हात्तीपाईले रोग विरुद्धको आम औषधि सेवन कार्यक्रम आजबाट

hattipaile

काठमाडौँ – आम औषधि सेवन कार्यक्रम अन्तर्गत सरकारले आजदेखी तीन दिनसम्म हात्तीपाईले ( फाइलेरिया) रोग विरुद्धको औषधि खुवाउदैछ । देशका ३६ जिल्लाका दुई बर्ष माथिका करीब १ करोड ३० लाख जनतालाई व्यक्तिलाई डीइसी ( डाइथाइल कार्बामाजिन) चक्की र अबलेन्डाजोल चक्की खुवाउन लागेको हो । यद्धपी ३६ मध्ये उदयपुर र मोरङमा भने यो अभियान गतसाता नै सम्पन्न भईसकेको छ ।

क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने यो रोगबाट ३५ लाख नेपालीहरु प्रभावित भएको बताइन्छ । लामखुट्टेबाट उचेरेरिया ब्राकोस्टी, बु्रजिया मालायी र बु्रजिया टिमोरी जस्ता जिवाणु मानिसको रगतमा फैलिएपछि यो रोग लाग्ने गर्छ ।

नेपालमा ६१ जिल्लामा यो रोगको जोखिम देखिएपनि आम सन २००३ देखी सुरु गरेको आम औषधि सेवन कार्यक्रमबाट २५ जिल्ला जोखिम मुक्त भइसकेका छन् । त्यसैले यसपटक ३६ जिल्लामा मात्रै औषधि खुवाउन लागिएको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बाबुराम मरासिनीले बताए । अभियान सञ्चालनका लागि १३ हजार ७८ स्वास्थ्यकर्मी तथा ६५ हजार ६७८ स्वास्थ्य स्वयम्सेविका परिचालन गरिएको छ ।

विश्वस्वास्थ्य संगठन (डव्लुएचओ)ले विश्वका ८३ देशमा १२ करोड भन्दा बढी व्यक्तिहरु यो रोगबाट प्रभावित भएको र एक अर्व भन्दा बढी मानिसलाई लाग्न सक्ने सम्भावना रहेको बताएको छ ।

हात, खुट्टा मोटो हुने , महिलाहरुको स्तन, पुरुषहरुको अण्डकोषसमा यसको बढी असर देखिने गरेको छ । जाडो लागि ज्वरो आउनु, शरीरमा कम्पन हुनु, गीर्खा आउनु, पुरुषको अण्डकोको वरपरका नसा फुल्नु, अण्डकोष ठूलो हुनु, महिलाको स्तन तथा यौनाङग सुन्निनु दुख्नु यसको लक्षण हो ।

हात्तीपाइले रोगको औषधि दुई वर्ष नपुगेका बालबालिका, गर्भवती तथा सात दिनसम्मका सुत्करी, छारे रोगी, सिकिस्त बिरामीले खान नहुने बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *