी आफ्नो प्राकृतिक आहारलाई अशक्त बनाइदिने वा मारिदिने मुखका ग्रन्थिबाट निस्कने रसलाई वैज्ञानिक भाषामा विष र ग्रन्थिलाई विष–ग्रन्थि भनिन्छ ।

मुखको माथिल्लो बंगाराका अघिल्तिरका ठूला दुईवटा दाँतलाई विषदन्त भनिन्छ । एउटा विषवाहिनी नलीले प्रत्येक विषदन्तलाई टाउकोको दायाँ–बायाँ आँखाको पछाडि रहेका विष–ग्रन्थिलाई जोडेको हुन्छ ।

सर्पको दाँत निडिलजस्तो हुन्छ । मानिसको शरीरमा दाँत गाडेपछि विष फैलिन्छ । मानिसको शरीरमा लसिकातन्त्र हुन्छ । त्यसबाट विष रगतमा पुग्दछ । रगतको माध्यमबाट शरीरभरि फैलिन्छ ।

विषालु सर्प कसरी चिन्ने ?

सर्पसम्बन्धी ज्ञान नभएकाहरूलाई कुन सर्प विषालु हो र कुन होइन भनी पहिचान गर्न गाह्रो हुन्छ । बाहिरबाट झ्वाट्ट हेर्दा सबै सर्प उस्तै देखिए तापनि हरेक सर्पको शरीरको निश्चित विशेषता हुन्छ । जसले गर्दा कुन प्रजातिको सर्प विषालु र कुन चाहिँ विष नभएको छुट्याउन सकिन्छ ।

 हाम्रोमा मुखको अघिल्लो भागमा १७ वटा विषदन्त भएका प्रजातिहरूलाई अति विषालु सर्प भएको पत्ता लागेको छ ।
विषालु सर्पका प्रकार

इलापिडी परिवार :
गोमन, राजगोमन, करेत र मुगा सर्पहरू इलापिडी परिवारमा पर्दछन् । यस समूहका सर्पमा मुखको अघिल्तिर माथिल्लो बंगारोमा अचल रहने दुईवटा छोटा विषदन्त हुन्छन् । यी दाँत छोटा भए पनि प्रत्येक दाँतको बाहिरी सतहमा गहिरो डुँड हुन्छ । यस डुँडले विषलाई आहारको वा शत्रुको शरीरमा पुर्‍याउन प्रभावकारी भूमिका खेल्दछ । यिनीहरूको डसाइबाट देख्न सकिने डसाइको चिह्न वा रगताम्मे घाउ बनेको हुँदैन् ।र यिनले कति विष पसाएको छ भनी पूर्वानुमान पनि गर्न सकिन्न ।

बाघे सर्प, हर्‍यौ सर्प (भाइपेरिडी परिवार) :

बाघे सर्प, गुरुबे सर्प र सबै ताप–संवेदनशील खाल्डो भएका हर्‍यौ सर्पहरूको समूहमा मुखको अघिल्तिर माथिको बंगाराको छेउमा दुईवटा एकदमै लामा विषदन्त हुन्छन् ।

यी दाँत खुम्चिन सक्ने भएकाले प्रयोग नभएका वेला पछाडि तलपट्टि दोब्रिएर बस्छन् । सर्पले मुख खोलेर डस्न लाग्दा यी दाँत सोझो हुन्छन् । यी दाँत औषधि दिने सुइजस्तै खोक्रो परेका हुन्छन् र सुइको जस्तै काम गर्दछन् । यी सर्पको विष गोमन, राजगोमन, करेत र मुगा सर्पभन्दा धेरै फरक हुन्छ ।

गोमन र करेतको डसाइ :
करेतको डसाइ सामान्यतया राति सुतेका वेला हुन्छ र डसाइ भएको थाहै नपाउन सकिन्छ । यसको लक्षण बिहान पेट दुख्ने, आँखा उघार्न गाह्रो पर्ने हुन्छ, अतस् यस्तो भयो भने छिट्टै उपचार गरिहाल्नुपर्छ । गोमनले दिउँसो कामको दौरान वा साँझ–बिहान डस्ने गर्छ ।

प्राथमिक उपचार :
सर्पले डसेका वेला जो मान्छे नजिकमा हुन्छ उसले वा जसलाई डसेको हो उसले आफैँ पनि प्राथमिक उपचार गर्न सक्छ । बिरामीलाई सान्त्वना दिनुपर्छ, किनभने धेरको डरले पनि मृत्यु हुन्छ ।

डसेको हात वा खुट्टालाई हलचल हुन नदिनु एउटा प्रभावकारी उपाय हो । डसेको व्यक्तिलाई आरामसँग ढल्काएर सुताएर राख्नुपर्छ ।  काम्रो लगाएर भए पनि डसेको हातखुट्टा हल्लिन दिनु हुँदैन । पीडितलाई तुरुन्त नजिकको सर्पदंश उपचार केन्द्रमा पुर्‍याउनुपर्छ ।

स्वास्थ्य केन्द्रमा गरिने उपचार :
सर्पदंशको पीडितमा विषाक्तताको लक्षण देखिएको छैन भने २४ घन्टा अवलोकन गर्ने । विषाक्तताको लक्षण देखापरेको छ भने प्रतिविष र अन्य थप उपचारबाट बिरामीको ज्यान बचाउन सकिन्छ ।
श्वासप्रश्वास प्रणालीमा पक्षघात भएका सर्पदंशका पीडितलाई जतिसक्दो छिटो कृत्रिम विधिबाट श्वास दिन उचित हुन्छ । पीडितको शरीरमा अक्सिजनको मात्रा ठीक सतहमा पुगेपछि मात्र उसलाई सन्चो हुने सम्भावना हुन्छ । एउटा सेलाइन चढाउने
विषको असर छरछैन जाँच्ने ।
डसेको ठाउँभन्दा अन्यत्र स्नायुघात र रक्तश्राव भएको छरछैन हेर्ने (नेपालमा बिरामीको शरीरमा विषको मात्रा नाप्ने प्रविधि हालसम्म छैन)
रक्तचाप अत्यन्त घट्ने, श्वास–प्रश्वास बन्द हुने, अकस्मात अवस्था खस्कने र विषको प्रभाव बढ्दै जानेजस्ता लक्षण देखिएमा तत्काल ज्यान बचाउने उपायको खोजी गर्नुपर्छ ।

प्रतिविषको सुइ लगाउनुपर्ने अवस्था :
स्नायुघात (आँखा उघार्न नसक्नु, मुख खोल्न नसक्नु र अरू माथि उल्लेख गरिएका लक्षण) हुनु, शरीरका विभिन्न भागबाट स्वतस्फूर्त रक्तश्राव हुनु

सर्पदंशबाट बच्ने उपाय :
– घर तथा खेल मैदानवरिपरि सफा राखौँ, झाडी, ढुंगा, हिलो र पातको थुप्रो नराखौँ
– खुट्टा ढाक्ने गरी लामो लुगा र बुट वा जुत्ता लगाऔँ
– राति अँध्यारोमा हिँड्दा टर्च वा बत्ती बालेर मात्र हिँड्ने गरौँ
– ढुंगाको थुप्रो अथवा काठमा सर्प लुकेर बसेको हुन सक्छ, त्यसैले त्यस्ता ठाउँमा काम गर्दा सतर्क बनौँ, केटाकेटीलाई सर्प हुन सक्ने इलाकामा जानबाट रोक्ने
-आफ्ना क्षेत्रमा भएका विष नभएको सर्पका बारेमा जानकारी राखौँ, भुइँमा सुत्न छाडौँ
– झुल टाँगेर मात्र सुत्ने गरौँ
– पालभित्र सुत्ने हो भने राम्ररी ढोका बन्द गरेर मात्र सुतौँ

 #ग्लोबल स्नेक बाइट इनिसिएटिभ (बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान)का सल्लाहकार प्राडा शर्मासंग देवेन्द्र कार्कीले गरेको कुराकानी

थप समाचार


Facebook Comment